सर्वोच्चमा वामदेवविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको मुद्दामा बुधबार सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा १६ असोजमा सुनुवाइ भएयता यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।
कोभिड-१९ संक्रमणले सुनुवाइ प्रभावित भएको र पछि दशैं विदासमेत परेका कारण सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन नै हुन सकेको थिएन। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित छन्।
सर्वोच्च अदालतले हरेक साताको बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास तोक्छ। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न मन्त्रिपरिषद्को सिफारिस गरेको थियो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिसकेकी थिइन्।
त्यही मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासले सुनुवाइ गर्न लागेको हो। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले ७ असोजमा राष्ट्रिय सभामा गौतमको नियुक्तिलाई यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गर्दै सो रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो।