नेपालमा कोरोनाको औषधि फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु हुँदै
नेपाली औषधि कम्पनीले कोरोना संक्रमितको उपचारका लागि मुलुकमै पहिलो पटक उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायलको प्रक्रिया अगाडि बढेको छ। देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको ‘फाभिर-२००’ को ट्रायल हुन लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु गर्न प्रक्रिया अगाडि बढाएको हो। परिषद्का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीले केही प्राविधिक विषय टुङ्गिन बाँकी भएको र ती पूरा भएपछि एक/दुई दिनमा क्लिनिकल ट्रायल शुरु हुने बताएका छन्।
ज्ञवालीका अनुसार, काठमाडौंका त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, ग्रान्डी अस्पताल र गंगालाल अस्पतालबाट करीब चार सयदेखि पाँच सय बिरामीमा क्लिनिकल ट्रायल गर्ने गरी औषधि पनि पठाइएको छ।
ज्ञवालीले यी चार वटासहित देशभरका १० अस्पतालले फाभिरपिराभिरको क्लिनिकल ट्रायलका लागि रुचि देखाएको बताएका छन्। परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले फाभिरपिराभिरको तेस्रो चरणको अनुसन्धानका लागि प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। “ट्रायल शुरु गर्न हामी अन्तिम चरणमा छौं”, डा. धिमाल भन्छन्।
डा. धिमाल ट्रायलमा सहभागी हुने व्यक्तिमा कुनै क्षति पुगेमा त्यस वापतको खर्च कसले व्यहोर्ने भन्नेबारेमा स्पष्ट पारिनुपर्ने र त्यसबारेको बीमाको कागजात बुझाउनुपर्ने तथा अन्य केही प्राविधिक विषय प्रष्ट भइसकेपछि ट्रायलको काम शुरु हुने बताउँछन्।
कोरोना महामारीका बीच देउराली जनता फर्मास्यूटिकल्सले औषधि व्यवस्था विभागको अनुमतिमा विदेशका विभिन्न मुलुकमा कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको फाभिरपिराभिरको करीब ६ महीना अघि नै उत्पादन गरिसकेको थियो। तर, सरकारी संयन्त्रको ढिलासुस्तीले उत्पादित औषधि कोरोना संक्रमित बिरामीलाई प्रयोग गर्न अनुमति दिइएको थिएन।
अब यो औषधि कोरोनाको सामान्य लक्षण र लक्षण नै नदेखिएका बिरामीलाई चिकित्सकको निगरानीमा तोकिएको मापदण्ड अनुसार बिरामीको अनुमति लिएर अनुसन्धान प्रयोजनका लागि प्रयोग गरिने भएको छ।
देउराली जनता फर्मास्यूटीकल्सका सीईओ हरिभक्त शर्माले हिमालखबरसँग कुरा गर्दै सरकारी सहयोगबाट आफूहरुले महामारीका बेला नेपाली प्राविधिकले बनाएको औषधि नेपाली चिकित्सक मार्फत नेपाली बिरामीमा प्रयोग गर्न लागेको बताएका छन्।
“पहिलो पटक क्लिनिकल ट्रायलका लागि चाहिने औषधि बनाउन पाएकोमा हामी खुसी छौं”, शर्माले भने, “यो चिकित्सा विज्ञानका हिसाबले निकै महत्वपूर्ण कुरा हो।”
फाभिरपिराभिर कोरोना संक्रमितलाई दिइने एन्टीभाइरल औषधि हो। विश्वका १५ वटा मुलुकमा कोरोना संक्रमित बिरामीलाई विभिन्न अनुसन्धान तथा ट्रायलका क्रममा यो औषधि प्रयोग भइरहेको छ। फाभिरपिराभिर सन् २०१४ देखि जापानबाट भाइरल इन्फ्लुएन्जाका बिरामीलाई प्रयोग गर्न शुरु भएको थियो।