दाहालले बोलाए नेकपा सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि दाहालले मंगलबार दिउँसो ४ बजे बस्नेगरी सचिवालयको बैठक बोलाएका हुन्।
यद्यपि, बैठक अनौपचारिक भनिएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको अनौपचारिक बैठक बस्ने तयारी भइरहेको हिमालखबरलाई बताए। बैठक नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।
यसअघि २१ कात्तिकमा धुम्बाराहीमा नै बसेको सचिवालयको अनौपचारिक बैठकले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई बैठक आह्वान गर्नका लागि लिखित अनुरोध गर्ने निर्णय गरेको थियो। निर्णयानुसार शनिबार अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ४८ घण्टाभित्र बैठक बोलाउन वा बैठकका लागि सहमति दिन लिखित आग्रह गरेका थिए।
उनीहरूले दिएको समय सोमबार साँझ सकिएको छ। सोमबार महासचिव विष्णु पौडेल बालुवाटारको सन्देश लिएर अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए। भेटमा दाहालले ओलीले बैठक नबोलाए कार्यकारी अधिकार प्रयोग गरेर बैठक बोलाउने बताएका थिए।
मंगलबार बिहान पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेका थिए। दाहालले मंगलबार दिउँसो बैठक बोलाउने तयारी गरेको संकेत गरेका थिए। पछिल्लो समय अध्यक्ष ओली र दाहालबीच शक्ति संघर्ष चर्किँदै गएको छ।