४० वर्षदेखि भारतीय जेलमा थुनिएका छन् एक नेपाली : न मुद्दाको ‘ट्रायल’ न अभियोगकै जानकारी
भारतको जेलमा ४० वर्षदेखि एक जना नेपाली थुनिइरहेको तथ्य नेपालको एक उच्च अदालतका पूर्व मुख्य न्यायाधीश र अर्का एक वरिष्ठ अधिवक्ताले उजागर गरेका छन्। अनौठो त के भने अदालतमा स्वच्छ सुनुवाइबेगर जेलमा थुनिएका उनीमाथि लगाइएको अभियोग नै खुल्नसकेको छैन।
उनको नाम दीपक जोशी हो। भारतको कोलकातास्थित कारागार 'दमदम सेन्ट्रल करेक्सनल होम’मा बन्दी जीवन बिताइरहेछन् उनी। भारतीय जेलमा उनको बन्दी जीवन शुरु भएको ठ्याक्कै ४० वर्ष पुग्यो।
हामीले यहाँ उनको चर्चा गर्नुको कारण दीपक नेपाली नागरिक हुन्। उनले दिएका र हामीलाई प्राप्त तथ्य र प्रमाण अनुसार उनको घर इलाम हो। सन् १९८० मा भारतको दार्जीलिङबाट पक्राउ परेका उनी त्यसयता भारतमै जेल जीवन बिताइरहेछन्। दीपकलाई कोलकाताको 'दमदम सेन्ट्रल करेक्सनल होम’मा राखिएको चाहिं पछिल्लो १५ वर्षयता हो। अनौठो के छ भने दीपक कुन आरोपमा पक्राउ परेका थिए र चार दशकदेखि कुन अभियोग लगाएर जेलमा राखिएको हो भन्ने खुलेको छैन। सबभन्दा गम्भीर कुरा, उनले अहिलेसम्म अदालतमा स्वच्छ सुनुवाको मौका नै पाएका छैनन्।
यसरी बाहिर आयो घटना
अर्कै मुद्दामा पक्राउ परेका र १० वर्ष दमदम करेक्सनल होममै कैद सजाय भुक्तान गरेर छुटेका भारतीय नागरिक राधेश्याम दासले यो घटना बाहिर ल्याएपछि मात्र दीपकबारे थाहा भएको हो। दासले आफू थुनामा रहँदा दीपकलाई भेटेको र उनले बताएको आधारमा यो कुरा बाहिर ल्याएको जानकारी दिएका छन्।
एक जना नेपाली ४० वर्षदेखि भारतीय जेलमा रहेको कुरा किन अहिलेसम्म थाहा भएन ? ४० वर्षपछि यो घटना कसरी बाहिर आयो ? अर्कै मुद्दामा पक्राउ परेका र १० वर्ष दमदम करेक्सनल होममै कैद सजाय भुक्तान गरेर छुटेका भारतीय नागरिक राधेश्याम दासले यो घटना बाहिर ल्याएपछि मात्र दीपकबारे थाहा भएको हो। दासले आफू थुनामा रहँदा दीपकलाई भेटेको र उनले बताएको आधारमा यो कुरा बाहिर ल्याएको जानकारी दिएका छन्।
जेलबाट छुटेपछि दासले सबभन्दा पहिले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमा यो जानकारी दिएका थिए। तर, दूतावासबाट उचित ‘रेस्पोन्स’ नपाएको भन्दै उनले यसबारे ‘वेस्ट बंगाल रेडियो क्लब’का पदाधिकारीलाई खबर गरे। भारतको केन्द्रीय सञ्चार मन्त्रालयमा दर्ता भएको यो क्लब त्यस क्षेत्रमा प्रकोपको समयमा सूचना उपलब्ध गराउने, हराएका मानिसको खोजी गरी पारिवारिक पुनर्मिलन गराउने तथा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने जस्ता सामाजिक काममा सक्रिय रहेको छ।
रेडियो क्लबले आफूले सूचना पाएपछि नेपालको उच्च अदालतका पूर्व मुख्य न्यायाधीश विदूरविक्रम थापालाई पत्र लेखेर घटनाबारे जानकारी गराएको थियो।
क्लबका सचिव अम्बरिस नाग विश्वासले थापालाई गएको ३१ अक्टोबर (१५ कात्तिक)मा पत्र लेखेर आफूहरूले थुनामा रहेका नेपालीको उद्धारका लागि पहल गरिरहेको र नेपालबाट समेत पहल गर्न आग्रह गरेका थिए। गत जेठमा विराटनगर उच्च अदालत, अस्थायी इजलास ओखलढुङ्गाका मुख्य न्यायाधीशबाट सेवानिवृत्त भएका थापाले भारतको सर्वोच्च अदातलमा बन्दीप्रत्यक्षीकरणको निवेदनमार्फत दीपकलाई छुटाउने पहल शुरु गरेका छन्। “भारतका कानून व्यवसायी साथीहरूको सहयोगमा बन्दीप्रत्यक्षीकरणको निवेदनमार्फत थुनामा रहेका व्यक्तिलाई उद्धार गर्न सकिन्छ कि भनेर लागिरहेका छौं”, थापाले हिमालखबर सँग भने।
रेडियो क्लबले थापालाई लेखेको पत्रमा दीपक इलाम जिल्लाको सखलपा भन्ने गाउँका व्यक्ति भएको उल्लेख गरिएको छ। तर, इलाममा त्यो नामको गाउँ रहेको थाहा हुनसकेको छैन।
रेडियो क्लबले थापालाई लेखेको पत्रमा दीपक इलाम जिल्लाको सखलपा भन्ने गाउँका व्यक्ति भएको उल्लेख गरिएको छ। तर, इलाममा त्यो नामको गाउँ रहेको थाहा हुनसकेको छैन। गाउँको नाम नमिलेपछि उनको सही ठेगाना सोध्नका लागि ‘वेस्ट बंगाल रेडियो क्लब’का पदाधिकारी कोलकातास्थित दीपक रहेको जेलमा पनि पुगेका थिए। दीपकसँग कुराकानी गरेर क्लबका पदाधिकारीले दीपकले आफ्नो ठेगाना इलामकै डाँडागाउँ भएको बताएको विवरण क्लबसँग जोडिएका नेपालका एक जना वरिष्ठ अधिवक्तालाई पठाएका छन्।
मानवीय सहायताका निम्ति आफू सक्रिय भएर लागे पनि आफ्नो नाम सार्वजनिक रूपमा उल्लेख गर्न नचाहने ती वरिष्ठ अधिवक्ताले भारतका केही कानून व्यवसायी, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र इलाममा समेत दीपकबारे सोधखोज गरिरहेका छन्। ती वरिष्ठ अधिवक्ता र पूर्व मुख्य न्यायाधीश थापा दुवैले आफूहरूको प्रयासका बावजूद कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले यो विषयलाई गम्भीरतापूर्वक नलिएको बताए। “हामीले घटना थाहा पाएकै १० दिन भइसक्यो, दूतावासका अधिकारीले त्योभन्दा पहिले थाहा पाएका थिए, उनीहरूले समयमै पहल गरेको भए अहिलेसम्म छुटाउन सकिन्थ्यो होला”, ती वरिष्ठ अधिवक्ताले भने।
पूर्व मुख्य न्यायाधीश थापाले पनि जेलबाट छुटेको कैदीले सूचना दिनेबित्तिकै दूतावास सक्रिय हुनुपर्नेमा त्यसो नभएको बताए। “उनीहरूलाई हामीले सूचना दिएपछि पनि सक्रियतापूर्वक सोधीखोजी गरेका छैनन्, 'ट्रायल' विना झण्डै ४० वर्षदेखि थुनिएको आफ्नो नागरिकबारे सोधखोज पनि नगर्ने हो भने त्यहाँ महावाणिज्य दूतावास किन राखेको ? यस्तै कामका लागि राखेको होइन र ?”, पूर्वमुख्य न्यायाधीश थापाले भने, “दूतावासलाई थुनिएको व्यक्ति छुटाउन पनि भनेको होइन। उनलाई निकाल्ने प्रयास हामी नै गर्छौं, ऊसँग कुराकानी गरेर वास्तविक अवस्था पत्ता लगाइदेऊ मात्र भन्दा पनि नसुने झैं गरेका छन्।”
हिमालखबर ले यसबारे बुझ्न खोज्दा कोलकातास्थित महावाणिज्य दूतावासका कन्सुलर जनरल ईश्वरराज पौडेलसँग सम्पर्क हुन सकेन। दूतावासका ‘अफिस सेक्रेटरी’ सतिस थापाले ४० वर्षदेखि एक जना नेपाली थुनामा रहेको बारे आफूहरूले पनि सूचना पाएको र दीपकसँग कुराकानी गर्नका लागि स्थानीय प्रशासनको अनुमति पर्खिरहेको हिमालखबरलाई बताए। रेडियो क्लबका पदाधिकारीले पूर्व मुख्य न्यायाधीश थापालाई लेखेको पत्रमा पनि यसबारे सम्पूर्ण जानकारी महावाणिज्य दूतावासका सतिस थापालाई दिइएको उल्लेख छ।
दार्जीलिङबाट पक्राउ परेका उनलाई किन जिल्ला र प्रान्तको जेल वा सुधार गृहमा नराखी कोलकातास्थित ‘सेन्ट्रल जेल’मा पठाइयो भन्ने खुल्न सकेको छैन। सबभन्दा गम्भीर कुरा त उनलाई के आरोपमा पक्राउ गरिएको थियो भन्ने विवरण पनि थाहा हुनसकेको छैन।
दार्जीलिङबाट पक्राउ परेका उनलाई किन जिल्ला र प्रान्तको जेल वा सुधार गृहमा नराखी कोलकातास्थित ‘सेन्ट्रल जेल’मा पठाइयो भन्ने खुल्न सकेको छैन। सबभन्दा गम्भीर कुरा त उनलाई के आरोपमा पक्राउ गरिएको थियो भन्ने विवरण पनि थाहा हुनसकेको छैन।
दीपकलाई जेलमै भेटेका दासले नेपाली महावाणिज्य दूतावास र ‘वेस्ट बंगाल रेडियो क्लब’का पदाधिकारीलाई दिएको जानकारीमा उनी सन् १९८० देखि लगातार थुनामा रहेको मात्र सूचना छ। आफूलाई पक्राउ गरेपछि थुनामा पठाएको र त्यसपछि कुनै पनि निकायबाट केही जानकारी नआएको भनेर दीपकले बताएका आधारमा उनीमाथि अदालतमा ‘ट्रायल’ नै नभएको हो कि भन्ने आशंका गरिएको छ। “ट्रायल विना नै कोही व्यक्ति ४० वर्ष थुनामा रहने भन्ने कुरा त कल्पनासम्म पनि गर्न सकिन्न”, पूर्व मुख्य न्यायाधीश थापाले भने।
नेपालमा उनको ठेगानालगायतका विवरण पाएपछि भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई पत्र पठाउने थापाको तयारी छ। भारतमा अदालतहरूले आफैंले जानकारी लिएर (शो मोटो) पनि मुद्दाको उठान गरी सुनुवाइ र फैसला गर्न सक्छन्। दिल्लीस्थित केही मानवअधिकारकर्मी अधिवक्ता र मानवअधिकारवादी संघसंस्थाको पहलमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिन सकिने तयारी पनि भइरहेको छ।
क्लबका सचिव अम्बरिस नाग विश्वासले सोमबार दीपकलाई भेटेर उनको ठेगाना डाँडागाउँ भएको जानकारी गराएपछि इलाममा पनि उनको परिवारको खोजी भइरहेको छ। तर, चार दशक पहिलेदेखि जेलमा रहेका, नेपालमा कुनै खुटखबर नभएका अविवाहित दीपकको घर र परिवार भेटिनेमा पनि शंका छ। मानवअधिकार मञ्च इलामको पूर्वअध्यक्ष समेत रहेका नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीले इलाममा पनि उनको परिवारको खोजी भइरहेको तथा त्यहाँ केही पत्ता नलागेमा मञ्चका कुनै सदस्यलाई कोलकाता नै पठाउनेबारे पनि आफूहरूले छलफल गरिरहेको बताए।
कोलकाताको जेलमा ट्रायल विना नै एक नेपाली थुनिएको कुरा सुनेपछि कोलकाताकै एक जिल्ला न्यायाधीशले पनि यसबारे बुझ्ने पहल अघि बढाएका छन्। आफ्नो नाम उल्लेख गर्न नचाहने दार्जीलिङ घर भएका ती न्यायाधीश कोलकाताको श्रीरामपुरस्थित सेसन अदालतमा कार्यरत छन्।
कोलकातास्थित जेलमा दीपकलाई भेटेका वेस्ट बंगाल रेडियो क्लबका सचिव अम्बरिस नाग विश्वासले दीपक अहिले वृद्धावस्थामा रहेको आफूले पाएको हिमालखबर लाई बताए। कोलकाताको जेलमा ट्रायल विना नै एक नेपाली थुनिएको कुरा सुनेपछि कोलकाताकै एक जिल्ला न्यायाधीशले पनि यसबारे बुझ्ने पहल अघि बढाएका छन्। आफ्नो नाम उल्लेख गर्न नचाहने दार्जीलिङ घर भएका ती न्यायाधीश कोलकाताको श्रीरामपुरस्थित सेसन अदालतमा कार्यरत छन्। उनले १७ नोभेम्बरसम्म भारतका अदालतहरू बन्द रहेकाले त्यसपछि दीपकका बारेमा बुझ्न उनी थुनामा रहेको जेलमा आफ्नै अदालतका एक जना कानून अधिकृतलाई पठाउन लागेको बताए।
इलामको नवीनचोक-७ स्थित जुभिलियन इलाइट एकेडेमीका प्रिन्सिपल भूषण सुब्बाले दीपकबारे सूचना पाएपछि दार्जीलिङको आफ्नै गाउँका ती न्यायाधीशलाई यसबारे जानकारी गराएका थिए। भूषणले दार्जीलिङबाट पक्राउ परेका दीपकबारे आफूले पनि सुनेको र उनको परिवारका कोही मानिसले सोधीखोजी नगरेका कारण उनी थुनामा रहेको हुनसक्ने बताउँदै भने, “एक जना नेपाली अदालतमा मुद्दाको सुनुवाइ विना नै दशकौंदेखि थुनामा रहेको थाहा पाएपछि ‘ह्युम्यानिटेरियन ग्राउण्ड’ मा सहयोगका लागि लागेका छौं।”
भारतमा केही तोकिएका अपराधमा अन्तिम सजायको रूपमा मृत्युदण्ड दिने व्यवस्था छ। कतिपय अन्य गम्भीर अपराधमा आजीवन काराबासको सजाय पनि हुनसक्छ। “तर, ती व्यवस्था अदालतबाट दोषी ठहर भएको अवस्थामा मात्रै हो, दीपकबारे अहिलेसम्म प्राप्त सूचनाअनुसार त उनको मुद्दामा ट्रायल नै नभएको देखिन्छ”, ती वरिष्ठ अधिवक्ताले भने। उनको मानसिक अवस्था पनि बिग्रिइरहेको जानकारी आफूले पाएको भन्दै रिहाइका लागि तत्काल पहल गर्न परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासलाई समेत उनले आग्रह गरेका छन्।