नेकपा कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन्। दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा सदस्य शाहीलाई मंगलबार सचेतक नियुक्त गरेका हुन्।
यसअघि दलका नेता शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई सोमबार बर्खास्त गरि सचेतक सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए। मंगलबार सचेतक नियुक्त भएका शाही नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन्। उनी २०७४ को प्रदेश सभा निर्वाचनमा कालीकोट–१ बाट निर्वाचित भएका थिए।
माधव नेपाल समूहसँग भएको सहमति अनुसार मुख्यमन्त्री शाहीले सचेत नियुक्त गरेका हुन्। बहुमत सदस्यले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेका मुख्यमन्त्री शाहीले नेपाल समूहसँग सहमति गरेर सत्तासंकट टारेका छन्।
केन्द्रीय नेताहरूको पहलमा सहमति भएको हो। सहमति अनुसार दलमा सचेतकका अलावा नेपाल समूहले प्रदेश सरकारमा ३ मन्त्री पाउनेछ। यसअघि नेपाल समूहबाट प्रकाश ज्वाला मात्र मन्त्री थिए। सहमति अनुसार मुख्यमन्त्री शाहीले मंगलबार नै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समूहका प्रदेश सभा सदस्य यामलाल कँडेलको नेतृत्वमा आइतबार १८ जना सांसदले दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए। जसमा नेपाल समूहका ज्वालाबाहेक ७ जना सांसदले हस्ताक्षर गरेका थिए।पूर्वमाओवादीका ३ जना थिए।
अविश्वासको प्रस्तावपछि संसदीय दलको बैठक मंगलबारका लागि डाकिएको थियो। तर, त्यसअघि नै सोमबार दलका नेता शाहीले प्रमुख सचेतक शाहलाई कारबाही गरेका थिए। मंगलबार संसदीय दलका बहुमत सदस्यले बैठक गर्ने तयारी गरेपनि नेपाल समूह ‘ब्याक’ भएपछि बैठक बस्न सकेन। यससँगै प्रदेश सभामा कँडेल समूह अल्पमतमा परेको छ।