विद्यार्थीसँग नियमविपरित असुली गर्दै नेशनल मेडिकल कलेज, अतिरिक्त एक लाख रुपैयाँ नतिर्नेलाई परीक्षामा बस्न नदिने
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले परीक्षाको मौका पारेर विद्यार्थीबाट सरकारले तोकेभन्दा रु.१ लाख अतिरिक्त शुल्क असुल्न थालेको छ। शुल्क नतिर्ने विद्यार्थीलाई परीक्षामा नै बस्न नदिनेसमेत जनाएको छ।
उक्त कलेजमा स्नाकोत्तर तह (एमडि/एमएस/एमडिएस) तह दोस्रो वर्षमा २२ विद्यार्थी (आवसीय चिकित्सक) ले अध्ययन गरिरहेका छन्। ती २२ आवासीय चिकित्सकमध्ये १० जनाको आउँदो ७ मंसिरमा पहिलो वर्षको जाँच हुँदैछ। तर, कलेजले उनीहरुसँग ‘वार्षिक शुल्क’को नाममा अतिरिक्त रु.१ लाख मागेको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले हिमालखबरलाई बताएका छन्।
नेशनल मेडिकल कलेजले आउँदो ५ नोभेम्बरसम्ममा जाँचमा सहभागी हुनका लागि फारम भरिसक्नुपर्ने समयसीमा तोकेको छ। कलेजले फारम बुझाउने समयसम्म अतिरिक्त रकम नबुझाए जाँचमा बस्न नदिने भनेको दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी समिर (नाम परिवर्तन) ले बताएका छन्।
“कलेजले वार्षिक शुल्कका नाममा जाँच दिनुअघि एक लाख बुझाउन भनेको छ। तर, त्रिविले स्नाकोत्तर तह अध्ययनका लागि जम्मा २२ लाख रुपैयाँ मात्र तिरे हुने व्यवस्था गरेको छ”, ती डाक्टर भन्छन्, “यस्तो अवस्थामा हामीले एक लाख तिर्ने हो भने आउँने दुई वटा जाँचमा सहित गरेर तीन लाख अतिरिक्त रकम तिर्नुपर्ने हुन्छ।”
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको कलेजमा चिकित्साशास्त्र अन्तर्गत स्नातक र स्नाकोत्तरमा अध्ययन/अध्यापन भइरहेको छ। चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को नियम अनुसार नेशनल मेडिकल कलेजले विद्यार्थीबाट कुनै पनि अतिरिक्त शुल्क लिन पाउँदैन।
आईओएमले १७ बैशाख २०७६ मा प्रकाशित गरेको सूचनामा स्नाकोत्तर तह (एमडि/एमएस/एमडिएस) अध्ययन गर्नेहरुले तीन वर्षे शैक्षिक कार्यक्रमका लागि रु.२२ लाख बुझाए पुग्छ। भर्ना हुने वेलामा पहिलो किस्ता स्वरुप रु.११ लाख बुझाउनुपर्छ।
वीरगञ्जमा अध्ययनरत २२ विद्यार्थीले पनि पहिलो किस्ता अन्तर्गत रु.११ लाख बुझइसकेका छन्। बाँकी ११ लाख क्रमशः दोस्रो र तेस्रो वर्षको कक्षा सञ्चालन हुने बेलामा रु.५ लाख ५० हजारका दरले बुझाउनुपर्ने आईओएमको नियम छ।
“शिक्षण शुल्कमा चिकित्सा शिक्षा अध्ययन अवधीभरमा लिइने भर्ना शुल्क, शिक्षण, प्रयोगशाला, पुस्तकालय, सामुदायिक तालिम लगायतका सम्पूर्ण शुल्क समावेश हुनेछ। त्रिवि स्नाकोत्तर तहका शैक्षिक कार्यक्रममा भर्ना भई अध्ययन गर्ने विद्यार्थीलाई आवासीय चिकित्सक भत्ता बुझाउनु पर्ने भएमा नियमानुसार उपलब्ध गराउनुपर्नेछ”, आईओएमले प्रकाशित गरेको सूचनामा उल्लेख छ।
यो सूचनाअनुसार विद्यार्थीले तिरेको रु.२२ लाखभित्र नै सबै शुल्क समावेश हुन्छ। तर, आईओएमको नियम विपरित नेशनल मेडिकल कलेजले सबै २२ विद्यार्थीलाई रु.१ लाख दिनुपर्ने भन्दै ‘स्लीप’ बुझाएको छ । कलेजले परीक्षाको मुखमा अतिरिक्त रकम मागे पनि अहिलेसम्म विद्यार्थीले नबुझाउने अडान लिएका छन्।
कलेजले अतिरिक्त रकम मागेपछि विद्यार्थीहरुको समूहले कलेजका निर्देशक डा. प्रमोद सराफसँग त्यसको कारण सोधेका थिए। तर, सराफले आफूले केही गर्न नसक्ने, बरु कलेजको भर्ना शाखाले भने अनुसार नै रकम बुझाउन भनेको एक वद्यार्थीले बताए। “उनले उक्त शुल्क तिर्न नपर्ने हो भनेर आईओएमबाटै लेखाएर ल्याउनुस् भनेका छन्”, छलफलमा सहभागी एक विद्यार्थीले भने।
कलेजले रकम तिर्न दबाब दिन थालेपछि दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सकहरुले आईओएम, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिएका छन्। विद्यार्थीहरुले आईओएमलाई दिएको निवेदनमा समस्या समाधानका लागि पहल गरिदिन र जाँचमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गरेका छन्।
तर, उक्त निवेदनमाथि आईओएमले कुनै सुनुवाइ नगरेपछ विद्यार्थी आफैँले डिन दिव्यासिंह शाहलाई शुक्रबार टेलिफोन गरेर समस्या राखेका थिए। तर, डिन शाहले कलेजले अतिरिक्त रकम मागेको विषयमा आफूले केही गर्न नसक्ने, बरु त्यसबारे चिकित्सा शिक्षा आयोगलाई जानकारी गराउन भनेको एक विद्यार्थी बताउँछन्। त्यसपछि आफूहरुले आयोगमा सम्पर्क गर्दा फोन नउठेको दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी समिरले बताए।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले परीक्षाको मुखमा अतिरिक्त रकम असुल्ने धन्दा चलाएको यो पहिलो पटक भने होइन। यसअघिका ब्याचका विद्यार्थीबाट कलेजले रु.१६ लाख अतिरिक्त रकमसम्म अशुलेको थियो। तर, विद्यार्थीको चर्को दबाब र चिकित्सा शिक्षा आयोगको निर्देशनपछि उक्त रकम फिर्ता गरेको थियो।
चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव दिल्लीराम लुईँटेलले नेशनल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क मागेको बारे आफुहरुलाई कुनै औपचारिक जानकारी नआएको बताएका छन्। उनी भन्छन्, “यदी त्यसबारे हामीलाई निवेदन आयो भने कलेजमाथि कारबाही अघि बढाउछौँ।” नेशनल मात्र नभएर मुलुकका अन्य कतिपय निजी कलेजहरुले परीक्षाको मुखमा विद्यार्थीबाट विभिन्न बहानामा अतिरिक्त शुुल्क असुल्दै आइरहेका छन्।