कैलालीमा असईसहित २ प्रहरी हत्या : प्रहरीले सार्वजनिक गर्यो सात अभियुक्त
कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित् अस्थायी प्रहरी पोष्टका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्न रहेका भन्दै सात जना अभियुक्तलाई सार्वजनिक गरेको हो। तस्करहरूको समूहले योजनावद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिई घरेलु हतियार लाठी र कोदालो प्रहार गरेर हत्या गरेको अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ।
शनिबार राति करीब ८ बजेतिर असई विक र जवान साउँद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिइएकोमध्ये मध्ये सात जनाले संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनगढी-१० का ६ जना र ११ का एक जना छन्। धनगढी–६ का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना पक्राउ गरेका छन्। यस्तै, धनगढी-११ का गोपाल भनिने रामगोपाल राना पनि पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ। घटनामा अन्यको पनि संग्लनता रहेको र उनीहरूको खोजी भईरहेको कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टले बताए।
“सात जनाले आफूहरूले हत्या गरेको भन्दै बयान दिएका छन्”, मंगलबार आयोजित पत्रकार सम्मेलनमा डीएसपी विष्टले भने, “प्रहरीले उनीहरूको काममा (तस्करीमा) अवरोध गरेपछि योजनाबद्ध ढंगले नै हत्या गरेको देखिएको छ।”
भारतसँग जोडिएको जुगेडा क्षेत्रमा विगतदेखि नै चोरी-तस्करी हुँदै आएको थियो। खासगरी पछिल्लो समय तस्करहरूले नेपालबाट भारततर्फ खाने मटर तस्करी गर्दै आएका थिए। तस्करीमा केही स्थानीय बासिन्दा पनि सक्रिय रहेको सूचना पाएर असई विक र जवान साउँद उनीहरूलाई घेर्न गएका बेला उल्टै आपराधिक समूहको निसानामा परे।
असई विकलाई मारेर मोहना नदीमा फालेको अवस्थामा शव आइतबार बिहान फेला परेको थियो भने जवान साउँदको शव गाडेको अवस्थामा मंगलबार बिहान फेला पर्यो। प्रदेश प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदी र सीआईबीको टोली समेत घटनास्थल पुगेर अनुसन्धान गरेको थियो।