कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, सरकार परीक्षण घटाउँदै
परीक्षण नै कम गरेर मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दै गएको तथ्यांक सार्वजनिक गरिए पनि ठीक विपरित सिकिस्त बिरामीको संख्या र मृत्युदर बढेको छ। संक्रमणका नयाँ हटस्पट थपिँदै छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको शनिबारसम्म कोरोनाभाइरस संक्रमणबाट एक हजार ४५४ जनाको मृत्यु भइसकेको छ। एक महिनाअघि १३ कात्तिकसम्ममा ९०४ जनाको मृत्यु भएको थियो। उक्त दिन मात्रै १७ जना संक्रमितले ज्यान गुमाएका थिए।
शनिबारसम्ममा एक महीनामा थप ५५० संक्रमितको मृत्यु भइसकेको छ। शनिबार सार्वजनिक तथ्याङ्कमा पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको उल्लेख छ। (हे.इन्फो)
कोरोनाका कारण नेपालमा पहिलो पटक गएको ३ जेठमा एक जनाको मृत्यु भएको थियो। मृत्यु हुने सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षिया सुत्केरी महिला थिइन्। १३ असारसम्ममा जम्मा २८ जनाको मृत्यु भएको थियो।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले गएको भदौदेखि मृतकको संख्या बढ्न थालेको देखाउँछ। १३ भदौसम्ममा कोरोनाका कारण २०७ जनाको मृत्यु भएको थियो। १३ भदौको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १२ संक्रमितको मृत्यु भएको थियो।
भदौदेखि दैनिक कम्तिमा १० जनाको संक्रमितको ज्यान जान थालेको थियो। १३ असोजसम्ममा कोरोनाबाट ४९१ जनाको मृत्यु भएको थियो। तर, त्यसको अर्को एक महीनामा नै ४१३ जना मृतक थपिँदा १३ कात्तिकमा मृत्यु हुनेको संख्या ९०४ पुग्यो।
कोरोनाका सिकिस्त बिरामी र मृत्यु हुनेहरुको संख्या बढिरहेका वेला स्वास्थ्य मन्त्रालयले भने परीक्षण घटाउँदै गइरहेको छ। १३ मंसिर (शनिबार) को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर नौ हजार ३६८ जनाको परीक्षण भयो। यीमध्ये एक हजार ३८० जना संक्रमित भएको पत्ता लाग्यो। कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट देशभरका ७७ वटा ल्याबले पीसीआर मेसिनमार्फत परीक्षण गर्ने अनुमती पाएका छन्।
स्वास्थ्य मन्त्रालयको १३ कात्तिकको तथ्यांक अनुसार मुलुकमा नौ हजार ७६९ जनाको कोरोना परीक्षण हुँदा दुई हजार ३६४ जना संक्रमित भेटिएका थिए। १३ असोजमा १० हजार ८९१ जनाको परीक्षण हुँदा एक हजार ५१३ जना संक्रमित पत्ता लागेका थिए। त्यस्तै १३ भदौमा ११ हजार ५१३ जनाको परीक्षण हुँदा ८८४ जनाको नतिजा पोजिटिभ आएको थियो। (हे.इन्फो)
यो तथ्यांक अनुसार १३ भदौमा कोरोनाका संक्रमणदर ७.६ प्रतिशत थियो। तर, १३ मंसिरमा संक्रमण दर झण्डै दोब्बरले बढी अर्थात १४.७३ प्रतिशत छ। यसले मुलुकमा कोरोना संक्रमण दर बढिरहे पनि परीक्षण बढ्न नसकेको देखिन्छ। विज्ञहरुले भने कोरोना संक्रमण दर बढी देखिएमा परीक्षण झनै बढाउनु पर्ने बताइरहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार १४ मंंसिर (आइतबार) सम्ममा आईसीयूमा उपचाररत गम्भीर बिरामीको संख्या ३६१ छ। यस्तै, ५३ जनाको भेन्टिलेटरमार्फत उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयकै दुई महीनाअघिको तथ्यांकअनुसार १४ असोजसम्ममा आईसीयूमा उपचाररत संक्रमितको संख्या २०१ थियो। भेन्टीलेटरमार्फत ३० संक्रमितको उपचार भइरहेको थियो। यसरी दुई महीनामा आईसीयू र भेन्टीलेटरमा उपचाररत गम्भीर बिरामीको संख्या झण्डै दोब्बरले बढेको छ।
कोरोना संक्रमणको जोखिम देशब्यापीमा रुपमा कतै पनि घटेको देखिदैन। बरु कोरोनाका नयाँ ‘हटस्पट’हरु थपिदैँ गएका छन्।
पोखराः नयाँ हटस्पट बन्ने जोखिम
केही समयअघि वीरगंञ्ज कोरोना संक्रमणको ‘हटस्पट’ थियो। त्यस वेला वीरगञ्जमा कोरोना संक्रमणदर, मृत्यु हुनेको संख्या र सिकिस्त बिरामी धेरै थिए। वीरगञ्जको लहरो अहिले काठमाडौंसम्म फैलिएको छ। बिरामीको चापलाई अस्पतालको क्षमताले थेग्न नसकेपछि २२ असोजमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले स्वाँस फेर्न गाह्रो भएर बेहोस होला जस्तो भएमा मात्र अस्पताल जान भनेका थिए।
अब कोरोना संक्रमणको हटस्पट काठमाडौंपछि पोखरा बन्ने जोखिममा छ। स्वास्थ्य मन्त्रालयको आइतबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कास्कीमा ८३ संक्रमित भेटिएका छन्। अघिल्लो दिन शनिबार ११८ संक्रमित भेटिएका थिए। १० मंसिरको तथ्यांक अनुुसार पछिल्लो २४ घण्टामा ९० संक्रमित भेटिएका थिए।
गएको १८ असोजमा कास्कीमा जम्मा चार जना संक्रमित थिए। यो तथ्यांकले कास्कीमा त्यस यता संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको देखाउँछ। त्यही कारण बिरामीको व्यवस्थापनमा चुनौती थपिएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे बताउँछन्। दशैँ र तिहार जस्ता चाडमा काठमाडौंबाट बाक्लो आवतजावत हुँदा संक्रमण बढेको उनको भनाइ छ।
यस्तो छ जोखिमको परिवर्तित स्वरुप
संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी कोरोनाका सिकिस्त बिरामी र मृत्यु हुनेको संख्या बढिरहेको अवस्थामा परीक्षण दर घटाएर संक्रमितको संख्याका आधारमा जोखिम कम मान्न नसकिने बताउँछन्। “यदी सरकारले परीक्षण बढाएर संक्रमण दर घट्यो भने बल्ल जोखिम कम भएको भन्न सकिन्छ”, डा. अधिकारी भन्छन्, “तर, अहिले परीक्षण नै अति न्यून संख्यामा भइरहेको छ।”
परीक्षण घटाउँदा कारोनाका कारण मृत्यु भए पनि पहिचान हुन नसक्ने र यसले झनै जोखिम निम्त्याउने बताउँछन्। डा. अधिकारी सरकारले अझै पनि छिटो र कम लागतमा गरिने डाइरेक्ट पीसीआर विधिमार्फत परीक्षण शुरु नगर्नुलाई लापरबाही मान्छन्।
अहिले कोरोनाको डर कम हुँदै गइरहेका कारण मानसिक समस्या पहिलेको तुलनामा कम देखिएको चिकित्सकहरुको भनाइ छ। ‘होम आइसोलेसन’मा रहेका संक्रमितलाई टेलीमेडिसिनमार्फत सेवा दिदैँ आइरहेका डा. अधिकारीका अनुसार पहिले टेलीमेडिसिन सेवामध्ये करिब ७० प्रतिशत संक्रमितलाई ‘एन्जाइटी’ थियो। उनीहरु डराउने, निद्रा नलाग्ने, मर्छु की जस्तो हुने भाव आउने जस्ता समस्याबाट पीडित थिए।
टेलीमेडिसिनमार्फत सेवा दिइएका ६२ जनामध्ये १२ प्रतिशतमा हात्महत्या गर्ने सोच आएको पाएको डा. अधिकारी बताउँछन्। अहिले एन्जाइटीको समस्या कम छ। तर, अहिले युवाहरुबाट घरमा बसीरहेका वृद्धवृद्धामा संक्रमण सरिरहेको छ। त्यहीकारण सिकिस्त बिरामीको संख्या पनि बढ्न थालेको देखिएको छ।
अहिले भेन्टीलेटर, आईसीयू जस्ता अक्सिजनसहितको उपचार सुविधाको माग पनि बढेको छ। कोरोना संक्रमित भएपछि परीक्षण नगरेका कारण समयमा थाहा नहुँदै फोक्सोमा अक्सिजनको स्तर एकदमै न्यून भएपछि अस्पताल भर्ना हुने र कतिपयको अस्पताल नपुग्दै ज्यान जाने समस्या पनि देखिन थालेको छ।
टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोगका अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला पछिल्ला दिनहरुमा अधिकांश संक्रमित घरमै रहेकाले उनीहरुको वास्तविक अवस्था थाहा पाउन नसक्दा जोखिम बढेको बताउँछन्। “शुरुमा अस्पताल नआउने तर, सिकिस्त भएपछि मात्र आउने प्रवृत्ति बढेको छ”, उनी भन्छन्, “दशैँपछि वृद्धवृद्धामा संक्रमण बढेको पाइएको छ।” उनका अनुसार घरमै बसेका संक्रमितको एकीकृत तथ्यांक नभएको कारण उनीहरुको जोखिमस्तर थाहा पाउन सकिएको छैन।
कोरोनाभाइरस चिसो मौसममा बढ्न सक्ने भएकाले जाडोमा सिकिस्त बिरामीको संख्या झनै बढ्न सक्ने डा. बास्तोला बताउँछन्। “मानिसहरुले अपनाउने होसियारी र सरकारको रणनीतिले आगामी दिनमा जोखिमको स्तर कहाँ पुग्छ भन्ने निर्धारण गर्नेछ,” उनी भन्छन्।