कोभिड–१९ का शंकास्पद बिरामी र संक्रमित पत्ता लगाउन एप र वेबसाइट सञ्चालनमा
कोेभिड–१९ को संक्रमण बढीरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग नियन्त्रण र रोकथामका लागि भन्दै छुट्टै वेबसाइट र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
यसअघि भाइबर कम्युनिटी ग्रुप सञ्चालनमा ल्याएको मन्त्रालयले आइतबारदेखि छुट्टै वेबसाइट र एप सञ्चालनमा ल्याएको हो ।
वेबसाइटमा कोडिभ–१९ बाट संक्रमित, मृत्यु भएका, उपचाररत, जाँच गरिएका, आइसोलेसनमा रहेका र निको भएकाहरूको तथ्याङ्कदेखि उपचार गर्ने हब अस्पताल र रोगबाट बँच्ने उपायसहितको सुचना सामग्री राखिएको छ ।
एकिकृत रुपमा सुचना तथा जानकारि प्रदान गर्न वेबससाइट, एप लगायतको प्रविधि प्रयोगमा ल्याएको मन्त्रालयको दाबी छ ।
यस्तै ‘हाम्रो स्वास्थ्य’ एपमार्फत कोभिड–१९ को लक्षणहरू आफूलाई देखिएको स्वास्थ्य समस्याका बारेमा मिल्दोजुल्दो भए वा नभएको हेर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
काठमाडौंमा यसरी गरिदै शंकास्पद व्यक्तिको निगरानी
काठमाडौं महानगरपालिकाले पनि कोभिड–१९ का शंकास्पद बिरामी खोज्न सोमबारदेखि ‘नेपाल कोभिड १९ सर्भिलेन्स सिस्टम’ प्रविधि प्रयोगमा ल्याएको छ ।
महानगरले काठमाडौंवासीका लागि लक्षित गर्दै शंकास्पद बिरामी खोज्न एपसहितको सुविधा भएको उक्त प्रविधि प्रयोगमा ल्याएको हो ।
महानगरले १६ चैतमा उक्त प्रविधि सार्वजनिक गरेको उक्त प्रविधिलाई सुचना प्रविधिसम्बन्धी काम गर्दै आइरहेको संस्था इन्नोभेटिभ सोलुसनसहित सात वटा संस्था मिलेर बनाएका हुन् ।
सात वटा संस्थाले मिलेर बनाएको उक्त प्रविधिलाई स्वंयसेवकका रुपमा निःशुल्क काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको इन्नोभेटिभ सोलुसनका प्रबन्ध निर्देशक डा. भुषण श्रेष्ठले बताए ।
सूचना प्रविधि विशेषज्ञ समेत डा. श्रेष्ठ लगायत १५ जनाको टोलीले बनाएको ‘नेपाल कोभिड १९ सर्भिलेन्स सिस्टम’ शंकास्पद व्यक्तिको निगरानी गर्न एप लगायतको प्रविधि प्रयोगमा ल्याइएको छ ।
१० जना प्रोगामर,तथ्यांकविज्ञ, चिकित्सक, सूचना प्रविधि विज्ञ लगायतका टोली संलग्न भएर झण्डै १५ दिनमा उक्त प्रणाली बनाएका हुन् ।
शंकास्पद व्यक्ति पहिचान गर्न ‘नेपाल कोभिड १९ सर्भिलेन्स सिस्टम’ बनाउने काममा संलग्न डा. श्रेष्ठ सबै व्यक्तिले एप डाउनलोड गरेर आफूमा देखिएका स्वास्थ्य समस्या कोभिड–१९ को लक्षणसँग मिल्ने वा नमिल्ने थाहा पाउन सकिने बताउँछन् ।
उनी भन्छन्, “एपमा आफूलाई देखिएका लक्षण टाइप गरेर राखेपछि एपले अटोमेटिक दिने सूचनाका आधारमा आफू कत्तिको जोखिममा रहेको भन्ने थाहा हुन्छ ।”
व्यक्तिले १४ दिनसम्म प्रत्येक दिन तीन पटक आफ्नो स्वास्थ्य समस्या एपमार्फत अपडेट गर्नुपर्ने हुन्छ ।
लक्षणका आधारमा व्यक्ति कोभिड–१९ को संक्रमणबाट शंकास्पद भए वा नभएको बारेको सूचना चिकित्सकहरूको पहुँचमा पुग्छ ।
यदि संकास्पद भएको थाहा पाए चिकित्सकहरूले जिआईएस लोकेसनमार्फत उक्त व्यक्ति रहेको स्थान पत्ता लगाउँछन् र, जाँचका लागि स्वाबको नमुना लिन योग्य भए वा नभएको जानकारी दिन्छन् ।
यदी नमुना लिनुपर्ने भए सम्बन्धीत वडा कार्यालयले ती व्यक्तिलाई सम्पर्क गर्छ ।
अस्पतालमा नै पुर्याएर आइसोलेसनमा राख्नुपर्ने भए महानगर पालिकाले व्यक्ति भएको स्थानमा एम्बुलेन्स पठाएर ‘रेस्क्यु’ गर्ने व्यवस्था मिलाइएको छ ।
एप अङ्ग्रेजी र नेपाली दुबै भाषामा प्रयोग गर्न सक्ने सुविधा मिलाइएको छ ।
यसअघि नेपाली सेनाले पनि घर, परिवार र घिमेकमा रहेका कोेभिड–१९ भाइरस संक्रमित वा शंकास्पद व्यक्ति पत्ता लगाउन मोबाइल एप संञ्चालनमा ल्याइसकेको छ ।