कैलालीमा गस्तीमा गएका असईको हत्या : तस्करबाट हत्याको आशंका, अर्का एक प्रहरी बेपत्ता
कैलालीमा एक जना प्रहरी सहायक निरीक्षक (असई)को हत्या भएको छ। धनगढी उपमहानगरपालिका–१२ स्थित् अस्थायी प्रहरी पोष्ट जुगेडाका इञ्चार्ज असई गोविन्द विकको गएराति गस्तीमा गएका बेला हत्या भएको हो। उनीसँग गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउद भने सम्पर्कविहीन छन्।
असई विकको शव मोहना नदीमा घोप्टो अवस्था भेटिएको थियो। धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेशकुमार सिंहले हिमालखबरलाई बताए।
“हत्या गरेको अवस्थामा असई गोविन्द विकको शव भेटिएको छ। उनीसँगै गस्तीमा गएका जवान रामबहादुर साउद सम्पर्कविहीन छन्। उनले प्रयोग गर्ने मोबाइल भने फेला परेको छ”, एसएसपी सिंहले भने।
जवान साउदको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको पनि हत्या भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोलीले असई विकको शव भेटिएको मोहना नदीमा खोजी गरिरहेको एसएसपी सिंहले बताए।
प्रहरीले घटनामा संलग्नहरूको खोजी गरिरहेको छ। अस्थायी प्रहरी पोष्ट रहेको जुगेडा भारतसँगको सीमावर्ती क्षेत्र हो। उक्त क्षेत्रबाट तस्करी हुने गरेको थियो। केही दिन पहिले मात्र असई विकको टोलीले तस्करी गरेर ल्याइएका सामान बरामद गरेको थियो। तस्करविरुद्ध उनि आक्राम रूपमा प्रस्तुत भइरहेका थिए।
तस्करहरूले त्यसपछि प्रहरीलाई निशाना बनाएको हुनसक्ने आशंका गरिएको छ। गएराति असई विक जवान साउदलाई मोटरसाइकलमा लिएर गस्तीमा निस्किएका थिए। असई विकको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका-९ र प्रहरी जवानको अछामको बान्नीगढी गाउँपालिका-५ रहेको प्रहरीले जनाएको छ।
एक पूर्वडीआईजी कैलाली धेरै पहिलेदेखि कसैको नजरमा नपरेको, तर त्यसबेलादेखि नै काठमाडौं र पूर्वसँग जोडिएर नेपाल तथा भारतबीच तस्करीको अखडा बनेको बताउँछन्।
“प्रहरीकै संरक्षणमा यो तस्करीको केन्द्र बनेको हो”, उनले भने, “त्यहाँ गएका कतिपय डीआईजी र एसएसपीहरूले नै यसलाई संरक्षण गरेका थिए।”