नेकपा स्थायी कमिटी बैठक २८ मंसीरसम्मका लागि स्थगित, केन्द्रीय कमिटी बैठक पनि सर्यो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २८ मंसीरसम्मका लागि स्थगित भएको छ। बैठक अब २८ मंसीर दिउँसो १ बजे धुम्बाराहीमा बस्नेछ।
आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले पार्टीभित्रको समस्या समाधान बारेको कार्यसूची पारित गरेको छ।
बैठकमा स्थायी कमिटी सदस्यहरूलाई सचिवालयमा पेश भएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव र पत्र वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनका अनुसार यी दस्तावेज अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई ७ दिनको समय दिँदै २८ मंसीरसम्मका लागि बैठक स्थगित गरिएको हो।
प्रधानमन्त्री एवं अध्यक्ष ओली अनुपस्थित भएको बैठक कार्यकारी अध्यक्ष दाहालको अध्यक्षतामा बसेको हो। बैठकको शुरूआतमै सविचालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्रीको पत्र पढेर सुनाएका थिए। पत्रमा ओलीले अध्यक्ष दाहालले पेश गरेको प्रस्ताव औपचारिक रूपमा कमिटीमा गर्न नसकिने भन्दै आफू बैठकमा नआउने बताएका थिए।
त्यसपछि बैठक शुरू गर्दै अध्यक्ष दाहालले अहिलेको विशिष्ट, गम्भीर, संकटपूर्ण पार्टी जीवनको परिस्थितिमा पार्टी एकतालाई केन्द्रमा राखेर संकटलाई सकारात्मक ढंगले समाधान गर्ने गरी छलफल अघि बढाउनुपर्ने बताए। उनले छलफललाई गम्भीर र व्यापक रूपमा अगाडि बढाउन समेत सदस्यहरू अपील गरे।
यसबीचमा पार्टीभित्रको संकट समाधानका लागि आन्तरिक र अनौपचारिक छलफल तथा गृहकार्य हुने नेकपा प्रवक्ता श्रेष्ठले बताए।
यसैबीच, २५ संसीरका लागि तय भएको केन्द्रीय कमिटीको बैठक पनि सरेको छ। बैठक अब ५ पुसमा बस्ने श्रेष्ठले बताए। शुरूमा कात्तिकमा तय भएको केन्द्रीय कमिटी बैठक १५ मंसीरका लागि सारिएको थियो। पार्टीभित्र विवाद बढेपछि १५ मंसीरबाट पनि २५ मंसीरसम्म सारिएको थियो।