‘बाघ तस्कर’ कुन्जोकका वकीलद्वारा ‘रुघा लागेको’ भन्दै तेस्रो पटक सुनुवाइ स्थगित, यस्तो छ सुनुवाइ छल्ने शृंखला
अनेक बहाना गरेर नियमित सुनुवाइ छल्दै आएका कुञ्जोकले बन्दीप्रत्यक्षीकरण रिटको सहारा लिएर थुनामुक्त हुन खोज्ने प्रयास गर्न पनि छाडेका छैनन्।
वन्यजन्तुका अंगको अवैध ओसारपोसार र बेचबिखन गरेको अभियोग लागेका कुन्जोक छिरिङ लामा (तामाङ)का वकीलले उच्च अदालत पाटनमा बिहीबारलाई तोकिएको पेशी पनि स्थगित गरेका छन्।
यसअघि दुई पटकसम्म पेशी स्थगित गरेका तामाङका कानून व्यवसायीले बिहीबार आफूलाई रुघाखोकी लागेको कारण देखाएर पेशी स्थगित गरेका हुन्।
२०६२ सालमा रसुवामा भएको ‘सिजर्स’ मा पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ केजी हड्डीसहित पाँच जनालाई नेपाली सेनाले पक्राउ गरी लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएको थियो। त्यसरी पक्राउ परेका व्यक्तिले मुख्य योजनाकारको रूपमा तामाङको नाम लिएका थिए । तत्कालीन समयमा फरार रहेका तामाङलाई प्रहरीले गत असारमा पक्राउ गरेको थियो।
त्यसपछि रसुवा जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कुन्जोक दोषी हुन सक्ने देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसविरुद्ध तामाङले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
बिहीबार त्यही निवेदनमाथिको सुनुवाइ तोकिएको थियो। तर, कुन्जोकका कानून व्यवसायी उज्ज्वल रायमाझीले आफूलाई रुघाखोकी लागेको कारण देखाउँदै सुनुवाइ स्थगित गरे। न्यायाधीशहरू बबिता उप्रेती र विपुल न्यौपानेको इजलासमा पेशी तोकिएकोमा कानून व्यवसायी रायमाझीले आफू चिकित्सकको सल्लाहबमोजिम घरमै आराम गर्नुपर्ने भएको कारण देखाउँदै निवेदन दिएपछि आजको सुनुवाइ स्थगित गरेको उच्च अदालत पाटनले जनाएको छ।
तामाङका कानून व्यवसायी रायमाझीले बिरामी भएको कारण देखाउँदै उनको सुनुवाइ स्थगित गरेको यो पहिलो पटक भने होइन। गत २९ साउनमा तोकिएको पेशी पनि रायमाझीले ‘रुघाखोकी र ज्वरो आई बिरामी परेको’ भन्दै स्थगित गराएका थिए। न्यायाधीशहरु श्रीकान्त पौडेल र मिना गौतम सेडाईको इजलासमा तोकिएको पेशी त्यसबेला स्थगित भएको थियो।
त्यसअघि २२ साउनमा मुख्य न्यायाधीश नहकुल सुवेदी र जगतबहादुर थापाको इजलामा तोकिएको पेशी पनि तामाङका कानून व्यवसायीले स्वास्थ्यकै कारण देखाउँदै स्थगित गरााएका थिए। अधिवक्ता नन्दप्रसाद अधिकारीले ‘आफू बिरामी परेको साथै अन्य कारणले काबू बाहिरको परिस्थिति उत्पन्न भएकाले’ अदालतमा उपस्थित हुन नसक्ने भन्दै स्थगित गर्न निवेदन दिएका थिए।
यसरी विभिन्न मितिमा पाटन उच्च अदालतको सुनुवाइ तीन पटक स्थगित गराएका तामाङले दुई पटक भने मुद्दाको सुनुवाइ गरेका छन्। ३० असारमा सुनुवाइ गर्दै न्यायाधीश राजनप्रसाद भट्टराईले तामाङलाई थुनामा पठाउने आदेश गर्दा रसुवा जिल्ला अदालतले आधार लिएका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि पेश गर्न आदेश दिएका थिए।
त्यस्तै गत १५ असोजमा पनि उच्च अदालतका न्यायाधीशहरु रामप्रसाद ओली र रेखा पाण्डेको इजलासले रसुवा जिल्ला अदालतबाट सक्कल मिसिल झिकाउन आदेश दिएका थिए। उक्त आदेश बमोजिम सक्कल मिसिल आइसकेपछि सुनुवाइका लागि बिहिबार पेश भएकोमा तामाङकै वकीलहरुले मुद्दाको सुनुवाइ स्थगित गरेका हुन् ।
उच्च अदालत नियमावलीको नियम ८६ (२) मा ‘मुद्दा पेश भएको दिनको इजलास बस्नुभन्दा पहिले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कुनै कारण देखाई मुद्दाको पक्ष वा कानून व्यवसायीले निवेदन दिएमा अवस्था अनुसार सम्बन्धित इजलासले मुद्दाको एक पक्षको लागि बढीमा दुई पटकसम्म मुद्दाको सुनुवाइ स्थगित गर्न सक्ने’ व्यवस्था छ।
साथै सोही नियमको उपनियम ३ मा ‘प्राथमिकताप्राप्त मुद्दा, सजाय निर्धारणसम्बन्धी सुनुवाइको लागि पेश भएका मुद्दा, एक पक्षको एकभन्दा बढी कानून व्यवसायी रहेको मुद्दा, हेर्दाहेर्दैको मुद्दा, दुई पटक स्थगित भइसकेको मुद्दा र प्रचलित कानून बमोजिम मुद्दा फैसला गर्नु पर्ने समयावधि नाघेका मुद्दाको सुनुवाइ भने स्थगित हुन नसक्ने’ व्यवस्था छ। यद्यपि, तामाङका दुई जना छुट्टाछुट्टै कानून व्यवसायीले तीन पटकसम्म मुद्दाको सुनुवाइ स्थगित गराइसकेका छन्।
यसअघि २९ असोजमा तामाङले आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै उच्च अदालतमा नै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराउने प्रयास गरेका थिए। मुद्दाको सुनुवाइको पालो आउँदा स्थगित गर्ने तर बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत् थुनामुक्त हुन माग गर्ने उनको निवेदनलाई उच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको थियो।
रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले विवादित विषयमा न्याय निरुपण हुँदा सुनुवाइ भइहाल्ने साथै जिल्ला अदालतको आदेशउपर तामाङले दिएको निवेदन उच्च अदालतमा निवेदन विचाराधिन रहेकाले दर्ता गर्न नमिल्ने आदेश गरेका थिए। दरपिठ आदेशमा भनिएको छ- ‘अधिकारप्राप्त निकायको कानून बमोजिमको कार्यलाई प्रभावित पार्ने गरी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न मिलेन।’
यसरी उच्च अदालतले निवेदन दर्ता गर्न अस्वीकार गरेपछि तामाङका वकीलहरुले २ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतले ३ कात्तिकमा कारागार कार्यालय रसुवा, जिल्ला अदालत रसुवा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई तामाङलाई थुनामा राख्नुको कारण सोधेका थिए।
त्यसपछि १७ कात्तिकमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मी तथा १८ कात्तिकमा विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेशी तामाङका कानून व्यवसायी डिलहरी शर्माले आफू अदालतमा उपस्थित हुन असमर्थ रहेको भन्दै स्थगित गराएका थिए। २४ कात्तिकमा न्यायाधीशद्य भट्टराई र रेग्मीको इजलासले तामाङको रिट खारेज गरेको थियो । उक्त आदेशको पूर्णपाठ भने आइसकेको थियो।
जिल्ला, उच्च र सर्वोच्च गरी तीन वटै तहका अदालतमा तामाङले २०६२ को घटनामा मुछिएको कुन्जोक लामा भन्ने व्यक्ति आफू नभएको दाबी गरेका छन्। प्रहरी र सरकारी वकीलले उक्त घटनामा नाम जोडिएका कुन्जोक लामा र अहिले थुनामा रहेको कुन्जोक छिरिङ तामाङ एकै व्यक्ति भएको दाबी गरेका छन्।
कुन्जोक छिरिङ तामाङको कारागार यात्रा (टाइमलाइन)
- १६ भदौ २०६२ः रसुवाको स्याफ्रुमा नेपाली सेनाद्वारा पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जना पक्राउ। कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ फरार।
- ११ असार २०७७ः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा काठमाडौं–६ सिमलटारबाट तामाङ पक्राउ।
- १४ असार २०७७ः रसुवा जिल्ला अदालतद्वारा ‘तत्काल प्राप्त प्रमाणबाट निर्दोष मान्न नसकिने’ भन्दै तामाङलाई थुनामा राख्ने आदेश।
- २८ असारः आफू कन्जोक लामा नभएर कुन्जोक छिरिङ तामाङ भन्ने फरक व्यक्ति भएको भन्दै तामाङद्वारा थुनामुक्त गर्न मागसहित उच्च अदालत पाटनमा निवेदन।
- ३० असारः पाटन उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईद्वारा तामाङलाई थुनामा पठाउँदा रसुवा जिल्ला अदालतले आधार लिएका कागजात मगाउने आदेश।
- २२ साउनः मुख्यन्यायाधीश नहकुल सुवेदी र जगतबहादुर थापाको इजलामा तोकिएको पेशी तामाङका कानून व्यवसायी नन्दप्रसाद अधिकारीद्वारा बिरामी परेको कारण देखाउँदै स्थगित।
- २९ साउनः न्यायाधीशहरू श्रीकान्त पौडेल र मिना गौतम सेडाईंको इजलासमा तोकिएको पेशी तामाङका कानून व्यवसायी उज्ज्वल राइमाझीद्वारा ‘रुघाखोकी र ज्वरो आई बिरामी परेको’ भन्दै स्थगित।
- १६ असोजः न्यायाधीशहरू रामप्रसाद ओली र रेखा पाण्डेको इजलासद्वारा रसुवा जिल्ला अदालतबाट सक्कल मिसिल झिकाउन आदेश।
- २९ असोजः उच्च अदालत पाटनद्वारा तामाङको बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्न अस्वीकार।
- २ कात्तिकः तामाङका कानून व्यवसायीद्वारा सर्वोच्च अदालतमा तामाङलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता।
- ३ कात्तिकः सर्वोच्च अदालतका न्यायाधीश प्रमाशमानसिंह राउतद्वारा तामाङलाई थुनामा राख्नुको कारणबारे सरकारलाई जवाफ माग।
- १७ कात्तिकः न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा तोकिएको पेशी तामाङका कानून व्यवसायी डिलहरी शर्माद्वारा स्थगित।
- १८ कात्तिकः न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेशी तामाङका कानून व्यवसायी डिलहरी शर्माद्वारा स्थगित।
- २४ कात्तिकः न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासद्वारा तामाङको निवेदन खारेज गर्ने आदेश।
- ११ मंसिरः उच्च अदालत पाटनमा न्यायाधीशहरू बबिता उप्रेती र विपुल न्यौपानेको इजलासमा तोकिएको पेशी तामाङका कानून व्यवसायी उज्ज्वल रायमाझीद्वारा आफूलाई रुघाखोकी लागेको कारण देखाउँदै स्थगित।