रामचन्द्र पौडेलको गिरफ्तारीपछि देउवाले भने- ‘सरकारको सशक्त प्रतिरोध गर्छौं’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
बुधबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा धरपकड भएपछि देउवाले विज्ञप्ति जारी गर्दै देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।
उनले पौडेललाई रिहा नगरे उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न पनि सरकारलाई चेतावनी दिएका छन्।
‘सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु’, देउवाले भनेका छन्।
उनले यसलाई वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको घटना भनेका छन्। सरकारको अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन कांग्रेस एकढिक्का भएर शसक्त प्रतिरोध गर्ने पनि देउवाको चेतावनी छ।
तनहुँको व्यास नगरपालिकाका–१ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा पुल निर्माण सम्पन्न भएको उल्लेख गरेका छन्।
स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रूपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् पुल उद्घाटन गर्न जाँदै गर्दा नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक रहेको देउवाको भनाइ छ।