माधव नेपाल समूहको साथ पाएपछि टर्यो कर्णालीका मुख्यमन्त्रीको संकट, मन्त्रिमण्डल पुनर्गठन हुँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको साथ पाएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।
नेकपाका कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्य निरज आचार्य, नेकपा सुर्खेतका अध्यक्ष ध्रुब शाही, प्रदेश सभा सदस्य बिन्दमान बिष्ट लगायतका नेताहरूबीच भएको छलफलपछि नेपाल समूहले शाहीलाई नै साथ दिने सहमति भएको हो। यससँगै मुख्यमन्त्री शाहीको सत्तासंकट टरेको छ।
यसअघि संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद केन्द्रको निर्देशनपछि पछाडि हटेका छन्। आइतबार नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा हस्ताक्षर बुझाएका थिए। जसमा ३ जना पूर्वमाओवादी समूह र ७ जना नेपाल समूहका थिए।
नयाँ सहमति अनुसार अब कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। जसमा नेपाल समूहले ३ मन्त्री पाउने सहमति भएको छलफलमा सहभागी एक नेताले हिमालखबरलाई बताए। उनका अनुसार नेपाल समूहले सचेतक समेत पाउनेछ। यसअघि प्रदेश सरकारमा नेपाल समूहका एक जना मात्र मन्त्री थिए।
सहमतिपछि नेपाल समूह प्रदेश सभा सदस्य यामलाल कँडेल समूहले गर्न लागेको संसदीय दलका बहुमत सदस्यको बैठकमा सहभागी भएको छैन। मंगलबार दिउँसो दलको कार्यालय वीरेन्द्रनगरमा बैठक बोलाइएको थियो।
अविश्वास प्रस्तावको नेतृत्व गरेका प्रदेश सभा सदस्य कँडेल नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन्। नेपाल पक्षले शाहीलाई साथ दिएपछि कँडेल समूह प्रदेश सभा संसदीय दलमा अल्पमतमा परेको छ।