कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा, दुम्सीचौर क्षेत्रमा निषेधाज्ञा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। नेता पौडेलले प्रहरीले आफू र कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई प्रहरी हिरासतमा लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।
पुल उद्घाटन कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका पौडेललाई नेकपानिकट युवाहरूले अवरोध गरेका थिए। अवरोधपछि स्थिति तनावपूर्ण बनेको थियो।
‘भर्खर प्रहरी परिचालन गरि मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठी चार्ज र दमन तत्काल बन्द होस्।’
पौडेल व्यास नगरपालिका–१ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोलाको मोटरेवल पुल उद्घाटन गर्न जाने क्रममा नेकपाका युवाहरूले अवरोध गरेका थिए। नगरपालिकाले बनाएको पुल उद्घाटन नेता पौडेलबाट नगराउन भन्दै नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए।
दुवै पक्षबीच तनावको स्थिति आएपछि तनहुँ प्रशासनले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि दुम्सीचौर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले पुल उद्घाटन कार्यक्रम स्थगित गर्न पूर्वाधार कार्यायलाई पत्र समेत लेखेको छ।
पौडेललगायत कांग्रेस नेता/कार्यकर्ताले निषेधाज्ञा तोडेपछि स्थिति तनावपूर्ण बनेको तनहुँ प्रशासनले जनाएको छ। अहिले पनि पुल क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने पौडेललाई नियन्त्रणमा लिएको नभई सुरक्षा दिइएको बताए।
“दुवै पक्षबीच कुनै अप्रिय घटना नहोस् र उहाँलाई (पौडेललाई) केही समस्या नहोस् भनेर सुरक्षाका लागि प्रहरी कार्यालयमा लिएर राखिएको हो। यसलाई नियन्त्रणमा लिएको भन्न मिल्दैन”, बरालले हिमालखबरसँग भने।
सर्वदलीय, सर्वपक्षीय छलफलमार्फत् समस्या समाधानको पहल भइरहेको तनहुँका सहायक सीडीओ बरालले बताए।