फलोअपः गिटी कुटेर भाइबहिनी पाल्दै आएकी रिनाले पाइन् एक लाख ४० हजार सहयोग
बाबुआमाको मृत्युपछि एक दशकदेखि गिटी कुटेर तीन भाइबहिनीको हेरविचार गर्दै आएकी बैतडीको दशरथचन्द नगरपालिका-११ की रिना लुहारका लागि विभिन्न ठाउँबाट आर्थिक सहयोग जुट्न थालेको छ।
कोरोना संक्रमण महामारीपछि रिनाले भोग्नुपरेको कठिनाइबारे ९ असोजमा समाचार प्रकाशन भएको थियो। समाचारकै कारण विभिन्न व्यक्तिले आफूलाई सहयोग गरेको उनले बताइन्। बैतडीबाट फोन गर्दै उनले भनिन्, "समाचारबाट थाहा पायौं भनेर धेरैले सहयोग गर्नुभयो। जिल्लाकै केही व्यक्तिले घरमै आएर पैसा दिनुभयो।"
उक्त सहयोग रकम राष्ट्रिय वाणिज्य ब्यांकको बैतडी शाखामा खोलिएको खातामा राखेको र रु. १ लाख ४० हजार जति जम्मा भएको उनले बताइन्। सहयोग गर्न चाहनेले उक्त ब्यांकमा आफ्नो खाता नम्बर ४०५०१०००००००२००९ मा सहयोग गर्न सक्ने रिनाको भनाइ छ।
१२ कक्षामा अध्ययनरत १९ वर्षीया रिनाले क्याम्पस पढ्ने आफ्नो धोको भएकाले सहयोग रकम पढाइमै खर्च गर्ने बताइन्। रिना र उनकी एक बहिनी कक्षा १२ मा अध्ययनरत छन् भने भाइ कक्षा ११ र अर्की बहिनी ८ कक्षामा अध्ययनरत छन्। तर, विपन्न दलित समुदायका उनीहरुको आयस्रोत नहुँदा विद्यालय लागेको समयमा बिहान-बेलुका र बिदाको बेला दिनभर गिटी कुटेर बेच्दै घरखर्च चलाउने तथा कापीकलम किनेर पढ्दै आएका थिए।
वडाबाट तालिममा सिफारिश
रिनालाई दशरथ चन्द नगरपालिका वडा नम्बर ११ ले सामाजिक परिचालकको १० दिने तालिममा पनि पठाएको छ। उनी अहिले जिल्लाकै पाटनमा तालिम लिइरहेकी छिन्।
"समाचार आएपछि वडाध्यक्ष घरमै आउनुभएको थियो। पढ्न सहयोग गरुँला भन्नुभएको छ, अहिले तालिममा पनि सिफारिश गरेको भनेर पठाउनुभयो", रिनाले भनिन्।
वडाध्यक्ष जयदत्त पन्तले नगरपालिकाले आयोजना गरेको सामाजिक परिचालकको तालिममा वडाबाट सिफारिश गरेर पठाएको बताए। पन्तले भने, “समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सामाजिक परिचालक तयार गरेर रोस्टरमा राख्ने र उनीहरुलाई नै पछि अस्थायी वा करारमा भर्ना गरेर परिचालन गर्न तालिम दिइएको हो।”
रिनाको भाइबहिनीलाई पढाउन काठमाडौंबाट केही संस्थाले सोधेको र यसमा समन्वय गरेर सहयोग गर्ने वडाध्यक्ष पन्तले बताए।