रक्षा मन्त्रालयबाट किन तानिए ईश्वर पोखरेल ? प्रम सचिवालय भन्छ- 'झन् ठूलो जिम्मेवारी दिनलाई'
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न गरेको मन्त्रिपरिषद् पुनर्गठनमा शक्तिशाली मन्त्रालयमा थपिएका नयाँ मन्त्री भन्दा जिम्मेवारी फेरबदल गरिएका पुरानै मन्त्रीको चर्चा धेरै भएको छ।
बुधबार भएको पुनर्गठनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री बनेका छन्। अर्थ मन्त्रालय आफैमा प्रधानमन्त्रीका लागि सबभन्दा महत्वपूर्ण मन्त्रालय हो। त्यसमाथि प्रधानमन्त्री ओलीले सबभन्दा रुचाएका मन्त्री युवराज खतिवडाले राजीनामा गरेपछि रिक्त भएको मन्त्रालय थियो त्यो। तर, अर्थमन्त्रीमा विष्णु पौडेलको नियुक्तिको खासै चर्चा भएन जति चर्चा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट अलग्याइएपछि भएको छ।
बुधबार गरिएको मन्त्रिपरिषद पुनर्गठनमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैले हेर्नेगरी राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारी तोकेका छन्। धेरैले यसलाई प्रधानमन्त्रीले उपप्रधानमन्त्री पोखरेललाई जिम्मेवारीविहीन तुल्याएको भनेर पनि चर्चा गरिरहेका छन्।
के प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेललाई जिम्मेवारीविहीन पार्न रक्षा मन्त्रालय आफूसँगै राख्ने निर्णय गरेका हुन्?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्पूर्ण मन्त्रालयदेखि राज्यका सबैजसो निकायहरुसँग समन्वय गर्नुपर्छ। राष्ट्रिय गौरवका आयोजना त्यहीँबाट हेरिन्छ। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, गुप्तचर संयन्त्र- राष्ट्रिय अनुसन्धान विभागलगायत पनि अहिले प्रधानमन्त्री कार्यालयमातहत छन्। यसबाहेक संघीय संरचनामा सातवटै प्रदेशका प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पनि प्रधानमन्त्री कार्यालयमा छ।
प्रधानमन्त्री ओलीनिकट स्रोत भने त्यसलाई ठाडै इन्कार गर्छ। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेललाई त्योभन्दा महत्वपूर्ण जिम्मेवारीका लागि रक्षा मन्त्रालयको भूमिकाबाट अलग गरेको ओलीनिकट स्रोतको दाबी छ।
"रक्षा मन्त्रालय आफैमा खास भूमिका केही नभएको मन्त्रालय हो, फेरि त्यो एउटा मन्त्रालय मात्र न हो", प्रधानमन्त्रीका एक सल्लाहकारले हिमालखबरसँग भने, "ईश्वर पोखरेललाई प्रधानमन्त्रीज्यूले अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै हेर्ने जिम्मेवारी दिनुभएको छ, मन्त्रिपरिषद्मा आफूभन्दा इमिडियट मुन्तिर राखेर महत्वपूर्ण मन्त्रालय, विभाग र निकायहरुसँग समन्वय गर्ने जिम्मेवारी तोक्नुभएको छ। एक किसिमले यसलाई प्रधानमन्त्रीको नै अधिकार प्रयोग गर्ने जिम्मेवारी भन्दा हुन्छ। अब यसलाई जिम्मेवारी घटाइएको भन्ने कि बढाइएको?"
उनले प्रधानमन्त्रीले हेर्नुपर्ने कैयौं जिम्मेवारी व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको र प्रधानमन्त्री ओलीको स्वास्थ्य लगायतका कारणले प्रधानमन्त्री कार्यालयबाट हुने समन्वय प्रभावकारी हुन नसकेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्नकै लागि पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिने निर्णय भएको उल्लेख गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्पूर्ण मन्त्रालयदेखि राज्यका सबैजसो निकायहरुसँग समन्वय गर्नुपर्छ। राष्ट्रिय गौरवका आयोजना त्यहीँबाट हेरिन्छ। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, गुप्तचर संयन्त्र- राष्ट्रिय अनुसन्धान विभागलगायत पनि अहिले प्रधानमन्त्री कार्यालयमातहत छन्। यसबाहेक संघीय संरचनामा सातवटै प्रदेशका प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पनि प्रधानमन्त्री कार्यालयमा छ। प्रधानमन्त्रीका ती सल्लाहकारले यी जिम्मेवारी वहन गर्न पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा ल्याउने निर्णय भएको बताए। उनले पोखरेल पहिलेभन्दा पनि शक्तिशाली बनेको दाबीसमेत गरे।
उपप्रधानमन्त्री पोखरेलले पनि आफूले पहिलेभन्दा महत्वपूर्ण जिम्मेवारी पाएको बताएका छन्। "प्रधानमन्त्रीले समय दिन नसकेकाले प्रम कार्यालयका धेरै काम अस्तव्यस्त छन्, त्यसका लागि प्रधानमन्त्रीले पहिलेदेखि नै आग्रह गर्नुभएको थियो", पोखरेललाई उद्धृत गर्दै उनीनिकट स्रोतले हिमालखबरसँग भन्यो, "हिजो रक्षा मन्त्रालय मात्र हेर्नुपर्थ्यो, अब रक्षा मन्त्रालय प्रधानमन्त्री मातहत भएपछि त्योसँगै अन्य थुप्रै महत्वपूर्ण टास्क हेर्नेगरी मैले नयाँ जिम्मेवारी पाएको छु।"
पोखरेलनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको सीमित काम छाडेर प्रधानमन्त्री कार्यालयको जिम्मेवारी हेर्न पहिलेदेखि नै आग्रह गरेका थिए। "प्रधानमन्त्री कार्यालयबाट हुने कामको अस्तव्यवस्ततालाई व्यवस्थित गर्ने, राष्ट्रिय गौरबका आयोजनाहरु हेर्ने, प्रधानमन्त्री मातहतका महत्वपूर्ण अंगहरुको सञ्चालन र समन्वय गर्ने तथा प्रदेशहरुसँगको समन्वय गर्ने लगायतका निश्चित टास्क तय गरेर यो निर्णय भएको हो", पोखरेलनिकट स्रोतले भन्यो, "एक हिसाबले भन्दा उहाँले अब छायाँ प्रधानमन्त्रीसरह काम गर्ने जिम्मेवारी पाउनुभएको छ।"