‘बाघ तस्कर’ कुन्जोकलाई छुटाउन दशैंको बेला सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट
बाघका अंग तस्करीको अभियोगमा पक्राउ परेपछि थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा दिएको निवेदनको सुनुवाइ बारम्बार स्थगित गरेका कुन्जोक छिरिङ तामाङ बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
बाघका अंगको अवैध व्यापारमा संलग्नको अभियोगमा पुर्पक्षका लागि रसुवा कारागारमा रहेका कुन्जोक छिरिङ तामाङले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन्।
१६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो। तामाङ त्यसै घटनाका मुख्य अभियुक्त हुन्। रसुवामा सेनाले बरामद गरेको उक्त घटना नेपालको इतिहासमै वन्यजन्तुको अपराधसँग सम्बन्धित ठूलोमध्येको घटना हो।
त्यसयता निरन्तर प्रहरीको खोजी सूचीमा रहेका कुन्जोकलाई ११ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेको थियो। त्यसपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएकोमा निकुञ्जले कुन्जोकलाई रसुवा जिल्ला अदालतमा मुद्दा चलाएको थियो।
जिल्ला अदालतले १४ असारमा उनलाई पुर्पक्षका लागि थुनामा पठायो। त्यस विरुद्ध कुन्जोकले उच्च अदालत पाटनमा निवेदन दिएर आफू थुनामुक्त हुनुपर्ने माग गरेका थिए। ३० असारमा उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईले कुन्जोकलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशको फाइल मगाउने आदेश दिएका थिए। तर, त्यसपछिका पेशीहरु भने कुन्जोकका वकीलहरुले नै स्थगित गरेकाले सुनुवाइ हुन पाएन। अहिले कोभिड–१९ का कारण पाटनमा सुनुवाइ प्रभावित भएको छ।
३ कात्तिकमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको इजलासले कुन्जोकको निवेदनमाथि सुनुवाइ गर्दै तीन दिनभित्र उनलाई थुनामा राख्नुको कारण पठाउन रसुवा जिल्ला अदालत, सीआईबी र कारागार कार्यालय धुन्चेलाई आदेश दिएको छ।
यही बेला कुन्जोकले २ कात्तिकमा बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका छन्। “जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा दिएको निवेदनको सुनुवाइ धेरै पटक आफैंले रोकेर अहिले सर्वोच्च अदालत गएको थाहा पायौं”, उच्च सरकारी वकील कार्यालयका एक जना सरकारी वकीलले भने, “उच्च अदालतबाट आदेश आएपछि त्यस विरुद्ध सर्वोच्चमा जानु नियमित प्रक्रिया हुनेथियो, यताको सुनुवाइ स्थगित गरी एकाएक सर्वोच्च पुगेछन्।”
३ कात्तिकमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको इजलासले कुन्जोकको निवेदनमाथि सुनुवाइ गर्दै तीन दिनभित्र उनलाई थुनामा राख्नुको कारण पठाउन रसुवा जिल्ला अदालत, सीआईबी र कारागार कार्यालय धुन्चेलाई आदेश दिएको छ।
आफू थुनामुक्त हुनुपर्ने मागसहित दिएको निवेदनमा कुन्जोकले २०६२ सालको ‘सिजर्स’मा जोडिएको कुन्जोक लामा भनिने व्यक्ति आफू नभएको दाबी गरेका छन्।
उक्त घटनामा समातिएकाहरूको मुद्दा राष्ट्रिय निकुञ्ज, तत्कालीन पुनरावेदन अदालत पाटन हुँदै सर्वोच्च अदालतमा पुग्यो। वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्नको आरोप लागेका पाँच जनामध्ये मिङमार छिरिङ तामाङ, टासी छिरिङ भनिने छेवाङ उटुक लामा र कारसाङ भन्ने रिसाङ लामालाई सात वर्ष कैद र रु. एक लाख जरिवाना भयो। उनीहरूका सहयोगीको रूपमा बलराम श्रेष्ठलाई पाँच वर्ष कैद भयो भने घटना भएको घरका धनी थोप्तेन तामाङले सफाइ पाए।
यी अभियुक्तहरुले उक्त घटनामा कुन्जोक लामा र निटुप लामा मुख्य अभियुक्तको रुपमा रहेको बताएका थिए र उनीहरुले प्रयोग गर्ने मोबाइल नम्बर पनि उपलब्ध गराएका थिए। प्रहरीले १५ वर्षपछि गत असारमा कुन्जोकलाई सोही नम्बरसँगै पक्राउ गरेको हो। उक्त घटनाका प्रतिवादीले पोल लगाएको कुन्जोक लामा भन्ने व्यक्ति आफू नभएको तथा आफू कुन्जोक छिरिङ तामाङ विरुद्ध कुनै मुद्दा नरहेकाले थुनामुक्त हुन पाउनुपर्ने उनले दाबी गरेका छन्।
तर, प्रहरीले कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ भन्ने व्यक्ति एउटै भएको दाबी गरेको छ। कुन्जोक छिरिङ तामाङले १६ वर्षदेखि प्रयोग गर्दै आएको नेपाली पोष्टपेड नम्बर र उनले प्रयोग गर्ने अर्को भारतीय मोबाइल नम्बरहरुसँग नियमित रुपमा वन्यजन्तु तस्करीमा मुछिएका व्यक्तिहरुको सम्पर्क पनि प्रहरीले स्थापित गरेको छ।
कुन्जोकले घटनाका प्रतिवादीले पोल लगाएको कुन्जोक लामा भन्ने व्यक्ति आफू नभएको तथा आफू कुन्जोक छिरिङ तामाङ विरुद्ध कुनै मुद्दा नरहेकाले थुनामुक्त हुन पाउनुपर्ने दाबी गरेका छन्। तर, प्रहरीले कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ भन्ने व्यक्ति एउटै भएको दाबी गर्दै तामाङले १६ वर्षदेखि प्रयोग गर्दै आएको नेपाली पोष्टपेड नम्बर र उनले प्रयोग गर्ने अर्को भारतीय मोबाइल नम्बरहरुसँग नियमित रुपमा वन्यजन्तु तस्करीमा मुछिएका व्यक्तिहरुको सम्पर्क पनि स्थापित गरेको छ।
भारतीय प्रहरीबाट प्राप्त गरी सीआईबीले उच्च अदालत पाटनमा बुझाएका कागजपत्र हिमालखबरले प्राप्त गरेको छ। जसलाई केलाउँदा भारतको मध्यप्रदेशस्थित सोहागपुर जिल्ला अदालतले ‘एरेष्ट वारेन्ट’ जारी गरेपछि इन्टरपोलका खोजी सूचीमा रहेका सितार तामाङ, धार्के लामा र जय तामाङसँग कुन्जोकको सम्बन्ध देखिन्छ।
नेपालको सर्वोच्च अदालतबाट बाघका अंग अवैध व्यापारमा संलग्नता पुष्टि भई सात वर्ष कैद सजाय काटेका टासी छिरिङ भनिने छेवाङ उटुक लामासँग पनि उनको सम्बन्ध देखिन्छ।
टासी छिरिङ २०६२ को ‘सिजर्स’ मा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्। भारतका ठूल्ठूला ‘सिजर्स’ मा मुछिएका टासी विरुद्ध पनि अहिले भारतीय प्रहरीको आग्रहमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।
त्यस्तै, २०६२ को ‘सिजर्स’ मा मुछिएका व्यक्तिहरुले कुन्जोकसँगै पोल लगाएका निटुप लामालाई आफूले राम्ररी चिन्छु भनी निटुपका पाँच वटा तस्वीरलाई सँगै राखी कुन्जोकले सनाखत गरिदिएका छन्। प्रहरीले उच्च अदालतमा पेश गरेको प्रमाणमा कुन्जोकले २०६२ सालको रसुवाको घटनामा प्रमुख भूमिका निटुपको रहेको बताउँदै हस्ताक्षर र ल्याप्चे लगाएको देखिन्छ। उनै निटुप लामा विरुद्ध पाँच दिन अघि १५ अक्टोबर २०२० मा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।
त्यस्तै, कुन्जोकको सम्बन्ध अर्का भारतीय कुख्यात अभियुक्त जय तामाङसँग पनि देखिएको छ। सन् २०१६ देखि इन्टरपोलको खोजी सूचीमा रहेका जय नेपालमा लुकिबसेको भारतीय प्रहरीले अनुमान गरेका छन्। २९ अक्टोबर २०१५ मा मध्यप्रदेशबाट पक्राउ परेका उनले प्रहरी समक्ष आफ्नो कसूर स्वीकारेका पनि थिए। तर, सोहागपुर जिल्ला अदालतले ७ नोभेम्बर २०१५ मा उनलाई धरौटीमा छाडेपछि उनी फरार छन्।
कुन्जोक विरुद्ध नेपालका अदालतमा मुद्दाको सुनुवाइ शुरु भएपछि इन्टरपोलले नेपाल प्रहरीको सीआईबीलाई पठाइदिएको कागजातमा फरार रहेका भारतीय अभियुक्तहरुसँग पनि कुन्जोकको सम्बन्ध देखिन्छ। मध्य प्रदेशको भोपालका ‘चिफ वाइल्डलाइफ वार्डेन’ ले सीआईबीलाई पत्र लेखेरै आफूहरुको ‘सर्वाधिक खोजी सूची’ मा रहेका जयसँग कुन्जोकको सम्बन्ध रहेको पाइएको खुलाएका छन्।
कुन्जोक विरुद्ध नेपालका अदालतमा मुद्दाको सुनुवाइ शुरु भएपछि इन्टरपोलले नेपाल प्रहरीको सीआईबीलाई पठाइदिएको कागजातमा फरार रहेका भारतीय अभियुक्तहरुसँग पनि कुन्जोकको सम्बन्ध देखिन्छ। मध्य प्रदेशको भोपालका ‘चिफ वाइल्डलाइफ वार्डेन’ ले सीआईबीलाई पत्र लेखेरै आफूहरुको ‘सर्वाधिक खोजी सूची’ मा रहेका जयसँग कुन्जोकको सम्बन्ध रहेको पाइएको खुलाएका छन्।
नेपाल र भारतमा कुन्जोकले प्रयोग गर्ने मोबाइल नम्बरबाट ती फरार व्यक्तिहरुको मोबाइलमा कैैयौं पटक कुराकानी भएको विवरण भारतीय प्रहरीले सीआईबीलाई उपलब्ध गराएको छ।
भारतको मध्यप्रदेश ‘स्पेशल टास्क फोर्स’ ले इन्टरपोललाई सितार, धार्के र टासीसँग कुन्जोकको सम्बन्ध रहेको जानकारी गराएको छ। ती तीनै जना विरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस पनि जारी गरिसकेको छ। भारतीय प्रहरी र इन्टरपोलले सीआईबीलाई उपलब्ध गराएका विवरणहरुमा कुन्जोक छिरिङ तामाङ नाम उल्लेख छ, उनले रसुवा घटना अगाडिदेखि प्रयोग गर्ने मोबाइल नम्बर र उनको तस्वीर पनि समावेश छ।
सीआईबीका एक अधिकृत भन्छन्, “अहिले कुन्जोकले आफूलाई जो व्यक्ति भएको दाबी गरिरहेको छ, ऊ नै वन्यजन्तुका अंगको कारोबारमा संलग्न रहेको प्रमाणित हुने कागजात अदालतमा पेश गरिसकेका छौं।”
३ कात्तिकको सर्वोच्च अदालतको सूचना ४ कात्तिकमा पाएपछि सीआईबीले आज, बुधबार घटनासँग सम्बन्धित सम्पूर्ण कागजात महान्यायाधिवक्ताको कार्यालयलाई बुझाएको छ। जसका आधारमा भोलिसम्ममा महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ दिनेछ। रसुवा जिल्ला अदालत र कारागार कार्यालय धुन्चेबाट पनि उनीहरुले सर्वोच्चको आदेशको सूचना पाएको तीन दिनभित्रमा जवाफ पठाउनेछन्। त्यसपछि सर्वोच्च अदालतले कुन्जोकले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नेछ।