मन्त्रालयसँगै छैन आइसोलेसनमा बसिरहेकाहरूको पूर्ण विवरण, कसरी होला कोरोना नियन्त्रण ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुुसार मुलुकमा कोरोना संक्रमित हुनेहरूको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबारसम्ममा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ, भने ६३६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै मुलुकमा कोरोनाका कारण एकै पटक २२ जनाको कोरोना संक्रमणका कारण मृृत्यु भएको छ।
मुलुकमा पछिल्ला दिनहरूमा कोरोना संक्रमित बढेसँगै सबैजसो अस्पताल भरिएका छन्, र कोरोना संक्रमितहरू अहिले घरमै साइसोलेसनमा बस्नुपर्ने बाध्यता छ। कोरोनाका सिकिस्त बिरामीले समेत अस्पतालको वेड पाउन नसकेका कारण ज्यान गुमाउनु परेको छ।
स्वास्थ्य मन्त्रालयको २५ असोजसम्मको तथ्यांक अनुसार मुलुकभर १३ हजार ६४९ संक्रमित संस्थागत र १७ हजार ६६६ संक्रमित घरमै आइसोलेसनमा छन्।
संस्थागत आइसोलेसनमा बसिरहेकाहरूमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ९ हजार ३०८ र सबैभन्दा कम सुदूरपश्चिममा १५३ छन्। यस्तै, होम आइसोलेसनमा बसिरहेका १७ हजार ६६६ संक्रमितमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ११ हजार ५२१ जना छन्। यो तथ्यांक अनुसार देशभर होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरूमध्ये ६५.२१ प्रतिशत वागमती प्रदेशमा रहेको देखिन्छ।
होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या सबैभन्दा कम कर्णाली प्रदेशमा ४२३ छ। स्वास्थ्य मन्त्रालयका अनुसार होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या प्रदेश–१ मा २ हजार १८७, प्रदेश–२ मा ५३४, गण्डकी प्रदेशमा ५८०, लुम्बिनी प्रदेशमा १ हजार ८४७ र सुदूरपश्चिम प्रदेशमा ५७१ छ।
तर स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारलगायतका निकायले कोरोना संक्रमित संस्थागत आइसोलेसनमा भएको वा घरमै आइसोलेसनमा भएको भनेर आधिकारीक तथ्याकं राख्न सकेको देखिदैन।
स्वास्थ्य मन्त्रालयले केका आधारमा घरमै वा संस्थागत आइसोलेसनमा बसिरहेकाहरूको तथ्यांक राखेको छ त ?
स्वास्थ्य मन्त्रालयले घरमा र संस्थागत रुपमा आइसोलेसनमा बसिरहेकाहरूको तथ्यांक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)बाट लिने गरेको छ। स्थानीय तहहरूले प्रदेश सरकार र प्रदेश सरकारले उक्त विवरण इडसीसीडीलाई बुझाउनुपर्ने व्यवस्था छ। यहीँ व्यवस्था अनुसार आएका तथ्यांकका आधारमा मन्त्रायले घर र संस्थागत आइसोलेसनमा बसिरहेकाहरूको तथ्यांक सार्वजनिक गर्ने गरेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी बताउँछन्। कतिपय तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयहरूबाट पनि रिपोर्टिङ भएर आउने गरेको डा. अधिकारीको भनाइ छ।
“सरकारी वा निजी जुनसुकै प्रयोगशालाबाट कोरोना परीक्षण गरेको भएपनि पोजिटिभ देखिएकाहरूको फोन नम्बरसहितको विवरण सम्बन्धित प्रयोगशालाले काठमाडौंको हकमा इडीसीडी र बाहिरका जिल्लाको हकमा सम्बन्धित प्रदेशमा पठाउनुपर्छ”, उनी भन्छन्। यसपछि संक्रमित व्यक्ति कहाँ छन् भनेर पत्ता लगाउने र त्यसका आधारमा कन्ट्याक्ट ट्रेसिङ गर्ने काम इडीसीडी र स्थानीय तहहरूले गर्नुपर्ने डा. अधिकारी बताउँछन्।
तर, पछिल्ला दिनहरूमा कोरोना संक्रमितहरूको संख्या बढ्न थालेसँगै स्थानीय तह, इडीसीडी र स्वास्थ्य मन्त्रालयले उनीहरू घरमा वा संस्थागत आइसोेलेसन कहाँ बसिरहेका छन् भन्ने बारेको पूर्व विवरण राख्न सकेका छैनन्। अहिले कारोना संक्रमण होटलमा आइसोलेसनमा बस्नेहरूको संख्या पनि बढ्दो छ। यसरी होटलमा बस्नेहरूलाई मन्त्रालयले पहिचान गर्न सकेको छैन। सरकारले होटलमा बसिरहेका अधिकांश कोरोना संक्रमितहरू कहाँ छन्, भन्ने बारेको आधिकारिक विवरण राख्न सकेको छैन।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारी संक्रमितहरू कहाँ बसिरहेका छन्, भन्ने बारेको विवरण कहिँ कतै गल्ती हुनसक्ने बताउँछन्। आफैंले पैसा तिरेर होटलमा बस्नेहरूको विवरण टोल र वडाहरूबाट प्रष्टरूपमा आउन नसक्दा उनीहरूलाई घरमै आइसोलेसनमा बसेको मानेर विवरण राख्ने गरिएको छ। उनले वडाको सिफारिस विना होटलमा बस्नेहरूको तथ्यांक आफूहरूसँग नहुने बताए।
“कोरोना संक्रमित बढेसँगै हाम्रो स्वास्थ्यको प्रणालीमा समस्या देखिएको छ। हाम्रो सबै सिस्टम कोल्याप्स भइसकेको छ,” उनी भन्छन्, “यस्तो अवस्थामा मन्त्रालय एक्लेलै व्यक्ति व्यक्तिका सूचना राख्न गाह्रो छ। संक्रमितको तथ्यांक तथा विवरण राख्न समन्वयको अभाव देखिएको छ। तर सुधार्ने ठाउँ छ।”
स्वास्थ्य मन्त्रालयले आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितको पूर्ण विवरण राख्न नसक्दा कन्ट्याक्ट ट्रेसिङको काम पनि प्रभावकारी हुनसकेको छैन।
कोरोना पोजिटिभ देखिएकालाई स्थानीय तहहरूले ५ देखि ६ दिनपछि मात्र सम्पर्क गरेर कन्ट्याक्ट ट्रेसिङका लागि आग्रह गर्ने गरेका छन्। काठमाडौंको कोटेश्वरका एक जना कोरोना संक्रमितले हिमालखबर सँग कुरा गर्दै भने, “संक्रमित भएको ६ दिनमा मलाई वडा कार्यालयबाट कन्ट्याक्ट ट्रेसिङका लागि फोन आयो। यसले घरमै आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितको बारेमा सरकारले प्रभावकारी नियमन गर्न नसकेको देखाउँछ।” उनका अनुसार उनको टोलमा भएका कतिपय कोरोना संक्रमित खुलेआम पसलहरूमा गएर सामान खरीद गर्ने गरेको र यसले संक्रमण अरूलाई सार्ने जोखिम बढाएको छ।
यसअघि सरकारले संक्रमितको सम्पर्कमा रहेका व्यक्ति तथा शंकास्पद बिरामी पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङ मोबाइल एप, वेब पोर्टल सञ्चालन र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित र शंकास्पद व्यक्ति पहिचानमा सघाउ पुग्ने भन्दै १६ चैत २०७६ देखि ‘हाम्रो स्वास्थ्य’ मोबाइल एप सञ्चालनमा ल्यायो।
सरकारकै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड–१९ संक्रमित र शंकास्पद बिरामीको सूचना संकलनमै प्रयोग गर्ने गरी मोबाइल एप ‘कोभिड एनपी’ २७ वैशाख २०७७ देखि सञ्चालनमा ल्यायो।
स्वास्थ्य मन्त्रालयले आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितको पूर्ण विवरण राख्न नसक्दा कन्ट्याक्ट ट्रेसिङको काम पनि प्रभावकारी हुन सकेको छैन।
यसअघि १७ चैत २०७६ देखि काठमाडौं महानगरपालिकाले शंकास्पद बिरामी पहिचान गर्न ‘नेपाल कोभिड १९ सर्भिलेन्स सिस्टम’ प्रविधि प्रयोगमा ल्याएको थियो। एपसहितको सुविधा भएको महानगरको यो प्रणालीमा व्यक्तिले आफूमा देखिएका स्वास्थ्य समस्या कोभिड–१९ सँग मिल्दोजुल्दो भए र नभएको हेर्न मिल्ने सुविधा भएको जानकारी गराइएको थियो।
संक्रमित र शंकास्पद बिरामीहरूको सूचना र जानकारी संकलनका लागि नेपाली सेनाले पनि कोभिड–१९ रेस्पोन्स एप नेपाल नामक मोबाइल एप १६ चैत २०७६ देखि प्रयोगमा ल्याएको थियो।
तर कोरोना संक्रमित पत्ता लगाउने र संक्रमित भइसकेका व्यक्तिबारे निगरानी राख्ने र एप लगायतका अन्य विभिन्न प्रविधिहरूको प्रभावकारि रुपमा उपयोग हुन सकेको देखिदैन। अधिकांशलाई यस्तो प्रविधि छ भन्ने बारेमा पनि जानकारी छैन।
सीसीएमसीमा रहेर काम गरिरहेका एक जना विज्ञ चिकित्सकले स्वास्थ्य मन्त्रालयले आइसोलेसनमा बसिरहेका कोरोना संक्रमित बारेमा गलत तथ्यांक राखेको बताएका छन्। उनका अनुसार स्थानीय तहहरूले पूर्ण विवरण नपठाउने र मन्त्रालयले तथ्यांक राख्ने प्रणालीलाई व्यवस्थित नबनाएका कारण यस्तो समस्या निम्तिएको हो।
“सीसीएमसीले एपमार्फत संक्रमितको बारेमा राखेको विवरणहरूलाई स्वास्थ्य मन्त्रालयले उपयोग नै गरेको छैन”, उनी भन्छन्, “महामारीको समयमा मन्त्रालयले टेलिकम्युनिकेसन प्रविधि महत्व बुझेर यसको उपयोग गर्न सकेन।”
कोरोना रोकथाम र नियन्त्रणमा दुई महत्वपूर्ण निकायबीच समन्वय नहुँदा मुलुकमा कोरोनाको जोखिम झनै बढ्ने र भविष्यमा अझै भयावहको स्थिति निम्तिने देखिएको छ।