नेपालमा बनेको भेन्टिलेटरको ‘सफल परीक्षण’
रोबोट उत्पादक नेपाली कम्पनी पाइला टेक्नोलोजीले मुलुकमा पहिलो पटक बनाएको भेन्टिलेटरको परीक्षण सफल भएको छ ।
बुधबार कम्पनीले धुलीखेल अस्पतालमार्फत् भेन्टिलेटरको परीक्षण गरेको थियो । धुलिखेल अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. संगीना रन्जितले बुधबार गरिएको भेन्टिलेटरको परीक्षण सफल भएको बताइन् । डा. रञ्जित भन्छिन्, “नयाँ भेन्टिलेटरलाई हामीले चलाइरहेको भेन्टिलेटरको पारामिटरसँग जाँचेर हेर्दा मिलेको पाइएको हो ।”
भेन्टिलेटर बनाउने टोलीमा संलग्न पाइलाका प्रमुख टेक्निकल इञ्जिनियर रविन गिरी नयाँ बनेको भेन्टिलेटरलाई धुलिखेल अस्पतालमा रहेको युरोपियन स्ट्याण्डर्डको भेन्टिलेटरसँग तुलना गर्दा सूचकहरु मिलेको पाइएको बताउँछन् । गिरी परीक्षण सफल भएको भेन्टिलेटरलाई बिहीबार नेपाली सेनाका विज्ञहरुलाई देखाउने काम भइरहेको बताए ।
गिरीका अनुसार, सेनाका विज्ञहरुले उपकरणबारे थप चेकजाँच गर्नेछन् । “यदि सरकारले बनाउनु अनुमति दियो भने हामीले तत्काल उत्पादन थाल्थ्यौं" उनी भन्छन्, “तर त्यसका लागि माग पनि आउनु पर्याे।”
सरकारी स्तरमा भने अहिलेसम्म स्वास्थ्य उपचार तथा जाँचमा प्रयोग हुने स्वास्थ्य सामग्री जाँच्ने कुनै निकाय छैन । विज्ञहरु मुलुकभित्र कोभिड–१९ को महामारी बढ्दै गए संक्रमितको उपचारका लागि भेन्टिलेटर जस्ता सामग्री चाहिने बताउँछन् । मुलुकभित्र उत्पादित स्वास्थ्य सामग्रीको गुणस्तर जाँच्न सरकारले छुट्टै निकाय बनाउन अत्यावश्यक भएको उनीहरुको भनाइ छ ।