दुई प्रहरीको हत्यासँग जोडिएको केराउको कथा
कैलालीमा भएको दुई जना प्रहरीको हत्याले देखाउँछ, तेस्रो मुलुकबाट नेपाल हुँदै भारततर्फ भइरहेको केराउको तस्करीले सीमाक्षेत्रमा गम्भीर अपराध समेत निम्त्याउन थालिसकेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद १ असारमा तस्करको आक्रमणमा मारिए।
सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीका अनुसार सीमा क्षेत्रमा तस्करी रोक्न गएका उनीहरुलाई तस्करको समूहले घेराबन्दीमा पारेर मारेका हुन्। घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाहरुले दिएको बयान अनुसार दुई वटा बयल गाडामा २५ क्विन्टल केराउ उक्त नाकाबाट भारततर्फ जाँदै थियो।
भन्सार छलेर अवैध रुपमा भारततर्फ लैजान लागिएको उक्त केराउ रोक्न खोज्दा अवैध कारोबारमा संलग्नहरुको आक्रमणमा परेर प्रहरी मारिन पुगे।
केराउको गैरकानूनी निर्यात
प्रहरीकै हत्या हुने गरी भएको केराउको यो तस्करी नेपालबाट भारततर्फ मात्र भइरहे जस्तो देखिए पनि यसमा अमेरिका, क्यानडा, यूक्रेन, रसिया लगायत सात समुद्रपारका देशहरूसमेत जोडिन्छन्। यी देशबाट केराउ ल्याएर भारततर्फ तस्करी गर्ने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार, नेपालमा तेस्रो मुलुकबाट हुने केराउको आयात पनि पछिल्ला वर्षमा ह्यात्तै बढेको देखिन्छ। यसरी नेपालमा आयात भएको केराउ यहीं खपत भने हुँदैन। विभिन्न नाकाबाट तस्करी गरेर उक्त केराउ भारतीय बजारमा पुर्याइन्छ। भन्सार विभागका अनुसार, आर्थिक बर्ष २०७६/७७ मा अमेरिका, रसिया, क्यानडा अष्टेलिया, चीन, युक्रेन र यूएईबाट रु १० अर्ब ५२ करोड २३ लाख बराबरको २२ लाख ६७ हजार ५६२ क्विन्टल केराउ नेपाल आयात भएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा रु ४ अर्ब ७३ करोड २८ लाख ८२ हजार मूल्य बराबरको ११ लाख ३९ हजार ५६ लाख ५७१ केजी केराउ आयात भएको थियो। २०७४/७५ मा रु १ अर्ब ६८ करोड २८ लाख ६३ हजार मूल्य बराबरको ४ लाख १७ हजार २०८ क्वीन्टल केराउ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
विभागको तथ्याङ्कमा आव २०७७/७८ को पछिल्लो तीन महीनामा रु. ९ करोड ५१ लाख २७ हजार मूल्य बराबरको १९ हजार क्वीन्टल केराउ आयात भएको देखिन्छ।
भारतले केराउ आयातमा उच्च दरको भन्सार लगाएका कारण सीधै भारत आयात नगरेर नेपालको बाटो हुँदै तस्करहरूले भारत पुर्याउने गरेका छन्।
भारतले केराउ आयातमा उच्च दरको भन्सार लगाएका कारण सीधै भारत आयात नगरेर नेपालको बाटो हुँदै तस्करहरूले भारत पुर्याउने गरेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीका भनाइमा नेपाल र भारतबीच कृषिजन्य वस्तुहरुको आयात-निर्यातमा भन्सार लाग्दैन। त्यस्ता कृषिजन्य वस्तुहरु अन्य देशबाट नेपालमा आयात गर्दा लाग्ने भन्सारमूल्य पनि ८ प्रतिशत मात्र छ। उदाहरणका लागि क्यानडाबाट भारतमा केराउ ल्याउँदा न्यूनतम २५ प्रतिशत भन्सार महशुल बुझाउनुपर्छ। तर, त्यही केराउ नेपाल ल्याउँदा ८ प्रतिशत तिरे पुग्छ। त्यसकारण व्यापारीहरुले नेपालमा केराउ आयात गरेर त्यही केराउ चोर बाटोबाट भारत निकासी गर्छन्।
“नेपाल र भारतबीच भएको सम्झौता अनुसार कृषिजन्य वस्तु आयात गर्दा भन्सार लाग्दैन। तेस्रो मुलुकबाट सामान ल्याउँदा पनि नेपालले लिने भन्सार दर पनि न्यून छ,” मन्त्रालयका ती अधिकारी भन्छन् “तेस्रो मुलुकबाट नेपाल ल्याइएका कृषिजन्य वस्तुमा ३० प्रतिशत भ्यालु एड गरेर वैधानिक तरिकाले निकासी गर्दा कुनै समस्या हुँदैनथ्यो। तर व्यापरीले जस्तो ल्यायो त्यस्तै भारत पठाउने गरेकाले तस्करी गर्न पुग्छन्।”
नेपालका लागि आयात हुने केराउ भ्यालू एडविना नै भारत पुग्ने गरेका कारण नेपाल भारतबीच हुने वाणिज्य वार्ताका क्रममा भारतले यो विषय उठाइरहने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी बताउँछन्। “द्विपक्षीय बैठकमा उनीहरूको प्रमुख चासो सधैं यही हुन्छ। हामीले नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँछौंं,” ती अधिकारी भन्छन्।
बढ्दो अपराध
नेपालको नाममा आयात गरी व्यापारीले अवैध बाटोबाट वस्तुहरु भारत निकासी गर्दा त्यसले अपराध समेत बढाउँदै लगेको देखिन्छ। शनिबार कैलालीमा दुई जना प्रहरीको ज्यान जाने गरी भएको घटना एक उदाहरण मात्र हो।
गएको चैतदेखि भदौसम्म झापादेखि कपिलवस्तुसम्म सशस्त्र प्रहरीमाथि भएका आक्रमणका घटना यस्तै गैरकानूनी आयात निर्यातसँग जोडिएका छन्। तराईको जिल्लामा कार्यरत एक सशस्त्र प्रहरी उपरीक्षकका भनाइमा गैरकानूनी काम नियन्त्रणको प्रयास गर्नेबित्तिकै प्रहरीमाथि आक्रमण भइहाल्छ। “एक दुई जना मात्रै भेटे भने घेरा हालेर आक्रमण गरिहाल्छन्,” ती प्रहरी उपरीक्षक भन्छन्।
गएको चैतदेखि भदौसम्म झापादेखि कपिलवस्तुसम्म सशस्त्र प्रहरीमाथि भएका आक्रमणका घटना यस्तै गैरकानूनी आयात निर्यातसँग जोडिएका छन्। तराईको जिल्लामा कार्यरत एक सशस्त्र प्रहरी उपरीक्षकका भनाइमा गैरकानूनी काम नियन्त्रणको प्रयास गर्नेबित्तिकै प्रहरीमाथि आक्रमण भइहाल्छ।
गएको वैशाखमा पनि नवलपरासीमा यस्तै समूहले सशस्त्र प्रहरीलाई घेरा हालेर आक्रमण गर्दा प्रहरीहरू घाइते भएका थिए। ती प्रहरी अधिकारीका भनाइमा नेपालबाट भारत केराउ तस्करी गर्ने व्यक्ति र समूहले दशगजा नजिकै गोदाम बनाएका हुन्छन्। त्यहाँसम्म केराउ ढुवानी गर्दा प्रहरीले नियन्त्रणमा लिन मिल्दैन, किनभने तेस्रो देशबाट ल्याइपुर्याएको उक्त वस्तुको सबै कानूनी कागजपत्र बनाइएको हुन्छ र प्रक्रिया पनि पूरा गरिएको हुन्छ। उक्त गोदामबाट भारत पुर्याउने बेला मात्रै प्रहरीले नियन्त्रण गर्न मिल्छ। ती प्रहरी अधिकारी भन्छन् “पक्राउ गर्नेे भनेको भारततिर लैजाँदा दशगाजाको १८ मिटर क्षेत्रमा मात्र हो।”
पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल एउटा अवैध कामले अपराधको शृंखला नै सुरु हुने र त्यसले समाजमा अरु अपराध पनि बढाउने बताउँछन्।
“गैरकानूनी र छोटो कामबाट आउने सजिलो पैसा, त्यस्तै कममा प्रयोग हुन्छ,” मल्ल भन्छन् “एउटा गैरकानूनी कामका बाई प्रोडक्ट धेरै निस्किन्छन्। सजिलो गरी आएको पैसा मदिरा, जुवा, यौनजन्य विकृतिमा प्रयोग हुन्छ। अन्य अपराधको श्रृंखलाको विकास हुन्छ।”
अवैध कारोबारीले काम मिलाउन प्रहरी कर्मचारीदेखि सरकारी कर्मचारी र राजनीतिज्ञलाई समेत मिलाउँदा सम्पूर्ण भ्रष्टाचार बढ्ने पनि मल्ल बताउँछन्।