नेप्से लगातार बढेर १६ सय अंक माथि
शेयर बजार परिसूचक नेप्से लगातार उकालो चढ्दै १ हजार ६ सय अंक नाघेको छ । दशैंअघि कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक ८.५४ अंकले बढेर १ हजार ६०६ विन्दु पार गरेको हो।
कोभिड–१९ का कारण अरु आर्थिक क्रियाकलाप सुस्त भए पनि शेयर बजारले लगानीकर्ताहरुलाई तानिरहेको हो। एक साताको बीचमा नेप्से परिसूचकमा ४४ अंकको वृद्धि भएको छ। बिहीबार शेयर बजारमा झण्डै रु. २ अर्बको कारोबार भएको छ।
बिहीबार कारोबार भएका १८७ कम्पनीमध्ये ७४ कम्पनीका लगानीकर्ताले नाफा कमाए। जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयर मूल्य झण्डै १० प्रतिशतले बढ्यो। अपी पावर, सेन्चुरी ब्यांक, प्राइम ब्यांक लगायतका लगानीकर्ताले पनि नाफा कमाएका छन्। तर, ७४ कम्पनीको शेयर मूल्य घटेको छ।
सबैभन्दा धेरै माउन्टेन हाइड्रोका लगानीकर्ताले ३.६१ प्रतिशत घाटा व्यहोरे। रैराङ जलविद्युतका लगानीकर्ताले पनि ३ प्रतिशत नोक्सानी व्यहोरे।
बिहीबार शेयर बजारमा सबैभन्दा धेरै उत्पादनमूलक समूह ०.९७ प्रतिशत र वाणिज्य ब्यांक समूह ०.९५ प्रतिशतले बढे । तर, सबैभन्दा धेरै म्युचुअल फण्ड समूह भने ०.५६ प्रतिशतले घट्यो।