‘अनुमति पाएर कोरोनाको औषधि उत्पादन गर्यौं, तर सरकारले प्रयोगमा प्राथमिकता दिएन’
कोरोनाभाइरस संक्रमण (कोभिड–१९) महामारीबाट विश्व आक्रान्त बनिरहँदा अझैसम्म यस विरुद्धको खोपको विकास हुन सकेको छैन। संक्रमणको असर कम गर्न विभिन्न देशले उपयोगी देखिएका औषधि चलाइरहेका छन् भने विविध उपचार विधि पनि प्रयोगमा आइरहेका छन्।
नेपालमा पनि कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर जस्ता एन्टीभाइरल औषधि अनुसन्धान प्रयोजनका लागि प्रयोग भइरहेको छ। यसैबीच, औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि उपयोगी देखिएको भाइरल इन्फ्लुएन्जाका बिरामीमा प्रयोग गरिंदै आएको एन्टीभाइरल औषधि फाभिरपिराभिर उत्पादन गर्न औषधि उत्पादक कम्पनी देउराली–जनता फर्मास्यूटिकल्सलाई अनुमति दियो। अनुमति पाएपछि औषधि उत्पादनमा लागेको देउराली–जनताले ७ असोजमा विज्ञप्ति जारी गरेर ‘फाभिर-२००’ को उत्पादन गरेको सार्वजनिक जानकारी गरायो।
तर, नेपालमा आपतकालीन प्रयोजनका लागि औषधि प्रयोग गर्ने कानून नहुँदा देउराली–जनताले बनाएको यो औषधिको प्रयोग हुन पाएको छैन। स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फाभिरपिराभिर कोरोना संक्रमितमा कत्तिको प्रभावकारी हुन्छ भनेर क्लिनिकल ट्रायल गर्ने प्रक्रियामा रहेको बताएको छ। तर, अहिलेसम्म काम शुरू भएकै छैन। जापान, चीन, रुस, भारत, बाङ्लादेश लगायत थुप्रै मुलुकले कोरोना संक्रमित बिरामीहरूको उपचारमा फाभिरपिराभिर प्रयोग गरिरहँदा नेपालमा भने अनुसन्धान पनि शुरु भएको छैन।
यसै सन्दर्भमा फाभिर–२०० औषधि, यसको उत्पादन र कोरोनाका बिरामीहरूका लागि औषधिको उपलब्धताबारे देउराली–जनता फर्मास्यूटिकल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिभक्त शर्मासँग गरिएको कुराकानी:
फाभिरपिराभिर कस्तो औषधि हो?
यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा कोरोनाको भाइरल लोड घटाएर भाइरसको वृद्धिविकास रोकेर छिटै निको हुन सहयोग गर्छ। फाभिरपिराभिरले कोरोनाका माइल्ड र मोडरेट बिरामी छिटो निको भएको विश्वव्यापी तथ्यांकले देखाएको छ। त्यसैले लक्षण देखिएका सामान्य र मध्यम स्वास्थ्य जोखिम अवस्थाका बिरामीलाई तत्काल यो औषधि दिन पाइयो भने उनीहरू सिकिस्त भएर अस्पताल भर्ना हुनु पर्दैन।
यो औषधिले रुस, चीन, अमेरिका, क्यानाडा, भारत लगायत धेरै देशमा कोरोना संक्रमितलाई फाइदा पुर्याएको छ र यसको महत्व बुझेर ती देशले ठूलो परिमाणमा उत्पादन गरिरहेका छन्। केही समयअघि टर्कीले फाभिरपिराभिर प्रयोगका लागि स्वीकृति दियो। जापानले क्लिनिकल ट्रायल गरिसकेको छ। हाम्रो कम्पनीका वैज्ञानिकहरूको टोलीले पनि फाभिरपिराभिर नेपालमा बनाउन सके नेपाली जनतालाई लाभ हुन्छ भनेपछि देउराली जनताले गएको ६/७ महीनादेखि विभिन्न वैज्ञानिक तथ्यांक संकलन गरेर यो औषधि बनाउन धेरै कम्पनीसँग अनुरोध र छलफल गर्यो। तर, अहिलेको युगमा कसैले बनाएको प्रविधि अरूलाई दिन चाहँदैन। त्यसैले हाम्रो कम्पनीको आफ्नै टोलीले काम गरेर बनाएको पहिलो औषधि हो।
फाभिरपिराभिर औषधि बनाउन धेरै वैज्ञानिकको योगदान र कम्पनीको ठूलो जनशक्तिको परिश्रम परेको छ। हामीले जुन प्रत्यनबाट औषधि उत्पादन गर्न सकेका छौं, त्यही संवेदनशीलताका साथै सरकारले यसलाई विधि पुर्याएर अनुसन्धान गरेर आपतकालीन प्रयोजनको लागि प्रयोग गर्न अनुमति दियो भने नेपालमा कोरोनाका धेरै बिरामीलाई सिकिस्त हुनबाट बचाउन सकिन्छ। त्यसैले यो औषधिको छिटै क्लिनिकल ट्रायल शुरू गरौं। र, आवश्यक पर्ने बिरामीलाई चिकित्सकको परामर्श र सिफारिशमा दिन शुरु गरौं भन्ने हाम्रो सुझाव हो। हामीले यो कुरा सरकारलाई भनिरहेका पनि छौं।
फाभिरपिराभिर औषधि बनाउन धेरै वैज्ञानिकको योगदान र कम्पनीको ठूलो जनशक्तिको परिश्रम परेको छ। हामीले जुन प्रत्यनबाट औषधि उत्पादन गर्न सकेका छौं, त्यही संवेदनशीलताका साथै सरकारले यसलाई विधि पुर्याएर अनुसन्धान गरेर आपतकालीन प्रयोजनको लागि प्रयोग गर्न अनुमति दियो भने नेपालमा कोरोनाका धेरै बिरामीलाई सिकिस्त हुनबाट बचाउन सकिन्छ। त्यसैले यो औषधिको छिटै क्लिनिकल ट्रायल शुरू गरौं।
तपाईंहरूको दाबी अनुसार फाभिरपिराभिर औषधि तयार भइसकेको बुझिन्छ। संक्रमित पनि औषधिको प्रतीक्षामा छन्। तर यो औषधिमा बिरामीको पहुँच किन हुन सकेन?
आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिलाई अनुमति दिने नेपालको कानून नभएकाले औषधि व्यवस्था विभागले क्लिनिकल ट्रायल गर्न हामीलाई म्यान्डेट दिएको छ। हामीले त्यहीं म्यान्डेटका आधारमा परिषद् मार्फत क्लिनिकल ट्रायल गर्न अनुरोध गर्दा तेस्रो चरणको ट्रायल गर्नुपर्छ भन्यो। अहिले जसरी रेमडिसिभिरमा अनुुसन्धान भइरहेको छ, फाभिरपिराभिरलाई त्यो भन्दा पनि विशेष खालको अनुसन्धान गर्नुपर्ने भनेकाले हामी त्यसै अनुसारको तयारीमा लागिरहेका छौं।
नेपालमा यो औषधिको पहिलो पटक प्रयोग गर्न लागेका कारण विधि स्थापित गर्नुपर्ने भएकाले क्लिनिकल ट्रायल शुरू गर्न र प्रयोगमा ल्याउन समय लागिरहेको छ। तर, अन्य देशहरूले अनुसन्धान पनि गर्ने र आवश्यक परेका बिरामीलाई यो औषधि दिने पनि गरिरहेका छन्। समयमा सबै कुरा अगाडि बढेको भए फाभिरपिराभिर उत्पादन गर्ने नेपाल पाचौं देश हुन्थ्यो। तर, प्रक्रियामा लामो समय खर्चेका कारण आठौं देश बनेको छ।
कोरोनाले मुलुकमा निम्त्याएको त्रासदीबाट पार पाउन जसरी मानिस आतुर भइरहेका छन्, त्यस अनुसारको व्यग्रता फाभिरपिराभिरलाई बिरामीसम्म पुर्याउन किन देखिएन?
सरकारले अनुमति नदिएसम्म हामी आफैंले यो औषधि बिरामीलाई दिन मिल्दैन। सरकारले हामीलाई क्लिनिकल रिसर्चका लागि मात्र प्रयोग गर्न अनुमति दिएको छ, र अनुसन्धान शुरु भइसकेको छैन। फाभिरपिराभिर औषधिले कोभिड–१९ को भाइरसलाई कत्तिको प्रभाव पार्छ भनेर स्पेसिफिक रिसर्च गर्नुपर्छ भन्ने परिषद्को तर्क हो। त्यसलाई मानेर हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्छौं भनेका छौं। तर, परिषद्को आफ्नै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले हामीले सोचेको भन्दा बढी समय लागेको छ।
अन्य मुलुकले अभ्यास गरे जस्तै नेपालमा पनि यो औषधि क्लिनिकल ट्रायलसँगै अत्यावश्यक हुने बिरामीका लागि चिकित्सकको निगरानी र सिफारिशमा दिन सक्यौं भने धेरै संक्रमितले जटिलता भएर अस्पताल जानै नपर्ने वातावरण बनाउन सकिन्छ। नेपालमा धेरै कोरोना संक्रमितहरू सामान्य अवस्था हुँदाहुँदै मध्यम र त्यसपछि जटिल स्वास्थ्य अवस्थामा पुग्ने गरेको देखिएको छ। त्यसैले स्वास्थ्यमा जटिलता निम्तिनुअघि नै यो औषधिको प्रयोग गर्न पाइयो भने निको पार्न सकिन्छ। नेपाल सरकारले यो विषयलाई गम्भीरताका साथ हेर्नेछ भन्ने आशा गर्छु।
फाभिरपिराभिर प्रयोगको प्रक्रियामा जसरी समय गुज्रिरहेको छ, यो कत्तिको स्वाभाविक हो?
अन्य देशहरू यस्तो प्रक्रियामा गएनन्। धेरै देशहरूले आपतकालीन प्रयोगका लागि अनुमति दिए। रुसमा सबै प्रक्रिया पूरा गरेर यसको प्रयोगलाई व्यापकता दिंदै अहिले सहज रुपमा औषधि पसलमै यो औषधि किन्न पाइन्छ। यो औषधिका कारण त्यहाँ कोरोनाबाट हुने मृत्युदर घटेको भन्ने दाबी छ। भारतमा पनि यसको करौडौं ट्याब्लेट जनतालाई बिक्री गरिएको छ। त्यहाँका सबै प्रदेशहरूमा सरकारी बजेटबाट यो किनेर संक्रमितलाई खुवाइएको छ। नेपालमा पनि विधि पुर्याएर यसको आपतकालीन प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिन सरकारलाई अनुरोध गर्छु। किनकि, कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेका एन्टीभाइरल औषधिमध्ये फाभिरपिराभिर सबैभन्दा बढी सुरक्षित मानिएको छ।
अन्य मुलुकले अभ्यास गरे जस्तै नेपालमा पनि यो औषधि क्लिनिकल ट्रायलसँगै अत्यावश्यक हुने बिरामीका लागि चिकित्सकको निगरानी र सिफारिशमा दिन सक्यौं भने धेरै संक्रमितले जटिलता भएर अस्पताल जानै नपर्ने वातावरण बनाउन सकिन्छ। नेपालमा धेरै कोरोना संक्रमितहरू सामान्य अवस्था हुँदाहुँदै मध्यम र त्यसपछि जटिल स्वास्थ्य अवस्थामा पुग्ने गरेको देखिएको छ।
तपाईंले जुन आत्मविश्वासका साथ यो औषधिको बारेमा भनिरहनुभएको छ, त्यसमा विदेशमा भएका औषधिको विकासक्रमबारे जानकारी भएर हो वा देशभित्रै पनि यो औषधिले काम गरेको अनौपचारिक जानकारी तपाईंहरूसँग छ?
नेपालमा केही चिकित्सकले कोरोनाका बिरामीलाई फाभिरपिराभिर प्रयोग गर्न सिफारिश गरेका छन्। यस क्रममा यो औषधि भारतबाट ल्याएर अलिअलि प्रयोग भइरहेको छ। यस बाहेक भारत, चीन, क्यानाडा, टर्की लगायत देशको तथ्यांक हेरेर हामी उत्साहित भएका हौं। यो औषधिका बारेमा अहिले जति पनि अध्ययन प्रतिवेदन सार्वजनिक भएका छन्, त्यसले कोरोनाका बिरामीलाई शुरूआती चरणमा सेवन गर्न दियो भने भाइरसको वृद्धिविकास रोक्ने देखाएको छ। अहिले एन्टीभाइरल उपचारमा देखिएको खाडल पुर्न यो औषधि सबैभन्दा राम्रो विकल्प हो। त्यसैले हामी आशावादी छौं।
अहिलेसम्म फाभिरपिराभिरको कस्ता साइड इफेक्ट देखिएका छन्?
यसका साइड इफेक्ट भए पनि यो रेमडिसिभिरभन्दा धेरै गुणा सुरक्षित छ। जबकि, रेमडिसिभिरलाई अहिले नेपालमा अनुसन्धानसँगै कोरोनाका बिरामीमा पनि प्रयोग भइरहेको छ।
सन् २०१४ मा जापानले भाइरस इन्फ्लुएन्जाका बिरामीमा पनि फाभिरपिराभिर प्रयोग गरेको हो?
हो, सुरक्षाको मापदण्डमा जापान जस्तो सबैभन्दा माथिल्लो स्तरको देशले यो औषधी मानिसहरूमा प्रयोग गर्न सुरक्षित छ भनेर स्वीकृति दिइसकेको छ। कोरोनाभाइरस फैलिएपछि पनि धेरै मुलुकहरूमा यो फाभिरपिराभिरबारे अनुसन्धान भए, त्यसबाट यो औषधि प्रभावकारी भएको र कम साइड इफेक्ट भएको पत्ता लाग्यो। तर, यो औषधि कोरोनाका सिकिस्त बिरामीमा भने प्रयोग गर्न मिल्दैन। किनभने त्यतिबेलासम्म बिरामीलाई निमोनिया, जीवाणुको संक्रमण लगायत अरु थप संक्रमण भइसकेको हुन्छ।
इन्फ्लुएन्जाका बिरामीलाई जसरी यो औषधि दिइन्थ्यो, त्यसै गरी कोरानाका बिरामीलाई पनि दिने हो कि, यसको तरीका फरक हुन्छ?
कोरोनाका बिरामीलाई दिइने डोज इन्फ्लुएन्जाका बिरामीलाई दिइने भन्दा फरक हुन्छ। औषधि बनाउने फर्मुला चाहिं एउटै हो। किनभने इन्फ्लुएन्जा पनि कोरोना समूहमै पर्ने भाइरस हो।
फाभिरपिराभिर औषधि कोरोनाका सिकिस्त बिरामीमा भने प्रयोग गर्न मिल्दैन। किनभने त्यतिबेलासम्म बिरामीलाई निमोनिया, जीवाणुको संक्रमण लगायत अरु थप संक्रमण भइसकेको हुन्छ।
कोरोनाभाइरसको उपचारमा उपयोगी देखिएका औषधिको अहिले विश्व बजारमै अभाव देखिन्छ। तपाईंहरूले फाभिरपिराभिर बनाउन कच्चा पदार्थ कसरी जुटाउनुभयो?
नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्नुअघि नै हामीले गएको चैत महीनादेखि फाभिरपिराभिरको उत्पादन शुरू गरेका थियौं। हामीले पहिले नै औषधिको कच्चा पदार्थ ल्याएकाले त्यतिसमस्या भएन। अहिले चाहिं विश्वभर नै यसको कच्चा पदार्थको अभाव छ र महँगो पनि छ। हामीहरूले औषधिको कच्चा पदार्थको आपूर्ति व्यवस्थित गरेका छौं। अब सरकारले जनतासम्म पुर्याउन सहजीकरण गरिदिए हामीले आफ्नो तर्फबाट प्रयत्न गर्छौं। नेपालका लागि पुग्ने गरी बनाउन सक्छौं।
तपाईंहरूले उत्पादन गरेको फाभिरपिराभिर अहिलेसम्म नेपाली बिरामीहरूमा प्रयोग भएको छ कि छैन?
हामीले स्वास्थ्य अनुसन्धान परिषद्का सबै विधि र प्रक्रिया पालना गरिरहेका छौं। सरकारले स्वीकृति नदिएकाले हामीले आफ्नो उत्पादन अहिलेसम्म कोरोनाका बिरामीलाई प्रयोग गर्ने गरी वितरण गरेका छैनौं।
सरकारले विभिन्न प्रयोजनका लागि अध्यादेश ल्याइरहेको हुन्छ। यस्ता औषधिलाई प्रयोगमा ल्याउन सकिने गरी अध्यादेश ल्याउन किन नसकेको होला?
अध्यादेश ल्याएर सरकारले फाभिरपिराभिरलाई आपतकालीन प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिन सक्छ। सरकारको प्राथमिकतामा नपरेकाले अनुमति नपाएको हुन सक्छ। हामीले भारतले भन्दा पनि छिटो उत्पादन गरेको औषधि हो। तर, भारतले उत्पादन गरेर पनि व्यापक रुपमा प्रयोग गरेको छ। यहाँ भने अझैसम्म परीक्षण पनि शुरू हुन सकेन।
तपाईंको बुझाइमा प्राथमिकतामा पर्न नसक्नुको कारण के रहेछ?
नेपालमा विज्ञानलाई प्रवर्द्धन गर्ने सामाजिक दृष्टिकोण नै छैन। मुलुकमा अहिलेसम्म भाइरोलोजी विषयको इन्स्टिच्यूट नै छैन। हामीले धेरै पहिलेदेखि भाइरोलोजी र इम्युनोलोजीको इन्स्टिच्यूट खोल्न ढिलो भइसक्यो भन्दै आएका छौं। त्यस्ता संस्था भएको भए कुन औषधिले कस्तो काम गर्छ भन्ने हेरेर चाँडै अनुमति दिनुपर्छ भन्ने कुरा आउँथ्यो। अहिलेको जस्तो महामारी र प्रकोप विरलै आउँछन्। त्यसैले यस्तो बेला आपतकालीन प्रयोगका लागि कानूनी प्रावधान नभए पनि कुनै न कुनै विकल्पबाट खोल्न जरुरी छ। जतिसक्दो चाँडो यो औषधि प्रयोग गर्न दिंदा देश र जनतालाई फाइदा हुन्छ। हामीले प्रधानमन्त्रीलाई यसबारे निवेदन पठाएका छौं। तर, सम्बोधन भएको छैन।
मुलुकमा कोरोना महामारी शुरू भएपछि औषधि र स्वास्थ्य सामग्री खरीदमा जुन खालका अव्यवस्था र अनियमितता देखा परे, कतै यो औषधि त्यही सञ्जालको चंगुलमा त अड्किएको होइन?
फाभिरपिराभिर औषधिको वैज्ञानिक तथ्यबारे नेपाल सरकारका पदाधिकारीहरूको बुझाइमा कमी भएर यसको प्रयोगका लागि प्रक्रिया अगाडि नबढेको हुनसक्छ। यस्तै, हाम्रो समाजले विदेशीले बनाएर दिए सहजै स्वीकार्ने तर हामी आफैंले बनाउँदा विश्वास नगर्ने प्रवृत्ति पनि छ। विज्ञान र प्रविधिमा पछि परेको समाज भएकाले थुप्रै ठाउँमा अप्ठ्यारो महसुस गरेका छौं।
सरकारी अधिकारीहरूले कानूनको अभावले गर्दा यसको प्रयोगका लागि तत्काल स्वीकृति दिन नसकेको भन्नुभएको छ। मलाई भने वैज्ञानिक प्रणाली बुझ्ने नेपालको सामाजिक आधार एकदमै कमजोर भएकाले औषधिले स्वीकृति नपाएको भन्ने लाग्छ।
हामीले कम्पनीको सामाजिक जिम्मेवारीलाई महसुस गरेर यो औषधि बनाएका हौं। कम्पनीले स्यानिटाइजर बनाएर बेचेको भए पनि पैसा कमाउँथ्यो होला। त्यतातिर नदौडेर हामी कोरोनाको उपचारमा केन्द्रित भएर औषधि उत्पादनतिर लाग्यौं। प्रक्रिया स्वाभाविक गतिमा अगाडि नबढे पनि हामीले आफ्नो काम छोडेका छैनौं। हामी स्वास्थ्य अनुसन्धान परिषद्सँग सम्पर्कमा रहेर काम गरिरहेका छौं। औषधिको महत्वबारे सरकारका पदाधिकारीलाई बुझाउने प्रयास गरिरहेका छौं। प्रधानमन्त्रीलाई पनि यसको महत्वबारे जानकारी गराएका छौं। यसको प्रक्रिया अगाडि बढ्ला भन्नेमा आशावादी छौं।
अर्को कुरा, कोरोनाका कारण जसरी बिरामीले सरकार अस्पतालमा उपचार नपाएर निजीमा धाउँदा यस क्रममा लाखौं रकम खर्च भइरहेको छ। यो औषधि कोरोनाले निम्त्याएको ठूलो बिजनेसको कोपभाजनमा परेको हो कि?
त्यस्तो होला जस्तो मलाई लाग्दैन। त्यस्तो छ भने सरकारले नै बुझ्ला। सरकारी अधिकारीहरूले कानूनको अभावले गर्दा यसको प्रयोगका लागि तत्काल स्वीकृति दिन नसकेको भन्नुभएको छ। मलाई भने वैज्ञानिक प्रणाली बुझ्ने नेपालको सामाजिक आधार एकदमै कमजोर भएकाले औषधिले स्वीकृति नपाएको भन्ने लाग्छ। रुसका राष्ट्रतिले फाभिरपिराभिर औषधि बनाउने त्यहाँका कम्पनीका मालिकलाई दशौं पटक भेटेर छलफल गर्नुभएको छ। उहाँले यसको बारेमा पटकपटक भाषण पनि गर्नुभएको छ। जापानका प्रधानमन्त्रीले यो औषधिको बारेमा सार्वजनिक रुपमा बोल्दै आउनुभएको छ। भारतमा यो औषधि बनाउनेलाई प्रधानमन्त्रीले बोलाएर धन्यवाद दिनुभएको छ। उनीहरूले विज्ञानलाई अलि महत्व दिए। हाम्रो देशमा भने विज्ञानलाई धेरै महत्व नदिने सामाजिक चरित्र भएकाले यो औषधिबारे चासो नदिएको हुनसक्छ।
७ असोजमा तपाईंहरूले प्रेस विज्ञप्ति मार्फत यो औषधि बनाएको सार्वजनिक रूपमा थाहा दिनुभयो। सरकारलाई यसको बारेमा कहिले थाहा दिनुभएको थियो?
सरकारलाई हामीले वैशाखमै फाभिरपिराभिर औषधिको उत्पादन गर्न सकिन्छ भनेर निवेदन दिएका थियौं। जेठमा उत्पादनबारे औषधि व्यवस्था विभागमा निवेदन दिएका थियौं। त्यसपछि मन्त्रालयमा पनि यसबारे जानकारी गरायौं। हामीले निरन्तर प्रयत्न गरेको गर्यै छौं।
तपाईंहरूले वैशाखमा नै सरकारलाई दिनसक्छु भनेको यो औषधिको कति वटा देशमा प्रयोग शुरु भइसकेको थियो?
हामीले उत्पादन गर्ने भनेको समयमा चीन र जापानले उत्पादन शुरु गरेको थियो। रुसले फाभिरपिराभिर औषधिको प्रयोगका लागि अनुमति दिएपछि हामीले औषधि व्यवस्था विभागमा उत्पादन अनुमतिका लागि निवेदन दिएका थियौं। जबकि त्यही समयमा बाङ्लादेश र भारतमा पनि उत्पादनका लागि प्रक्रिया शुरु भएको थियो।
फाभिरपिराभिर औषधि सेवन गर्न कति खर्च लाग्छ?
नेपाल संसारका गरीब मुलुकमध्येको एक भएकाले हामीले सकेसम्म यो औषधि सस्तो बनाउन प्रयास गरिरहेका छौं। कोरोना संक्रमितले यो औषधि १४ दिनसम्म करीब १२२ वटा ट्याब्लेट सेवन गर्नुपर्छ। जसको रु. १२ हजार पर्छ।
हरेक देशमा यो औषधि महँगो छ। रुसमा अहिले यसको ट्याब्लेटलाई रु.८ सयसम्म पर्छ। जापानमा ४८० रुपैयाँ पर्छ भने बाङ्लादेशमा ३/४ सय रुपैयाँमा पाइन्छ। भारतमा हाम्रो तुलनामा दुई गुणा जति महँगोमा पनि बिक्री भइरहेको छ।