सौन्दर्य गुमाउँदै खप्तड
सुदूरपश्चिमको मनोरम पर्यटकीय गन्तव्य खप्तडको पुरानो स्वरूप अहिले देख्न पाइँदैन, गाईबस्तुको अनियन्त्रित चरिचरन र मिचाहा प्रजातिका वनस्पतिको कारण यहाँको सौन्दर्य हराउँदै गएको छ।
अछामको साँफेबगर नगरपालिका–१२ का धनबहादुर बोहरा (५९) ले खप्तडका पाटनमा जुत्ता खियाउन थालेको साढे चार दशक भयो। १५ वर्षको उमेरदेखि गाई–भैंसी चराउन खप्तड उक्लिने गरेका उनी पाँच वर्षयता भने यहाँको रमणीय दृश्यमा रमाउन आउने पर्यटकको भरिया बनेर आउजाउ गर्छन्।
पछिल्लो चार दशकमा बोहराले खप्तडमा धेरै परिवर्तन देखेका छन्। “पहिला त जताततै निगालै निगालो थियो, यहाँ छिर्नै गाह्रो पथ्र्यो। समयसँगै सबै मरेर सक्कियो”, बोहरा सम्झन्छन्। उनका अनुसार, फूल र फल लागेर निगालो मासिएको हो।
खप्तडमा पहिले गाईबस्तु चर्ने मस्तको घाँस पाइने गरेकोमा अहिले भने यहाँका पाटनमा मिचाहा प्रजातिका वनस्पति आएको बोहरा बताउँछन्। उनको अनुभवमा खप्तडलाई निकुञ्ज घोषणा गरेर ठाउँठाउँमा बाटो बनाएपछि यहाँको सौन्दर्य नाशिन थालेको हो।
खप्तड राष्ट्रिय निकुञ्ज २०४२ सालमा स्थापना भएको हो। डोटी, अछाम, बाजुरा र बझाङको संगमस्थल खप्तड पुग्न यी सबै जिल्लाबाट कम्तीमा तीन घण्टा हिंड्नुपर्छ।
खप्तड राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र उपाध्याय चरिचरनका कारण खप्तडको सौन्दर्य हराउँदै गएको बताउँछन्। “गाईबस्तुको चरिचरनले गर्दा बाटो बन्ने र पानी पर्दा त्यहीँबाट भल बग्न, भूक्षय हुने समस्या बढेको छ”, उनी भन्छन्, “जनतालाई उन्नत किसिमका गाईबस्तु वितरण गरेर चरिचरन पूर्णरुपमा बन्द गर्ने सोच छ।”
निकुञ्जका प्रमुख संरक्षण अधिकृत राजु घिमिरे भने चरिचरन बन्द गर्दा घाँस बढी आउने र त्यसले गर्दा झन् खप्तडका पाटनहरुको सौन्दर्य हराउने बताउँछन्। “चरिचरनका कारण गाईबस्तुको खुरले बनाएको बाटोले भू–क्षय पक्कै बढेको छ, तर चरिचरन बन्द गर्दा यहाँका पाटनको सौन्दर्य रहँदैन”, उनी भन्छन्।
खप्तडमा जेठदेखि भदौ अन्तिम सातासम्म मानिसहरूले चरिचरनका लागि गाईबस्तु लैजान्छन् र गोठ बनाउँछन्। सिजनमा यहाँ ३ हजार पशु चौपाया चरिचरन गर्छन्। खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार, अहिले पनि खप्तड क्षेत्रमा करीब २५० गोठ छन्। तर, पहिलेको तुलनामा गोठहरुको संख्या घट्दैछ।
११ वर्षसम्म उक्त निकुञ्जको प्रमुख संरक्षण अधिकृतका रुपमा काम गरेका नारायण रुपाखेती भन्छन्, “खप्तडका पाटनहरुमा भू–क्षय हुनुको कारण चरिचरन नै हो, पाटनको सौन्दर्य बचाइराख्न यहाँ चराइने पशु आधा घटाउनुपर्छ।”
मिचाहा प्रजातिका वनस्पतिको प्रकोप
खप्तड क्षेत्र प्रकृतिले सिंगारिएको रमणीय ठाउँ त हुँदै हो, जैविक विविधताको पनि खानी हो। नेपालको उच्च हिमाली क्षेत्रको प्रतिनिधित्व गर्ने खप्तडमा निकुञ्ज बन्नुअघि पाँच सयभन्दा बढी प्रजातिका जडीबुडी भएको रेकर्ड गरिएको थियो। खप्तड राष्ट्रिय निकुञ्जमा डाँफे, मुनाल र कस्तूरी समेत पाइन्छन्।
खप्तडको जैविक विविधता र वस्तुस्थिति राम्ररी बुझेका तथा निकुञ्जको पूर्व प्रमुख संरक्षण अधिकृत रुपाखेती भन्छन्, “खप्तड त जडीबुटीको भण्डार नै हो, जडीबुटी बाहेक त्यहाँ अभ्रक र मूल्यवान धातु पनि पाइन्छन्”, उनी भन्छन्।
रुपाखेतीका अनुसार, खप्तड क्षेत्रमा पछिल्लो समय तीन प्रजातिका वनस्पतिको वृद्धि भएको छ। कोसे गुलाफ र लालुपाते प्रजातिको वनस्पति पहिलाभन्दा बढी आइरहेको उनी बताउँछन्। “संरक्षित क्षेत्रमा मिचाहा प्रजातिका वनस्पति भन्न मिल्दैन। तर, गाईबस्तुले नखाने तीन प्रजातिका वनस्पति बढी देखिएका छन्”, उनी भन्छन्।
खप्तड आसामको चेरापुञ्जी जस्तै पानी परिरहने ठाउँ पनि भएको रुपाखेती बताउँछन्। बढी पानी पर्ने र गाईबस्तुको चरिचरन अधिक हुने भएकाले माटो कमजोर भएर भू–क्षय हुने गरेको उनको भनाइ छ।
निकुञ्जको प्रमुख संरक्षण अधिकृत रहेका घिमिरे भने खप्तडमा आइरहेका वनस्पति र चरिचरनको बारेमा विस्तृत अध्ययन हुन आवश्यक रहेको औंल्याउँछन्।
“झाडी बढी आएको छ र अन्य मिचाहा प्रजातिका वनस्पति पनि देखिएका छन्, यो विषयसँगै कति गाईबस्तु चरन गर्न हुने हो भन्नेबारेमा पनि अध्ययन जरुरी छ”, घिमिरे भन्छन्।