कोरोनाका सिकिस्त बिरामीलाई अक्सिजन दिन उपयोगी उपकरणले पाएन उत्पादन अनुमति
एम्बुलेन्स मार्फत लैजानुपर्ने सिकिस्त बिरामीलाई तथा भेन्टिलेटरको अभाव भएका ठाउँमा अक्सिजन दिन उपयोगी पाइला टेक्नोलोजीले बनाएको उपकरणलाई सरकारले अनुमति नदिंदा उत्पादन रोकिएको छ।
नेपाली युवा इञ्जिनियरहरुको कम्पनी पाइला टेक्नोलोजीले कोरोनाभाइरसका सिकिस्त बिरामीलाई अक्सिजन दिन चाहिने अटोमेटिक रिससीटेटर नामको उपकरण बनाए। तर, सरकारले यसको उत्पादनका लागि अनुमति नदिंदा नेपाली उत्पादन ओझेलमा परेको छ।
पाइला टेक्नोलोजीले ६ महीनाअघि यो उपकरण बनाएको थियो। उपकरणको नमूनालाई गएको १८ वैशाखमा चिकित्सकीय हिसाबले काभ्रेको धुलिखेल अस्पतालमा सफल परीक्षण पनि गरिएको थियो। त्यसपछि वीर र त्रिवि शिक्षण अस्पतालबाट पनि परीक्षण गर्दा राम्रो नतिजा देखिएको पाइला टेक्नोलोजीका सह–संस्थापक आयुष कसजु बताउँछन्।
नेपाल मेडिकल काउन्सिलले अटोमेटिक रिससीटेटर मेशिनबारे थप जाँचबुझ गरेर उत्पादन गर्न अनुमति दिएको थियो। तर, उत्पादनका लागि अन्तिम अनुुमति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिनुपर्ने हुन्छ। मन्त्रालयका सह–सचिव शोभाकान्त पौडेलको संयोजकत्वमा गठित प्राविधिक समितिको बैठकले १ असारमा उक्त उपकरणको सम्भाव्य उत्पादनसम्बन्धी प्रस्तावना अध्ययन गरी बिरामीको उपचारमा प्रयोग गर्न सकिने/नसकिने विषयमा काउन्सिललाई प्रतिवेदन पेश गर्न भन्यो।
काउन्सिलले अटोमेटिक रिससीटेटर उत्पादन गर्न सकिने भन्दै मन्त्रालयलाई विस्तृत अध्ययनसहितको प्रतिवेदन २३ भदौमा बुझाएको थियो। तर, काउन्सिलले प्रतिवेदन बुझाएको दुई महीना भइसक्दा पनि उद्योग मन्त्रालयले अनुमति नदिंदा यो उपकरणको उत्पादन नै हुनसकेको छैन।
यसकारण रोकियो उत्पादन
अटोमेटिक रिससीटेटरलाई उत्पादन गर्न अनुमति दिने विषयमा विभिन्न विशेषज्ञ चिकित्सकहरुका बीचमा नेपाल मेडिकल काउन्सिलमा छलफल भएको थियो। नेपाल सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. हेम पनेरु बाहेकका सात चिकित्सक र चिकित्सकहरुको सात वटा छाता संगठनले उक्त उपकरण कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुने भन्दै उत्पादन गर्न दिने सुझाव उद्योग मन्त्रालयमा पेश गरेका थिए।
काउन्सिलका विज्ञहरुको टोलीले बुझाएको प्रतिवेदनमा उक्त उपकरण आधुनिक भेन्टिलेटरको विकल्पमा नभएको तर यसलाई एम्बु ब्यागको ठाउँमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ। यस्तै, काउन्सिलको उक्त प्रतिवेदन अनुसार यो उपकरणलाई भेन्टिलेटरको अभाव भएका ठाउँमा पनि प्रयोग गर्न सकिन्छ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी एम्बुलेन्समा अक्सिजन चाहिने बिरामीलाई यो उपकरण उपयोग गर्न सकिने बताउँछन्।
अटोमेटिक रिससीटेटर मार्फत बिरामीलाई स्वचालित रुपमा अक्सिजन मिश्रित हावा दिन सकिने पाइला टेक्नोलोजीले जनाएको छ। यो उपकरणलाई प्रयोगमा ल्याउन सके अक्सिजन चाहिएका कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर लैजाँदा एम्बु ब्याग थिचेर अक्सिजन दिनुपर्ने बाध्यता हट्छ।
काउन्सिलले सुझाव दिए पनि नेपाल सोसाइटी अफ क्रिटिकल केयर सोसाइटीका चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असहयोगका कारण उत्पादनका लागि उद्योग मन्त्रालयबाट अनुमति दिने काममा अवरोध भएको पाइला टेक्नोलोजीका सह–संस्थापक कसजु बताउँछन्।
“हामीलाई क्रिटिकल केयर सोसाइटीका चिकित्सक र स्वास्थ्य मन्त्रालयबाट सहयोग नहुँदा उत्पादनको काम अगाडि बढ्न नसकेको हो”, कसजु भन्छन्।
उनका अनुसार, स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालमा बनेका स्वास्थ्य सामग्रीलाई अनुमति दिनेसम्बन्धी कानून नभएको भन्दै अनुमति दिन कठिन भएको बताएका थिए।
नेपाल सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. हेम पनेरुले उक्त उपकरण कोरोनाका सिकिस्त बिरामी (एआरडीएस भएका) लाई लामो समयसम्म प्रयोग गरियो भने बिरामी नै नबाँच्ने भएकाले आफूले मेडिकल काउन्सिलको प्रतिवेदनमा आपत्ति जनाएको बताए। यो उपकरण बनाउने बेला सुरक्षाका सवालमा धेरै सम्झौता गरिएको उनको आरोप छ।
“यसलाई इमर्जेन्सीमा बढीमा आधा घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ”, डा. पनेरु भन्छन्, “तर आईसीयूमा रहेका बिरामीमा लामो समयसम्म प्रयोग गर्न मिल्दैन।”
त्यसो भए काउन्सिलका अधिकांश चिकित्सकले किन यो उपकरण उत्पादनका लागि अनुमति दिए त भन्ने प्रश्नमा डा. पनेरुले भने, “उनीहरुमध्येका अधिकांश चिकित्सक क्रिटिकल केयरका होइनन्।”
के हो अटोमेटिक रिससीटेटर ?
कोरोना संक्रमित व्यक्तिलाई एम्बुलेन्समा राखेर एक ठाउँबाट अर्को ठाउँमा लैजान अक्सिजन चाहिन्छ। त्यस्ता बिरामीलाई एम्बुलेन्समा लैजान एम्बु ब्यागलाई थिचेर अक्सिजन दिनुपर्ने बाध्यता छ।
तर, अटोमेटिक रिससीटेटरमार्फत बिरामीलाई स्वचालित रुपमा अक्सिजन मिश्रित हावा दिन सकिने पाइला टेक्नोलोजीले जनाएको छ। यो उपकरणलाई प्रयोगमा ल्याउन सके अक्सिजन चाहिएका कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर लैजाँदा एम्बु ब्याग थिचेर अक्सिजन दिनुपर्ने बाध्यता हट्छ।
यस्तै, भेन्टिलेटरको अभाव भएको ठाउँमा आपतकालीन अवस्थामा कोरोना संक्रमितलाई अक्सिजन दिन पनि यो उपकरणको प्रयोग गर्न सकिने पाइला टेक्नोलोजीले जनाएको छ।
मुुलुकका अधिकांश ग्रामीण क्षेत्रमा भेन्टिलेटरसहितको उपचार गर्ने सेवा पुग्न सकेको छैन। यस्ता ठाउँमा पनि पाइला टेक्नोलोजीले बनाएको अटोमेटिक रिससीटेटर प्रयोग गर्न सकिने संक्रामक तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन्।
पाइला टेक्नोलोजीका अनुसार, अहिले बजारमा एउटा भेन्टिलेटरको करीब रु.२० लाख पर्ने गरेकामा यो अटोमेटिक रिससीटेटर एक थानको करीब रु. १ लाख पर्छ।
डा. अधिकारी अहिले भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेका कारण यस्तो समस्या कम गर्न अटोमेटिक रिससीटेटर उपयोगमा आउने भएकाले सरकारले उत्पादनको अनुमति दिनुपर्ने बताउँछन्।
उनी भन्छन्, “सरकारले उत्पादनका लागि अनुमति दिए मुलुकभित्रै कोरोनाका सिकिस्त बिरामीले राहत पाउने त छँदैछ, अन्य मुलुकमा पनि उपकरण निर्यात गर्न सकिन्छ।”
कानूनको अभावले विदेशबाट भेन्टिलेटर बनाउँदै
डा. अधिकारीका अनुसार, नेपालमा औषधिजन्य सामग्रीको उत्पादन अनुमति र नियमन गर्ने अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) जस्तो नियामक निकाय छैन। जसका कारण पनि उत्पादनको अनुमति पाउन कठिनाइ भएको हो।
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी पनि नेपालमा एफडीए जस्ता निकायको आवश्यकता महसूस भएको र सरकारले यस्ता निकाय बनाउन गृहकार्य थाल्नुपर्ने बताउँछन्।
पाइला टेक्नोलोजीले स्वदेशमै अटोमेटिक रिससीटेटर उत्पादनका लागि अनुमति नपाएपछि पाइला भेन्ट नामको भेन्टिलेटर अमेरिकाको एक कम्पनीसँग मिलेर चीनबाट उत्पादन शुरु गर्दैछ। त्यसका लागि उनीहरूले उपकरणको प्रोटोटाइप समेत तयार पारिसकेका छन्।
पाइला टेक्नोलोजीका सह–संस्थापक कसजु सरकारी असहयोग र नेपालमा स्वास्थ्य सामग्रीको उत्पादन सम्बन्धी कानून नहुँदा आफूहरू जस्ता नव उद्यमीहरुलाई काम गर्न गाह्रो भएको बताउँछन्।
उनी भन्छन्, “स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री उत्पादन गर्न दिने सम्बन्धमा नियमावली नबनाएका कारण हामीले विदेशबाट भेन्टिलेटर बनाउनुपर्ने भएको छ।”