प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् हेरफेर, विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नयाँ मन्त्रिमण्डलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडललाई अर्थ मन्त्रालय र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। उक्त मन्त्रालयको जिम्मेवारी भने मन्त्रिपरिषद् विस्तारमा थपिएका लिलानाथ श्रेष्ठले पाएका छन्।
नयाँ मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको रक्षा मन्त्रालयको जिम्मेवारी खोसिएको छ। प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी तोकेका छन्।
अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ मन्त्रालयको नेतृत्व रिक्त थियो। तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले घुस मागेको अडिओ बाहिरिएपछि उनले राजीनामा दिएसँगै खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
शहरी विकास मन्त्रालय भने समाजवादी पार्टीका तर्फबाट सरकारमा रहेका मोहम्मद इस्तियाक राईले राजीनामा गरेपछि रिक्त थियो। त्यहाँ राज्यमन्त्रीका रुपमा भने रामबीर मानन्धर नियुक्त भएका थिए।
मन्त्रिपरिषदमा ठूलै हेरेफेर गर्ने तयारी भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र कुरा नमिलेकाले प्रधानमन्त्री ओलीले रिक्त रहेका मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेका हुन्। त्यसमध्ये दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ।