अपांगता भएका छोरी बलात्कारबाट जोगाउनै मुश्किल, अभिभावकले नै लगाइदिन्छन् गर्भ निरोधक सुइ र साधन
बहुअपांगता तथा बौद्धिक अपांगता भएका बालिका र महिलामाथि बलात्कार तथा यौनजन्य हिंसा हुने डरले सम्भावित गर्भ रोक्न अभिभावकले नै गर्भ निरोधक साधन प्रयोग गरिदिने गरेका छन्।
घटना १
बहुअपांगता भएकी नुवाकोटकी २३ वर्षीया युवती २०७२ चैतमा बलात्कृत भइन्। छिमेकी ‘दाइ’ बाटै उनीमाथि घरमा बलात्कार भएको थियो। बहिरा तथा शारीरिक रुपमा अपांग रहेकी उनी त्यो घटनापछि गर्भवती भइन्।
काठमाडौं ल्याएर एक अस्पतालमा गर्भपतन गरिएपछि उनलाई केही महीना नेपाल अपांग महिला संघको सुरक्षित आवास गृहमा राखियो। घर लैजान भनेर आएका उनका बुवाले एक अस्पतालमा लगेर गर्भ रोक्ने अस्थायी साधन नरप्लान्ट राख्दिएको संघकी तत्कालीन अध्यक्ष निर्मला धितालले बताइन्। “यसबारे थाहा पाएपछि हामीले अस्पताल गएर कुरा गर्याैं, अस्पताल र महिलाका बुवाले एक–अर्कालाई देखाएर पन्छिए”, उनले भनिन्।
ती युवती अहिले नुवाकोटस्थित आफ्नै घरमा छिन्।
घटना २
दोलखाको तामाकोशी गाउँपालिकाकी २३ वर्षीया बहिरा महिलाले गत कात्तिकमा दोस्रो पटक बच्चा जन्माइन्। अविवाहित ती महिलाका दुवै बच्चा बलात्कारबाट गर्भ बसेर जन्मिएको परिवारको भनाइ छ। परिवारका अनुसार, जन्मजात नै बोल्न नसक्ने र कान कम सुन्ने उनी दिसापिसाब ओछ्यानमै गर्छिन्।
पछिल्लो पटक जन्मिएको बच्चा परिवारले घर नलगेपछि चरिकोटस्थित एक संरक्षण गृहले राखेको छ। दुई वर्ष अघि जन्मिएको शिशु भने जन्मिने बित्तिकै मरेको उनको परिवारले जनाएको छ।
कसबाट बलात्कार भएको भन्ने थाहा नभएकाले प्रहरीमा मौखिक जानकारी दिए पनि जाहेरी दिन नसकिएको महिलाका बुवाले बताए। फेरि बच्चा बस्ला भनेर गर्भ निरोध गर्ने अस्पताल लगेर सुई लगाइदिएको उनले बताए। छोरी जोगाउनै नसकेपछि बाध्य भएर गर्भ निरोधको सहारा लिएको उनको भनाइ छ। “उसलाई घरमा छोडेर आफूहरू काममा हिंड्नुपर्छ, कहिले बाहिर निस्किन्छे, घरमै पनि मान्छे आउँछन् भनेर यो उपाय अपनाउनुपरेको हो”, उनले भने।
अहिले भने छोरीलाई सकेसम्म एक्लै नछोड्ने गरेको उनले बताए।
घटना ३
काठमाडौंकै एक बोल्न नसक्ने आमाले बौद्धिक अपांगता भएकी २२ वर्षीया छोरीलाई गर्भ निरोधक तीन महीने सुई लगाइदिने गरेकी छिन्।
कमजोर आर्थिक अवस्था भएका उनको चार जनाको परिवारमा तीन जना अपांग छन्। २०७२ सालको भूकम्पमा परेर श्रीमान् पनि अपांग भए।
नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहाल थुप्रै अभिभावकले अपांगता भएका छोरी यौन हिंसामा पर्ने जोखिमका कारण गर्भ रोक्ने उपायका रुपमा गर्भ निरोधका अस्थायी साधन लगाइदिने गरेको बताउँछिन्।
ती महिलाले दुई वर्ष अघि कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘समकोण’ कार्यक्रममा इशाराले कुरा गर्दै छोरी बाहिर हिंडिराख्ने भएकाले गर्भ निरोधको सुई लगाइदिने गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, “छोरी कहिलेकाहीं राति पनि हराउँथी। बाहिर निस्किने र हराउने गरेपछि चिनेजानेकाहरुको सल्लाहमा सुई लगाइदिन थाल्यौं।”
माथिका घटना केही उदाहरण मात्र हुन्। थुप्रै अभिभावकले अपांगता भएका छोरीको गर्भ रोक्ने उपायका रुपमा गर्भ निरोधका अस्थायी साधन लगाइदिने गरेको नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहाल बताउँछिन्। “यस्तो गर्ने अभिभावक बढ्दै गए पनि धेरै घटना बाहिर आउँदैनन्। पढेका र बुझेका भन्ने अभिभावकहरुले त झन् आफैंले गर्भ निरोधक चक्कीहरु खुवाइदिने गरेको पाइएको छ”, उनी भन्छिन्।
आफ्नो शरीरमा कसले के गरिरहेको छ भन्ने थाहा नपाउने वा थाहा पाए पनि बताउन नसक्ने खालको अपांगता भएका बालिका र महिलाहरु बलात्कार तथा यौन हिंसाको जोखिममा पर्ने संभावना झन् बढी हुन्छ। परिवारकै सदस्य वा नजिकका आफन्तबाट पनि यौनजन्य हिंसा भइरहेको हुने तर त्यो झनै बाहिर नआउने दाहाल बताउँछिन्। यो स्थितिमा छोरीलाई यौन हिंसाबाट जोगाउन कठिनाइ भोगेका अभिभावकहरूले गर्भ रोक्ने औषधि तथा सुईको प्रयोग गर्नु हिंसामाथि अर्को हिंसा भएको उनको भनाइ छ।
बौद्धिक अपांगताका भएका छोराछोरीका अभिभावकहरुको संस्था बौद्धिक अपांगता आमा समाज ललितपुरकी सचिव सिर्जना केसी पनि बौद्धिक अपांगता भएका छोरीहरुलाई अभिभावकहरुले गर्भ निरोधक साधन प्रयोग गरिदिने गरेको बताउँछिन्। केसी भन्छिन्, “बौद्धिक अपांगता, अटिजम, मनोसामाजिक समस्या भएका छोरीहरुलाई परिवार तथा नातेदारबाटै यौन हिंसा तथा बलात्कार हुने गरेका घटना धेरै छन्, त्यस्तो घटना हुने डरले गर्भ निरोधक साधन प्रयोग गर्ने प्रवृत्ति छ।”
महीनावारी रोक्न पनि औषधि प्रयोग
आफ्नो हेरचाह आफैं गर्न नसक्ने किसिमको अपांगता भएकाहरुको स्याहारमा अभिभावकहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ। यसका साथै बौद्धिक अपांगता भएका तथा अटिजम, डाउन सिन्ड्रोम भएका किशोरी तथा महिलाहरुको महीनावारी व्यवस्थापन पनि जटिल अवस्था हो। कतिपय अभिभावकले महीनावारी रोक्न वा समय सार्न औषधि खुवाइदिने गरेका छन्।
“छोरीको महीनावारी हुन थालेको एक वर्ष भयो। घरबाट टाढा जानुपर्दा महीनावारीको सरसफाइ गर्ने र प्याड फेर्ने समस्याका कारण बाध्यताले औषधि खुवाइदिने गरेकी छु।”
एक बौद्धिक अपांगता भएकी किशोरीकी आमाले आफू घरबाट टाढा जानुपर्दा छोरीलाई महीनावारी हुने समय भए पछाडि सार्ने औषधि खुवाइदिने गरेको सुनाइन्। उनी भन्छिन्, “छोरीको महीनावारी हुन थालेको एक वर्ष भयो। घरबाट टाढा जानुपर्दा महीनावारीको सरसफाइ गर्ने र प्याड फेर्ने समस्याका कारण बाध्यताले औषधि खुवाइदिने गरेकी छु।”
छोरी अपांग भएकै कारण एक निजी संस्थामा उनी दिउँसो ४ घण्टाको पार्टटाइम काम गर्छिन्। बिहानको खाना खुवाएर छोरीलाई दिसापिसाबको लागि डाइपर लगाइदिएपछि कोठामा नजिकै केही खानेकुरा तथा खेल्ने सामग्री राखिदिएर बाहिरबाट ताल्चा लगाएर कार्यालय जानु उनको दैनिकी हो।
यो समस्या यस्ता छोराछोरी भएका अभिभावकको साझा समस्या भएको भन्दै उनी सरकारले विशेष स्कूल तथा डे केयर सेन्टरको व्यवस्था गरे परिवार र अपांगता भएका सबैलाई राम्रो हुने धारणा राख्छिन्।
‘हिंसामाथि अर्को हिंसा’
बौद्धिक अपांगता, बहुअपांगता तथा मानसिक समस्या भएका बालिका र महिलाहरुलाई गर्भनिरोधक औषधि प्रयोग गर्नुलाई अभिभावकहरूले यौनजन्य हिंसाबाट जोगाउन भोग्नुपरेको कठिनाइको उपज भएको बताउने गरेका छन्। तर, अधिकारकर्मी तथा अपांगताकै क्षेत्रमा काम गर्नेहरूलाई यसलाई गलत मान्छन्।
नेपाल अपांग महिला संघकी अध्यक्ष दाहाल अपांगता भएका बालिका र महिलालाई गर्भ निरोधक औषधि प्रयोग गर्नु थप हिंसा भएको बताउँछिन्। उनी भन्छिन्, “एक त उनीहरू हिंसाबाट पीडित हुन्छन्, अर्कोतिर आफ्नै परिवारले समेत जथाभावी औषधिको प्रयोग गरिदिनु थप हिंसा हो।”
खुलेर सबैले नबताए पनि बलात्कार तथा यौनजन्य हिंसा हुने तथा गर्भवती हुने डरले अभिभावकले गर्भ निरोधक औषधि प्रयोग गर्ने क्रम बढेको दाहालको भनाइ छ। “अपांगता भएकै आधारमा सन्तानलाई हेरविचार गर्नुपर्ने दायित्वबाट परिवार पन्छिने गरेको देखिन्छ, अर्कातिर राज्यले समेत वास्ता नगर्दा अपांगता भएका महिलाहरुको मानवअधिकार गम्भीर रुपले हनन भइरहेको छ”, उनी भन्छिन्।
२०६८ सालको जनगणना अनुसार कूल जनसंख्याको १.९४ प्रतिशत (५ लाख १३ हजार ९९३ जना) मा कुनै एक वा बढी प्रकारको अपाङ्गता छ। अपाङ्गता भएका व्यक्तिमध्ये ३६.३२ प्रतिशतमा शारीरिक अपाङ्गता, १८.४६ प्रतिशतमा दृष्टिसम्बन्धी अपाङ्गता, १५.४५ प्रतिशतमा सुनाइ सम्बन्धी अपाङ्गता, ११.४७ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपाङ्गता छ। यस्तै, ६.०४ प्रतिशतमा मानसिक अपाङ्गता, २.९० प्रतिशतमा बौद्धिक अपाङ्गता, १.४८ प्रतिशतमा श्रवण तथा दृष्टिविहीनता छ भने ७.५२ प्रतिशत बहुअपाङ्गता भएका व्यक्तिहरु छन्। तीमध्ये झण्डै आधा महिला छन्।