नेकपा कार्यकर्ता मुकेश चौरसिया हत्या : आरोपित थप एक जना पक्राउ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पर्साका कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार पर्साको विन्दवासिनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि दुई जनालाई पक्राउ गरिसकेको छ। आइतबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनामा झडपमा चौरसिया घाइते भएलगत्तैदेखि तिवारी फरार रहेको प्रहरीको पर्सा प्रहरीले जनाएको छ। लुकिछिपी बसिरहेको अवस्थामा आइतबार तिवारीलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाँउबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पीडित परिवारले दिएको जाहेरीमा चौरसियालाई बाँसको भाटा प्रहार गर्नेमा तिवारीको नाम पनि छ। गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम स्थलबाहिर ६ कात्तिकमा भएको झडमा घाइते भएका चौरसियाको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो।
चौरसिया हत्या प्रकरणमा नेकपाकै नेता एवं संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। जिल्ला सरकारी वकीलको कार्यालयमार्फत प्रहरीले १३ कात्तिकमा मुद्दा दर्ता गरेको हो। त्यसअघि प्रहरीले जाहेरी लिन नमानेपछि वीरगञ्जमा विरोध प्रदर्शन भएको थियो।
सरकारी वकील कार्यालयमार्फत् जाहेरी दर्ता भएपछि आफन्तले ८ दिनपछि चाैरसियाको शव बुझेर अन्त्येष्टि गरेका थिए।