अपांग महिलामाथि पटक–पटक बलात्कार, दुई पटक बच्चा जन्मेपछि गर्भ निरोधक सुई लगाइयो
बोल्न पनि नसक्ने दोलखाकी एक अपांग महिलाले दुई पटक बच्चा जन्माएपछि उनी वर्षौंदेखि बलात्कृत हुँदै आएको रहस्य खुलेको छ। तर, न उनलाई बलात्कार गर्नेको पहिचान भएको छ न यो घटना प्रहरीसम्मै पुगेको छ।
दोलखाकी अपांगता भएकी एक महिला पटक पटक बलात्कृत भएको घटना उजागर भएको छ। आफ्नै शरीरको हेरचाह गर्न नसक्ने ती महिलाले पटक पटक बलात्कारको शिकार बन्ने क्रममा दुई पटक बच्चासमेत जन्माएकी छन्।
पछिल्लो पटक यही दशैंका बेला (कात्तिक पहिलो साता) उनले बच्चालाई जन्म दिएकी हुन्। त्यो बच्चा अहिले दोलखास्थित एक गैरसरकारी संस्थाको संरक्षणमा राखिएको छ। दोलखाको तामाकोशी गाउँपालिकाकी २३ वर्षिया महिलाका बुबाले दुई वर्षअघि पनि उनले बच्चा जन्माएको र त्यसबेला बच्चा जन्मिने बित्तिकै मृत्यु भएको हिमालखबरलाई जानकारी दिए।
परिवारले दिएको जानकारी अनुसार उनी जन्मँदै बोल्न नसक्ने थिइन्। कान पनि कम सुन्थिन्। शारीरिक अवस्था र मनस्थिति कतिसम्म कमजोर थियो भने ओछ्यानमै दिसापिसाव गर्दा पनि थाहा पाउँदिनथिन्। उनका बुबाले भने, “दिसापिसाब लाग्दा कहिलेकाहीँ बाहिर पनि जान्छे, तर उसको भर हुन्न। कहिलेकाहीँ केही काम पनि गर्छे, तर केही भर गर्न सकिन्न। दिसापिसाब पनि जता पायो त्यतै गरेको देख्दा दिमागमै केही असर परेको छ कि भन्ने लाग्छ।”
छोरीको पेट बढेको देखेपछि उनले गएको असोज महीनाको शुरुमै उनलाई जिल्ला सदरमुकाम चरिकोटस्थित गैरसरकारी संस्था, आवाज नेपालमा पुर्याएका थिए। यो संस्थाले चरिकोटमा समस्यामा परेका महिला र बालबालिकाका निम्ति सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ। करिब डेढ महीना त्यहाँ बसेपछि उनले बच्चालाई जन्म दिएकी थिइन्। बच्चा जन्मेपछि आवास गृहले त्यहीँ राखिदियो, उनलाई भने बुबाले गाउँ लिएर गए। गैरसरकारी संस्था आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीले ती महिला बोल्न नसक्ने र कान पनि नसुन्ने गरेको उल्लेख गर्दै यसबाहेक केही मानसिक समस्या पनि भएको हुन सक्ने बताइन्। “हिँडिरहने, जे मन लाग्यो त्यही गर्ने, इशाराले सोध्दा पनि नबोल्ने बानी थियो। अहिले बच्चा यहीँ छ, उनलाई बुबाले लगेका छन्। तर, फेरि पनि बलात्कारमा पर्ने खतरा छ”, कार्कीले भनिन्।
ती युवतीका बुबाले आफ्नो छोरी धेरै पटक बलात्कृत भएको हुन सक्ने तर त्यसबारे केही थाहा पाउन नसकेको बताए। “हामीले त गर्भ आएपछि थाहा पायौं, उसले केही भन्न सक्दिनँ। न बोल्न सक्छे, न होस नै ठेगानमा छ”, उनले भने, “शंका गरौं, कोमाथि गरौं ? गाउँमा बाहिरका कोही आउँदैनन्, धेरैजसो नातागोताके हुन्छन्। उसलाई ठिक पार्न काठमाडौं उपचार गर्न लैजाऔं भने खर्च छैन। दुई पटक बच्चा बसेको थाहा पाउँदा यो घटना पटक पटक हुन्थ्यो होला भन्ने लाग्छ।”
तामाकोशी गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का (केसी)ले पनि केही समयअघि सदरमुकाममा बसेका बेला यी महिलालाई भेटेकी थिइन्। उनले घटना निकै गम्भीर रहेको र दोषी पत्ता लगाउन समेत गाह्रो भएको उल्लेख गर्दै भनिन्, “डीएसपी साबसँग पनि मैले सल्लाह गरेको छु, अब एकचोटी परिवारलाई बोलाएर छलफल गर्छु। उनलाई कसरी सुरक्षित राख्ने र दोषीलाई कसरी पत्ता लगाउने भन्ने जिम्मेवारी हाम्रो पनि भएकाले त्यसका लागि पूरा पहल गर्छौं।” उपाध्यक्ष खड्काले बलात्कारमा परेकी उनी जस्तै महिलालाई राख्न सुरक्षित आवास गृह बनाउनेबारे सांसदहरुसँग समेत छलफल भएको तर यो कामले प्राथमिकता नपाउँदा उनीजस्ता पीडितलाई संरक्षण दिन गाह्रो भइरहेको बताइन्।
बलात्कृत महिलाका बुबा भन्छन्
मेरो छोरी जन्मँदै बोल्न नसक्ने र कान कम सुन्ने हो। पछि दिमागमा पनि केही असर परेको हो कि जस्तो व्यवहार देखाउँछे। केही कुरा पनि ऊमाथि भर गर्न सकिन्न। दिसापिसाब गर्न मन लागे बाहिर जाने, नलागे ओछ्यानमै गरिदिने बानी छ।
खेतीकिसानी नगरे गुजारा चल्दैन, हामी धेरैजसो खेतीपातीको काममै जानुपर्छ। सँधै घरमा बस्न पाइन्न। कुन बेला, को आएर त्यो पाप गर्छ, अहिलेसम्म कसैलाई शंका गरेर किटानी जाहेरी दिन सकेको छैन। छोरीलाई लिएर चरिकोट जाँदा जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी भने गराएको छु।
शंका पनि कोमाथि गर्नु ? टोलमा आफ्नै थरका दाजुभाई र नातागोता धेरै छन्। शहरमा जस्तो बाहिरका मान्छे आउने ठाउँ पनि होइन हाम्रो गाउँ। तर, दुई वर्ष अगाडि पनि गर्भ बसेछ। त्यसपछि छोरीलाई काठमाडौं लगेर बच्चा जन्मियो, तर अस्पतालमा जन्मिए लगत्तै बच्चा मर्यो। फेरि पनि गत भदौतिर गर्भ रहेको थाहा भयो। शंका लागेर नजिकै स्वास्थ्य चौकीमा जाँच गर्दा गर्भ बसेको निश्चित भयो। त्यसपछि यहाँ राख्नुभन्दा सदरमुकाम लैजानु ठिक हुन्छ भने सबैले। संस्थालाई पनि भन्दिएछन् र डेढ महीना जति संस्थाले राख्दियो। त्यहीँ बच्चा जन्माएको हो तर बच्चा कसरी घरमा ल्याउनु भनेर त्यहीँ संस्थामै राख्दिन भन्यौं। अनि छोरीलाई मात्रै लिएर म घर घर फर्केँ। छोरी अहिले घरमै छे।
कति चोटी त्यस्तो नराम्रो (बलात्कार) भयो होला भन्ने थाहा छैन। हामीले त गर्भ आएपछि थाहा पायौं। उसले केही भन्न सक्दिन। न बोल्न सक्छे, न होस नै ठेगानमा हुन्छ। क्तिपयले काठमाडौं उपचार गर्न लैजानुपर्छ पनि भन्छन्। तर, ठूलो खर्च चाहिएला, कसरी लैजानु ? आर्थिक अवस्थाले गर्दा उपचार आँट्न सकेको छैन।
दुई पटक नै बच्चा बसेको थाहा पाउँदा यो घटना पटकपटक हुन्थ्यो होला भन्ने लाग्छ। गाउँघरमा टाढाको त को आउला भन्ने पनि लाग्छ, फेरि नजिकको पनि कसलाई शंका गर्नु र ? छोरीले केही इशारा गर्दिए हुन्थ्यो तर गर्दिन। छोरी जोगाउनै गाह्रो भयो।
हामी बुढाबुढी र अरु दुई छोराछोरी काममा हिँड्नुपर्छ। यो छोरीलाई घरमै छाडेर काममा जान्छौं। फेरि पनि त्यस्तै होला कि भन्ने डर लाग्छ। अचेल काममा जाँदा पनि कोही दिउँसो आएको बेला फेला पर्छ कि भनेर काम छोडेर हेर्न जान्छु, ख्याल गर भनेर बुढी र अरु छोराछोरीलाई पनि भनेको छु।
अस्ति घर ल्याउने बेला चरिकोटमै एउटा अस्पतालमा सुई लगाएर ल्याएँ। फेरि नराम्रो घटना भए गर्भ बस्ला भनेर डाक्टरको सल्लाहमा गर्भनिरोधक सुई लगाइदिएका छौं। तर कहिलेसम्म यसो गरेर साध्ये लाग्ला ? अरु उपाय के गर्ने भन्ने पनि केही थाहा छैन। सरकारले वा अरु कोही संस्थाले सहयोग गरेर अन्तै सुरक्षित राख्दिए पनि पठाउँथ्यौं।