भ्याट नतिर्नेको सूचीमा पूर्वमन्त्री गोकुल बास्कोटादेखि पत्रकार महासंघका अध्यक्षसम्म
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको नाम भ्याट नबुझाउनेको सूचीमा परेको छ। आन्तरिक राजस्व विभागका अनुसार बास्कोटा प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले २०७० सालपछि भ्याट विवरण बुझाएको छैन।
आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाउने २९ हजार ४४७ करदाताको विवरण सार्वजनिक गरेको छ। विभागले नेपालमा भ्याट प्रणाली लागू भएयता २०७५ असार मसान्तसम्मको नियमित कर विवरण पेश नगरेका करदाताको नाम अद्यावधिक गरी सार्वजनिक गरेको हो। जसमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको नाम पनि समावेश छ ।
सेक्युरिटी प्रेस खरिदका विषयमा घुस लिन लागेको आरोप लागेपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनी काभ्रेबाट निर्वाचित नेकपाका प्रतिनिधि सभा सदस्य हुन्। भ्याट विवरण नबुझाउनेको सूचिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्दप्रसाद आचार्यको नाम पनि छ। आचार्यको नाममा भ्याटमा दर्ता भएको कृष्ण सेन स्मृति प्रकाशन प्रालिले २०६७ सालपछि भ्याट बुझाएको छैन।
कानूनअनुसार कम्पनी बन्द गर्दा भ्याट विवरण पेश गरेर दर्ता खारेज गर्नुपर्छ। त्यस्तै, एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेलले पनि भ्याट बुझाएका छैनन्। २०६५ सालमा भ्याटमा दर्ता एबीसी टेलिभिजनले २०७२ सालपछि भ्याट विवरण नबुझाएको विभागले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नाम पनि भ्याट नबुझाउनेको सूचीमा छ। सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवाले डाँफे, चक्रेश्वरी, मिलेनियम र समानान्तर नामक निर्माण कम्पनीसँग गरेको साझेदारीको काममा २०७० सालपछि भ्याट विवरण पेश गरेको छैन।
निर्माण क्षेत्रमा बदनाम हरिनारायण राौनियारको पप्पु कन्स्ट्रक्सनले एमके कन्ट्रक्सनसँग गरेको साझेदारी परियोजनाको पनि २०७० पछि भ्याट विवरण बुझाएको छैन। भ्याट नतिर्नेको सूचीमा करीब १ हजार ५०० भन्दा धेरै निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनी र फर्म छन्।
जसमा नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले साझेदारी गरेको जेएच कन्स्ट्रक्सन जेभीले २०७४ सालपछिको भ्याट तिरेको छैन। शैलुङ दलचोकी निर्माण सेवा जेभीले पनि २०६६ पछिको भ्याट विवरण बुझाएको छैन। कृषि सामाग्री कम्पनीबाट रसायनिक मल ल्याउन ठेक्का पाएर मल ल्याउन नसकेका हुमनाथ कोइरालाको निकोई इन्टरप्राइजेजले पनि २०७० पछि भ्याट तिरेको छैन।
लामो समयदेखि आफ्नो कारोबारको विवरण र कर नबुझाएका करदातालाई कर बुझाउने अन्तिम मौकास्वरुप नाम सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ। अब पनि कर बुझाउन अटेर गर्नेको नाम कालोसूचीमा राखेर सम्बन्धित कम्पनी तथा फर्मलाई भ्याटबाट दर्ता खारेजीको प्रकृया अघि बढाउने विभागका सञ्चालन महाशाखा प्रमुख मुक्तिप्रसाद पाण्डेले बताए।
अहिलेसम्म करिब २ लाख ६० हजार करदाता भ्याटमा दर्ता भएका छन् । यसमध्ये २९ हजार ४४७ करदाता करिब (११.३२ प्रतिशत) को नाम विभागले कर नबुझाउने सूचिका रुपमा सार्वजनिक गरेको हो । यीमध्ये अधिकांश व्यवसाय बन्द भइसकेको अनुमान गरिएको छ ।