कोरोना संक्रमित १ लाख र मृतक ६०० पुगेपछि यस्तो छ विज्ञले देखेको जोखिम
विज्ञहरुले आउँदा दिनहरुमा देशभर संक्रमण अझ विस्तार हुने र काठमाडौंबाट चाडपर्व मनाउन घर जानेहरुले गाउँ गाउँमा संक्रमण फैलाउने जोखिम रहेको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार, २३ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। सार्वजनिक आँकडा अनुसार कोरोनाभाइरस संक्रमण हुनेको संख्या देशभर एक लाख ६७६ पुगेको छ। यसमध्ये पछिल्लो २४ घण्टामा २ हजार ५९ जना संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार यीमध्ये अहिले २७ हजार २८ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च दरमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित थपिए। शुक्रबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या काठमाडौंमा १२ हजार ९२२, भक्तपुरमा १ हजार १२१ र ललितपुरमा १ हजार ९९६ पुगेको छ।
पछिल्ला दिनमा दैनिक न्यूनतम २ हजारका दरले कोरोना संक्रमित थपिइरहेका छन्। संक्रमितको संख्यासँगै सिकिस्त बिरामी पनि बढिरहेका छन्। यो संख्या बढिरहँदा अस्पतालमा आइसीयू बेडको अभाव भएपछि कतिपय सिकिस्त बिरामीले उपचार नपाई ज्यान गुमाउन थालेका छन्।
पछिल्ला दिनमा दैनिक न्यूनतम २ हजारका दरले कोरोना संक्रमित थपिइरहेका छन्। संक्रमितको संख्यासँगै सिकिस्त बिरामी पनि बढिरहेका छन्। यो संख्या बढिरहँदा अस्पतालमा आइसीयू बेडको अभाव भएपछि कतिपय सिकिस्त बिरामीले उपचार नपाई ज्यान गुमाउन थालेका छन्।
शुक्रबारसम्ममा देशभर १४५ जना संक्रमित आईसियु र ५१ संक्रमित भेन्टिलेटरको सहायतामा उपचाररत छन्। कोरोनाका सिकिस्त बिरामीमा अक्सिजनको कमी हुने भएकाले उनीहरुलाई आईसीयू र भेन्टिलेटरको सहायताले उपचार गर्नुपर्ने हुन्छ।
झन् बढ्यो जोखिम
एकातिर कोरोना संक्रमण डरलाग्दो रुपमा बढिरहेको छ। अर्कोतर्फ नजिकिँदा चाडवाडसँगै सार्वजनिक स्थलमा स्वास्थ्यका आधारभुत मापदण्ड पालना नगरी भिडभाड गर्ने क्रम पनि बढ्दो छ। यही भिड कोरोना संक्रमण बढाउने कारक बनेको छ।
संक्रमण बढिरहे पनि सरकारले परीक्षणलाई अझै आवश्यकताअनुसार बढाउन सकेको छैन। कोरोनाका शंकास्पद संक्रमित खोज्ने ‘कट्याक्ट ट्रेसिङ’को कामलाई पनि प्रभावकारी बनाउन सकिएको छैन।
२३ असोजसम्मा मुलुकभर कोरोना परीक्षणका लागि ५८ प्रयोगशाला सञ्चालनमा रहे पनि तिनले दैनिक औसत १३ हजारका दरले मात्र कोरोना परीक्षण भइरहेको छ। पछिल्लो २४ घण्टामा देशभरका नीजि र सरकारी समेत गरेर ५८ वटा कोरोना परिक्षण गर्ने प्रयोगशालाबाट १३ हजार २७९ स्वाबको नमुना परीक्षण भएको छ।
विज्ञहरु मुलुकभर रहेका ५८ प्रयोगशालाको क्षमतालाई पूर्ण रुपमा उपयोग गर्न सक्ने हो भने दैनिक न्यूनतम ३० हजार नमूना परीक्षण गर्न सकिने बताउँछन्।
मुलुकमा कोरोना संक्रमण र मृत्युदर बढिरहँदा प्रभावकारी हुन नसकेको कट्याक्ट ट्रेसिंङ र बढ्न नसकेको कोरोना परीक्षणले अब कस्तो जोखिम निम्त्याउला?
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)मार्फत कट्याक्ट ट्रेसिङको काम गरिरहेका एक विज्ञ चिकित्सक संक्रमणको दर बढेसँगै कट्याक्ट ट्रेसिङको काम प्रभावकारी हुन नसकेको बताउँछन्।
“कट्याक्ट ट्रेसिङमार्फत फेला परेका सय जना व्यक्तिहरुमा कोरोना परीक्षण गर्दा तीमध्ये १४ देखि १५ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ,” ती विज्ञ चिकित्सक भन्छन्, “यसको अर्थ कनट्याक्ट ट्रेसिङ बढायो भने अझै धेरै लुकेर रहेका संक्रमित फेला पर्छन् भन्ने हो।”
उनी अहिले कोरोनाको परीक्षण र कट्याक्ट ट्रेसिङ काठमाडौं उपत्यकामा मात्र केन्द्रित भएकाले यो कामलाई उपत्यका बाहिरका जिल्लाहरुमा पनि बढाउनुपर्ने र त्यसो गरे थप संक्रमितहरु फेला पर्ने बताउँछन्। संक्रमणको चेन ब्रेक गर्नका अब बन्दाबन्दी गर्न नहुने बरु कट्याक्ट ट्रेसिङलाई नै प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ।
विज्ञहरुले आउँदा दिनहरुमा देशभर संक्रमण अझ विस्तार हुने र काठमाडौंबाट चाडपर्व मनाउन घर जानेहरुले गाउँ गाउँमा संक्रमण फैलाउने जोखिम रहेको बताएका छन्। संक्रमणको चेन ब्रेक गरे मात्र नियन्त्रण गर्न सकिने र त्यसका लागि आनीबानीमा समेत परिवर्तन गर्नैपर्ने उनीहरु बताउँछन्। ताइवान, भियतनाम, दक्षिण कोरिया जस्ता मुलुकले जनस्वास्थ्यका मापदण्डलाई पूर्ण रुपमा पालना गरेका कारण त्यहाँ संक्रमण उच्च दरमा फैलिन पाएको छैन ।
“अब कोभिड बाहेकका रोगहरु जस्तो कि दम लगायतका स्वासप्रस्वाससम्बन्धी रोग, मुटु रोग लगायतबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्छ। किनभने अहिले अधिकांश अस्पतालहरु कारोनाका बिरामीले भरिएका छन् र, धेरैजसो चिकित्सकहरु उनीहरुकै उपचारमा केन्द्रित छन्।” -संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी आउने दिनमा कोरोनाको संक्रमण दोब्बर÷तेब्बर भन्दा पनि अझै तिब्र गतिमा फैलिने र मृत्यु दर पनि उच्च हुने बताउँछन्। “अब कोभिड बाहेकका रोगहरु जस्तो कि दम लगायतका स्वासप्रस्वाससम्बन्धी रोग, मुटु रोग लगायतबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्छ”, डा. सुवेदी भन्छन्, “किनभने अहिले अधिकांश अस्पतालहरु कारोनाका बिरामीले भरिएका छन् र, धेरैजसो चिकित्सकहरु उनीहरुकै उपचारमा केन्द्रित छन्।”
उनी सरकारले अझै पनि कोरोना परीक्षणलाई नबढाउने हो भने आम मानिस महामारीको भयावह चपेटामा पर्ने बताउँछन्।
डा. सुवेदी स्वास्थ्य मन्त्रालयले लामो समयदेखि अड्काएर राखेको सस्तो र छिटो नतिजा दिने डाइरेक्ट पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने कामलाई शुरु गर्नुपर्ने बताउँछन्। कट्याक्ट ट्रेसिङलाई अझै बढाउन सके लुकेर रहेका संक्रमित पहिचान हुने र संक्रमण विस्तार रोक्न सघाउ पुग्ने हुँदा कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिनलाई महत्व दिनुपर्ने उनको सुझाव छ।
इडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी स्वास्थ्य मन्त्रालयले अहिलेसम्म सबै संक्रमितहरुको संक्रमणको स्रोत पत्ता लगाउन नसकेको र यसले संक्रमण दर बढाउन मद्दत्त पुर्याएको बताउँछन्।
“पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण भिडभाडले बढाएको देखिन्छ,” डा. मरासिनी भन्छन्, “तर स्वास्थ्य मन्त्रालयले समयमै यो कुरा बुझेर कदम नचालेका कारण समस्या भयावह बनेको हो।” अहिले मानिसहरुको भीडभाड हुने कर कार्यालयदेखि वडा कार्यालयहरु कोेरोना रोकथाम र नियन्त्रणमैत्री नभएको र यीनै ठाउँमा संक्रमण फैलिएको देखिएको उनी बताउँछन्।
डा. मरासिनीका अनुसार धेरै भिडभाड हुने ब्यांक, वडा कार्यालयका कोठाहरुमा क्रस भेन्टिलेसनको व्यवस्था नहुँदा एक जना संक्रमितबाट अन्य स्वस्थ व्यक्तिमा भाइरसको संक्रमण छिटो सर्छ। ती कार्यालयमा काम गर्नेहरुलाई रोग कसरी सर्छ र कसरी नियन्त्रण गर्ने भन्ने बारेमा अभिमुखिकरण नदिएकाले संक्रमणको चेन ब्रेक हुन नसकेको उनी बताउँछन्।
डा. मरासिनीले स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण र संक्रमितबारे सही तथ्यांक नराखेका कारण पनि संक्रमणको खास अवस्था थाहा हुन नसकेको टिप्पणी गरे। “सात दिन अघिको पुरानो र नयाँ स्वाबको नमुनाबाट आएको नतिजालाई मिसाएर २४ घण्टाभित्र यति जनालाई कोरोना भयो भन्नु नै गलत हो,” उनी भन्छन्, “यो अव्यवस्थापनको चरम हद हो, यस्तो खालको व्यवस्थापनले रोग नियन्त्रण हुन सक्दैन।” उनी यस्तो तथ्यांकबाट गलत विश्लेषण हुने भएकाले स्वास्थ्य मन्त्रालयले २४ घण्टाभित्र स्वाब संकलन गरेर सोही समयमै नतिजा निकाल्ने प्रणाली अवलम्बन गर्नुपर्ने र त्यसैका आधारमा तथ्यांक सार्वजनिक गर्नुपर्ने बताउँछन्।