धुम्बाराही जानुअघि ओलीलाई भेट्न बालुवाटार पुगे दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल सचिवालय बैठकअघि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
ओलीले बैठक बोलाउन नमानेपछि दाहालले मंगलबार दिउँसो ४ बजे नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दाहाल अहिले ओलीसँगको परामर्शका लागि बालुवाटार पुगेको र उतैबाट धुम्बाराही जाने बताए।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सचिवालयको अनौपचारिक बैठक बस्ने तयारी भइरहेको हिमालखबरलाई बताए। बैठक नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।
यसअघि २१ कात्तिकमा धुम्बाराहीमा नै बसेको सचिवालयको अनौपचारिक बैठकले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई बैठक आह्वान गर्नका लागि लिखित अनुरोध गर्ने निर्णय गरेको थियो।
बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्यहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा अनुपस्थित थिए।
निर्णयानुसार शनिबार अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ४८ घण्टाभित्र बैठक बोलाउन वा बैठकका लागि सहमति दिन लिखित आग्रह गरेका थिए। उनीहरूले दिएको समय सोमबार साँझ सकिएको छ।
सोमबार महासचिव विष्णु पौडेल बालुवाटारको सन्देश लिएर अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए। भेटमा दाहालले ओलीले बैठक नबोलाए कार्यकारी अधिकार प्रयोग गरेर बैठक बोलाउने बताएका थिए।
मंगलबार बिहान पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेका थिए। पोखरेलसँगको भेटमा पनि दाहालले बैठकको तयारी गरिरहेको बताएका थिए।