ओलीको पत्र स्थायी कमिटीलाई- ‘दाहालको आरोपपत्रमा छलफल गर्न सकिन्न, त्यसकारण म आइनँ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आइतबार बसेको स्थायी कमिटी बैठकमा उपस्थित भएनन्। ओलीविनै बसेको बैठकमा सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव र पत्रहरू स्थायी कमिटी सदस्यहरूलाई बाँडिएको छ।
यी दस्तावेज अध्ययनका लागि सदस्यहरूलाई ७ दिनको समय दिइएको छ। स्थायी कमिटी बैठक २८ मंसीर दिउँसो १ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
आइतबार बैठकमा उपस्थित नभएका अध्यक्ष ओलीले आफू अनुपस्थित हुनुको कारणसहित स्थायी कमिटीलाई पत्र लेखेका छन्। जुन पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकको शुरूमै पढेर सुनाएका थिए।
ओलीले दाहालले सचिवालयमा पेश गरेको ‘आरोपपत्र’माथि औपचारिक छलफल गर्न नसकिने भन्दै आफू बैठकमा उपस्थित नहुने बताएका छन्। दाहालले प्रस्तावका नाममा आफूविरुद्ध अभियोगपत्र ल्याएको ओलीले बताएका छन्।
‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ। एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु’ ओलीले पत्रमा लेखेका छन्, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो सङ्गीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरूलाई अनुरोध गर्दछु।’
ओलीले परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा आफ्नो सक्रिय सहभागिता सधैंभरि रहँदै आएको छ र भविष्यमा पनि रहने बताएका छन्। उनले पार्टीलाई एकीकरणको भावनाविपरीत विभाजनतर्फ लैजान खोजिएको समेत बताएका छन्।
‘मलाई थाहा थिएन–खेलको उत्तरार्धमा आएर केही कमरेडहरू, ‘खेलको नियम’ नै बदल्न लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुनेछ’, ओलीले पत्रमा लेखेका छन्, ‘खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।’
अध्यक्ष ओलीले गएको २६ भदौको स्थायी कमिटी बैठकले पार्टीलाई संकटबाट सकुशल अवतरण गराएकाे स्मरण गर्दै यो बैठकले पनि सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिन अपेक्षा गरेका छन्।
यस्तो छ स्थायी कमिटीलाई ओलीले लेखेको पत्र: