दशैंमा काठमाडौं छोडेर गएकाहरू पुगेका यी ठाउँमा छ कोरोना संक्रमणको अति उच्च जोखिम
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसपालि दशैं मान्न काठमाडौं उपत्यकाबाट करीब दुई लाख यात्रु विभिन्न जिल्ला पुगे। अघिल्ला वर्षहरूमा दशैं मान्न काठमाडौं उपत्यका छाड्नेहरुको संख्या झण्डै २० लाखसम्म हुन्थ्यो। तर, यस वर्ष कोरोना संक्रमणका कारण उपत्यका छोड्नेहरूको संख्या घटेको देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत कोरोना संक्रमणका कारण जो जहाँ छन्, त्यहीँ दशै मनाउन आग्रह गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशवासीका नाममा सम्बोधनमार्फत् यस्तो आग्रह गरेका थिए। काठमाडौंमा कोरोना संक्रमण उच्च भएकाले यहाँबाट गाउँसम्म पुग्दा त्यहाँ रहेका वृद्धवृद्धालाई संक्रमण भएर गम्भीर बनाउन सक्ने भएकाले जनस्वास्थ्य विज्ञहरुले पनि दशैंमा घर नजान आग्रह गर्दै आइरहेका थिए। तर पनि दशैँ मान्नका लागि करीब दुई लाख मानिस काठमाडौंबाट बाहिरिए।
काठमाडौं उपत्यका छोडेकाहरूमध्ये कम्तिमा एक लाख मानिसको आवतजावतमाथि गरिएको एक दूरसञ्चारको तथ्यांक विश्लेषणले दशैंपछि गाउँ कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखाएको छ।
कोभिड–१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाली टेलिकम र एनसेलसँगको सहकार्यमा दशैं शुरू हुनुभन्दा दुई हप्ताअघिसम्म काठमाडौं उपत्यका छोडेर विभिन्न जिल्लामा गएका कम्तिमा एक लाख मानिसको आवतजावतका बारेमा तथ्यांक विश्लेषण गरेको थियो।
सीसीएमसीले बुधबार सार्वजनिक गरेको तथ्यांक विश्लेषणबाट दशैंका लागि काठमाडौं छोडेर जानेहरूको संख्या सबैभन्दा बढी काभ्रेको धुलिखेल र नमोबुद्ध, मकवानपुरको थाहा र मनहरी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची र सुनकोशी, बाराको परवानीपुर, चितवनको भरतपुर, कास्कीको लेखनाथ लगायतका ठाउँमा छ।
यसअघि वीरगञ्ज कोरोना संक्रमणको 'हटस्पट' बनिरहेका बेला त्यहाँबाट काठमाडौं उपत्यका भित्रिएका व्यक्तिहरूको आधारमा सीसीएमसीले तथ्यांक विश्लेषण गरेर उपत्यकालाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको थियो। उक्त तथ्यांक विश्लेषण अनुसार नै काठमाडौं अहिले कोरोना संक्रमणको 'हटस्पट' बन्न पुगेको छ।
यी ठाउँहरुमा काठमाडौं छोडेर जानेहरुको संख्या अन्य ठाउँको तुलनामा धेरै भएकाले कोरोना संक्रमणको ‘अति उच्च जोखिम’मा रहेको सीसीएमसीले जनाएको छ।
काठमाडौं छाडेर जानेहरूले प्रयोग गरिरहेको मोबाइलबाट उनीहरू लामो समयसम्म रहेको स्थान 'ट्रेस' गरेर कोरोना संक्रमणको जोखिम अनुमान गरिएको हो।
यस्तै, आवतजावतका आधारमा सीसीएमसीले नुवाकोटको लिखु, बेल्कोटगढी, धादिङको थाक्रे, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको लीसंखु, सिन्धुलीको कमलामाई, धनुषाको जनकपुर, उदयपुरको त्रियुगा, सुनसरीको बर्जुलाई पनि कोरोना संक्रमणको ‘उच्च जोखिम’मा राखेको छ।
यसबाहेक सीसीएमसीले मुलुकका अन्य ठाउँहरूलाई मानिसहरुको आवतजावतका आधारमा कोरोना संक्रमणको 'मध्यम, न्यून र अति न्यून जोखिम'मा रहेको भनेर वर्गिकरण गरेको छ।
कोरोना संक्रमणको अति उच्च र उच्च जोखिममा रहेका ठाउँहरूमा व्यक्तिदेखि परिवार, समुदाय र स्थानीय सरकारले विशेष ध्यान दिन आवश्यक भएको सीसीएमसीको भनाइ छ।
त्यस्ता ठाउँमा कोरोना संक्रमित पहिचान गर्न 'कन्ट्याक्ट ट्रेसिङ'सँगै परिक्षण बढाइनुपर्ने र जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर जोखिम कम गर्न सकिने उनीहरूको भनाइ छ।
यसअघि वीरगञ्ज कोरोना संक्रमणको 'हटस्पट' बनिरहेका बेला त्यहाँबाट काठमाडौं उपत्यका भित्रिएका व्यक्तिहरूको आधारमा सीसीएमसीले तथ्यांक विश्लेषण गरेर उपत्यकालाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको थियो। उक्त तथ्यांक विश्लेषण अनुसार नै काठमाडौं अहिले कोरोना संक्रमणको 'हटस्पट' बन्न पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १३ कात्तिकसम्मको तथ्यांक अनुसार मुलुकमा १ लाख ६४ हजार ७१८ व्यक्ति कोरोना संक्रमित भइसकेका छन्। यीमध्ये ३८ हजार ९५२ जना संक्रिय संक्रमित छन् भने ९०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।
स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः १६५२१, २४७० र १०७५ जना कोरोनाका संक्रिय संक्रमित रहेको देखाएको छ।