वामदेवले भने- ‘मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफ्नो मनोनयन पद र प्रतिष्ठाका लागि नभएको बताएका छन्। वामदेवलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले यसअघि गरेको आदेश संवैधानिक इजलासबाट खारेज भएपछि गौतमको यस्तो प्रतिक्रिया आएको हो।
गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत सार्वजनिक धारणामा उनले आफ्नो पक्षमा बहस गर्ने सबै कानून व्यवसायीलाई धन्यवाद पनि भनेका छन्।
‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन। हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरू क्रियाशील भए’, गौतमले भनेका छन्।
राष्ट्रिय सभा सदस्यमा मनोनयन र शपथ लगत्तै गौतमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो। गौतमले आफू फेरि पनि संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रतिवद्धता समेत जनाएका छन्।