‘निगमको सुधार गरेर कुनै दाग नबोकी निस्किन्छु’
निजी वायुसेवा कम्पनीहरूले व्यावसायिक पखेटा विस्तार गर्दै जाँदा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम भने लगातार ओरालो यात्रामा छ। निगमको वास्तविक सम्पत्ति रु. ५४ अर्ब १७ करोड रहेकोमा यसको ऋणको भार नै रु. ४५ अर्ब ९४ करोड छ। यस्तै, आम्दानी गर्न नसक्दा संस्थाले जहाज किन्दाको ऋणको किस्ता समेत बुझाउन नसकेर दायित्व बढिरहेको छ।
घाटामा चलिरहेको निगमलाई कोरोनाभाइरस महामारीको असरले अझ धक्का दिएको छ। यही असहज परिस्थितिमा निगमको नेतृत्व डिमप्रसाद (प्रकाश) पौडेलको काँधमा आएको छ। २२ असोजमा मन्त्रिपरिषद् बैठकबाट महाप्रबन्धक नियुक्त पौडेलले निगममा देखेका चुनौती र यसलाई सामना गर्ने उनका योजनाबारे हिमालखबरका राजु बास्कोटाले गरेको संक्षिप्त कुराकानीः
रु.४६ अर्ब ऋण, ८ अर्बको किस्ता भएको संस्थाको नेतृत्व सम्हाल्नुभयो, कठिन चुनौतीमा पुग्नुभयो नि !
कठिन अवस्थामा संस्थाको नेतृत्व सम्हाल्न पुगेको पक्कै हो। यस्तो अवस्था भयो भन्दैमा कोही पनि संस्थाको नेतृत्व सम्हाल्न अगाडि नै नसर्ने भन्ने त हुँदैन। मेरो विगतको कामको पृष्ठभूमिकै आधारमा आँट गरेको हुँ। संस्थालाई अगाडि बढाउन र काम गर्न गाह्रो छ। अप्ठेरोकै बीचमा केही गर्न सक्ने आशा पनि छ।
संस्थालाई नाफामा लैजानुपर्ने, ऋण तिर्दै, किस्ता घटाउँदै जानुपर्ने र कर्मचारी व्यवस्थापन गर्नुपर्ने विषयलाई कत्तिको चुनौती ठान्नुभएको छ ?
चुनौती धेरै छन् भन्ने बुझेको छु। यी चुनौती सामाना गर्दै अगाडि बढ्न तयार छु। अहिले नै मुनाफामा लगिहाल्ने भन्दा पनि कोभिड–१९ ले विश्व अर्थतन्त्रसँगै हामीलाई कता लैजान्छ भन्नेमा भर पर्छ। मैले गर्ने कामबाट निगमलाई सुधारमा लैजान सक्छु कि सक्दिनँ भनेर अहिल्यै भन्न सक्ने अवस्था छैन। जहाज किन्न सकिएन, उडानयोग्य जहाज पर्याप्त मात्रामा भएन भने आय हुँदैन। आम्दानी नभएपछि ऋण तिर्न र नाफामा लैजान सकिंदैन। यी सबैलाई अनुकूल बनाउन सकिन्छ कि सकिंदैन भन्ने विषय अहिलेको महामारीले कस्तो अवस्था पार्छ भन्नेमा निर्भर हुन्छ। यो वर्ष नभए अर्को–अर्को वर्ष गर्दै निगमलाई मुनाफामा लैजाने अवस्थामा पुग्नेछौं।
गएको वर्ष गठन गरिएको तथा हाल निगमको अध्यक्ष रहेका सुशील घिमिरे अध्यक्ष र तपाईं सदस्य रहेको वायुसेवा निगम सुधार कार्यदलले राजनीतिक नेतृत्व हुनुहुँदैन भनेर सुझाव दिएको थियो। त्यही कार्यदलका दुवै जना निगमको नेतृत्वमा पुग्नुभयो नि!
त्यति बेला निकै मसिनो गरी अध्ययन गरेर हामीले निगमका समस्या पहिचान गरेका थियौं। त्यसैले समस्या पहिचान गरेका र सुझाव दिएकाहरुलाई नै एक पटक काम गर्ने मौका दिऊँ भनेर नेपाल सरकारले सोचेको हुनुपर्छ। राजनीतिक पृष्ठभूमि जे भए पनि निगमभित्र आउँदा व्यावसायिक हिसाबबाटै प्रवेश गरिएको छ। अब मिलेर निगमलाई कसरी सञ्चालन गर्छौं भन्ने चाहिं प्रमुख विषय हुन्छ।
तपाईंले निगमको नेतृत्वको जिम्मेवारी पाउनुमा राजनीतिक निकटता र योग्यतामध्ये कुन पाटो धेरै भूमिका छ जस्तो लाग्छ ?
मैले अहिलेसम्म कुन–कुन संस्था चलाए, शैक्षिक पृष्ठभूमि कस्तो छ, व्यवस्थापकीय क्षमता के हो भनेर एक पटक हेर्यो भने मलाई कसैले राजनीतिक मानिस भन्दैनन्। मलाई राजनीतिक मान्छे भन्यो भने अस्वीकार गर्दिनँ, तर त्यो भन्दा पनि ठूलो मेरो व्यावसायिक पृष्ठभूमि छ। त्यसैका आधारमा सरकारले यो जिम्मेवारी दिएको हो।
तीन दशक निगममै काम गरेका र अनुभवले खारिएका व्यक्ति निगममा जाँदा त सुधार गर्न नसकेर बीचैमा छाडेको देखियो, नयाँ व्यक्तिले परिवर्तन गर्न सक्छन् भन्ने आधार के छ?
यो विषय काम गर्दै जाँदा प्रमाणित हुने हो। ३०औं वर्ष काम गरेकाले सुधार्न नसक्नुमा एउटै किसिमको सोच कारण हुनसक्छ। नयाँलाई काम गर्न दिंदा केही परिवर्तन हुन्छ कि भनेर सरकारले सोचेको हुन सक्छ। यसमा मेरो खुबीले भ्याएसम्म र आवश्यक पर्दा सरकारको सहयोग लिएर निगम सुधारको काम गर्छु।
कर्मचारीको सहयोग पाउनेमा कति आशावादी हुनुहुन्छ ?
कर्मचारीको सहयोग हुन्छ भन्ने नै छ। अहिले भएका कर्मचारीमा कुशल नेतृत्वको अभाव पाएको छु। त्यो परिपूर्ति गर्न सकियो भने असहज नहोला। एक पटक विभागीय प्रमुखसँग बसेर छलफल गरिसकेको छु, उहाँहरुले सहयोगको प्रत्याभूति गराउनुभएको छ।
विगत हेर्दा निगमको नेतृत्वमा पुग्नेहरू कुनै न कुनै दाग लागेर संस्थाबाट बाहिरिएका छन्, यतातिर कत्तिको संवेदनशील हुनुहुन्छ ?
तपाईंले इंगित गरे भनेजस्तै म बेदाग निस्किनेछु। म कसैको निहित स्वार्थको लागि काम गर्दिनँ, जे गर्छु निगमको हितको लागि काम गर्छु। निगमको स्वार्थका लागि काम गर्दा कसैले दाग लगाउँछ भने त्यो दाग मलाई लगाएको हुनेछैन भन्ने गरी काम गर्नेछु।