भू-स्वर्ग अर्थात् खप्तड घुम्ने माैसम (तस्वीरहरु)
सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड वरपर २२ वटा पाटन छन्। प्रकृतिप्रेमीका लागि खप्तड निकै रमाइलो छ। याे सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो।
नाम सुन्नासाथै जाउँ जाउँ लाग्छ। अर्थात् खप्तड। भूगोलका हिसाबले यो सुदूरपश्चिम प्रदेशको एउटा ठाउँ हो, खप्तड राष्ट्रिय निकुञ्जका रुपमा रहेको।
महत्वका हिसाबले यसले पाएको छ- भू-स्वर्गको उपमा। जो कोहीलाई लोभ्याउने आकर्षक गन्तव्य खप्तडलाई नेपालको स्वीट्जरल्याण्ड पनि भन्ने गरिन्छ। बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको भूभाग ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटरमा फैलिएको छ।
समुद्री सतहबाट २४०० देखि ३७०० मिटर उँचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ, १२ हजार फिट अग्लो खप्तड लेक। कुनै बेला खप्तड बाबाले ५० वर्ष तपस्या गरेको यो भूमि प्राकृतिक सुन्दरता अनि जैविक विविधताको पनि खानी हो।
खप्तड वरपर २२ वटा पाटन छन्। छिनमै घाम लाग्ने, छिनमै पानी पर्ने मौसम यहाँको विशेषता। अनि रंगीविरंगी फूलहरुले मैदान नै रंगीन गलैंचा बिछ्याए झैं देखिने। खप्तड पुग्ने धेरै बाटो भए पनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा छ। सिलगढी पुग्न पूर्व पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामान सँगै लिएर जानु बेस हुन्छ।
किनभने खप्तडमा २० जना भन्दा बढी मानिस हुने वित्तिकै खाना र बासको समस्या पर्छ। होटलको सुविधा खप्तडमा पुगिसकेको छैन। पदमार्गीहरुका लागि डोटीको झिंग्रानाको प्रवेशद्वार उपयुक्त हुन्छ। झिंग्रानाबाट ३ देखि ४ घण्टा सीधा उकालो हिंडेपछि बिचपानी पुगिन्छ। त्यहाँबाट करीब ४ देखि ५ घण्टामा खप्तड पुग्न सकिन्छ।
खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सीरसम्मको समय उपयुक्त मानिन्छ। अहिले त्यही मौसम चलिरहेको छ। शहरमा कोरोनाको महामारी फैलिइरहेका बेला बन्दाबन्दी, निषेधाज्ञा अनि यस्तै तनावमा खुम्चिनु भयो। त्यसबाट केही समयलाई भए पनि ध्यान मोड्न जाने होइन त खप्तड घुम्न?