बांग्लादेशविरुद्ध नेपालको दोस्रो खेल शुरू: 'प्लेइङ इलेभेन' मा नेपालका पाँच खेलाडी परिवर्तन [लाइभ]
बांग्लादेशमा जारी मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेल शुरू भएको छ। खेलमा नेपाली राष्ट्रिय फूटबल टोलीको शुरुआती ११ (प्लेइङ इलेभेन) मा आक्रामक परिवर्तन गरिएको छ। नयाँ प्लेइङ इलेभेनमा अघिल्लो खेलमा रहेका पाँच जना खेलाडी परिवर्तन भएका छन्।
प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट गोलरक्षकमा किरण चेम्जोङ नै रहेका छन्। डिफेन्डरमा अजित भण्डारीको स्थानमा राष्ट्रिय टोलीमा डेब्यु गरेका छिरिङ गुरुङ टोलीमा आएका छन्।
डिफेन्समा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन्। सुमन अर्यालको स्थानमा कोरोना संक्रमणका कारण अघिल्लो खेल गुमाएका रजिन धिमाल टोलीमा फर्केका छन्।
मिडफिल्डमा अघिल्लो खेलमा डेब्यु गरेका एरिक विष्ट र तेज तामाङ रहेका छन्। एरिकले विक्रमको स्थानमा खेल्दै छन् भने विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले अवसर पाएका छन्। यस्तै अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन्।
आक्रमणमा नवयुग श्रेष्ठको स्थानमा उनकै क्लबका सहकर्मी तथा टोलीको कप्तानी समेत सम्हालेका भरत खवासले खेल्दैछन्। अघिल्लो खेलमा भरत बेन्चमा बसेका थिए भने किरणले टोलीको कप्तानी सम्हालेका थिए।
नेपाललाई सिरिज उपाधि जित्न यस खेलमा कम्तीमा दुई गोलको अन्तरले जित्नुपर्नेछ। स्कोर २-० नै भएको अवस्थामा खेल टाइब्रेकरमा जानेछ।
नेपालको इलेभेनमा किरण चेम्जोङ, अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, भरत खवास रहेका छन्।
खेल बांग्लादेशको ढाकास्थित बंगबन्धु रंगशालामा शुरू भएको छ।
खेल लाइभ हेर्न यो लिंकमा क्लिक गर्नुहोला।