बांग्लादेशसँग नेपाल गोलरहित बराबरीमा
ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार जारी दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बांग्लादेशसँग गोलरहित बराबरी खेलेको छ। निकै आक्रामक खेल खेले पनि नेपालले बांग्लादेश विरुद्ध गोल गर्न सकेन।
‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फूटबल सिरिज’ अन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा भने बांग्लादेशले नेपाललाई २-० गोलले हराएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बांग्लादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको हो।
नेपालका तर्फबाट खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठले गरेको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो। बांग्लादेश विरुद्ध आज नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका छन्।
रक्षात्मक खेलेको बांग्लादेशले पनि नेपाल विरुद्ध उत्कृष्ट आक्रमण गर्न सकेन।