कुन्जोकले आज पनि स्थगित गरे सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ
बाघका अंग कारोबारको अभियोगमा रसुवा कारागारमा थुनामा रहेका हुम्लाका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ मंगलबार पनि स्थगित गरेका छन्। उनले सोमबारको सुनुवाइ पनि स्थगित गरेका थिए।
रसुवा जिल्ला अदालतको आदेशले थुनामा रहेका तामाङले त्यसविरूद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उच्च अदालत पाटनले कुन्जोकको मुद्दाका सबै सक्कल फाइल मगाउन आदेश दिएको छ। तर, कोभिडका कारण केही समय त्यहाँको सुनुवाइ प्रभावित भएपछि कुन्जोकले सर्वोच्च अदालतमा आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दावी गर्दै २ कात्तिकमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
३ कात्तिकमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसपछि मंगलबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशमा पेशी तोकिएको थियो। सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलाशमा पेशी तोकिएको थियो।
बिहान पेशी सूची सार्वजनिक भएपछि कुन्जोकका वकीलले मुद्दा स्थगितका लागि निवेदन दिएका थिए। २०६२ सालमा रसुवामा तत्कालीन शाही नेपाली सेनाले ठूलो परिणाममा वन्यजन्तुका अंगसहित पाँच जना व्यक्तिलाई पक्राउ गरेको थियो।
उक्त घटनामा पक्राउ परेका सबैले सर्वोच्च अदालतबाट पाएको सजाय काटेर पनि छुटिसकेका छन्। त्यही घटनामा मुख्य अभियुक्त रहेका कुन्जोक त्यसयता लुकिछिपी बस्दै आएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत ११ असारमा काठमाडौं-६ सिमलटारबाट पक्राउ गरेको थियो। प्रहरीले लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा त्यसपछि जिल्ला अदालत रसुवामा कुन्जोकविरूद्धको मुद्दा ब्युँताइएको थियो।
१४ असारमा जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कुन्जोकलाई निर्दोष रहेको मान्न नसकिने भन्दै थुनामा पठाएको थियो। २०६२ सालमा भएको घटनामा मुछिएका कुन्जोक लामा भन्ने व्यक्ति आफू नभएको र आफ्नो वास्तविक परिचय कुन्जोक छिरिङ तामाङ भएको दावीसहित त्यसपछि उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। अहिले सर्वोच्च अदालतमा पनि उनले त्यही दावी दोहोर्याउँदै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका छन्।
प्रहरीले भने लामा र तामाङ एकै जना भएको दावी गरेको छ। उनले प्रयोग गर्ने मोबाइल नम्बर, उनको सम्पत्ति विवरण, यात्रा विवरण आदीबाट दुई नाम गरेका व्यक्ति एकैजना भएको भन्दै प्रहरीले ती सबै विवरण अदालतमा पेश गरेको छ। तामाङविरूद्ध भारतमा समेत वन्यजन्तुको अवैध व्यापारमा संलग्न भएको भन्दै धेरै मुद्दा छन्।