कैलालीमा असईको हत्या : शंकास्पद ११ जना प्रहरीको नियन्त्रणमा
कैलालीमा प्रहरी सहायक निरीक्षक (असई)को हत्या भएको घटनामा प्रहरीले शंकास्पद ११ जनालाई नियन्त्रणमा लिएको छ।
हत्यामा संलग्न रहेको शंकामा ११ जना पुरुषलाई नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेशकुमार सिंहले हिमालखबरलाई बताए।
उनका अनुसार नियन्त्रणमा लिइएकासित सोधपुछको काम भइरहेको छ। पक्राउ पूर्जी नै माग्नुपर्ने अवस्था आए सोही अनुसार कानूनी प्रक्रिया अघि बढाइने एसएसपी सिंहले बताए।
गएराति गस्तीमा गएका बेला धनगढी उपमहानगरपालिका-१२ स्थित् अस्थायी प्रहरी पोष्ट जुगेडाका इञ्चार्ज असई गोविन्द विकको हत्या भएको हो। उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउद भने अहिले सम्पर्कविहीन छन्।
असई विकको शव मोहना नदीमा धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो। उनको हत्या भएको प्रहरीले निश्कर्ष निकालेको छ।
बेपत्ता प्रहरी जवान साउदको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको पनि हत्या भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोलीले असई विकको शव भेटिएको मोहना नदीमा खोजी गरिरहेको एसएसपी सिंहले बताए।