गिटी कुटेर तीन भाइबहिनी पढाइरहेकी रिना महामारीपछि बिखर्ची, भन्छिन्- स्थानीय सरकारले सहयोग गरे हुन्थ्यो
बुवा र आमा बितेपछि दुई बहिनी र एक भाइको अभिभावकत्व सम्हालिरहेकी बैतडीको दशरथचन्द नगरपालिका-११ की रिना लुहारले गिटी कुटेर परिवार पाल्दै आएकी छिन्। तर, कोरोना संक्रमण महामारीपछि गिटी बिक्री हुन छाड्दा र उच्च शिक्षा पढ्ने समय आइरहँदा उनी अन्योलमा छिन्।
भर्खरै बालबालिकाको उमेर पार गरेर १९ वर्ष लागिन्, रिना लुहार। यति कलिलो उमेरमै उनले दुई बहिनी र एक भाइको अभिभावकको दायित्व सम्हालिरहेकी छिन्।
बैतडीको दशरथचन्द नगरपालिका-११ की रिनाको आमा र बुवा दुवै बितिसकेका छन्। आमा ११ वर्षअघि बितेकी थिइन्, त्यसको एक वर्षपछि नै बुवाको पनि मृत्यु भयो। रिनाको एउटी दिदी भए पनि विवाह भएर गइसकेकाले तीन भाइबहिनीको अभिभावक उनी नै हुन्।
बन्दाबन्दी अगाडिसम्म रिना र उनकी एक बहिनी लक्ष्मी १२ कक्षामा पढिरहेका थिए। यस्तै, भाइ प्रकाश ११ कक्षामा र कान्छी बहिनी संगीता ८ कक्षामा पढ्दैछन्।
विपन्न दलित परिवारका उनीहरू विद्यालय लागेको बेला बिहान-बेलुका गिटी कुट्छन्। त्यही गिटी बिक्री गरेर कापीकलम किन्ने र घरखर्च चलाउँदै आएका छन्। कोरोना संक्रमण महामारीपछि सबैको पढाइ बन्द भएकाले गिटी कुट्ने प्रशस्त समय छ। तर, कुटेको गिटी बिक्री भएको छैन।
रिनाले भनिन्, “गिटी कुटेर बेच्नु नै हाम्रो आम्दानीको बाटो हो। तर, यो महामारीका कारण खासै बिक्री नहुँदा समस्या भइरहेको छ।” कमाइ नहुँदा कहिले तेल नहाली तरकारी पकाउनुपर्ने र साबुनले लुगा धुन नपाइने उनको गुनासो छ।
सानो एक तले घर पनि भासिएपछि उनीहरुलाई बस्नै गाह्रो भयो। स्थानीय सरकारलाई भनेपछि रु. १८ हजार पाएको र त्यही पैसाले पुरानो घरसँगै जस्ताको छाना हालेर बसिरहेको रिनाले बताइन्।
‘पढ्न सहयोग पाए हुन्थ्यो’
रिनालाई स्नातक पढ्ने ठूलो धोको छ। पढाइप्रतिको यही चाखका कारण उनी बन्दाबन्दीले रोकिएको १२ कक्षाको परीक्षाको पर्खाइमा छिन्। परीक्षा सकिएपछि सबै साथी स्नातक तह पढ्ने कुरा गर्दा रिनाले भने आफ्नो पढाइको ढोका बन्द हुने देखेकी छिन्।
विद्यालयमा अहिलेसम्म उनीसहित भाइबहिनीले पढाइका लागि शुल्क तिर्नुपरेको छैन। तर, उच्च शिक्षाका लागि सदरमुकाम जानुपर्दा लाग्ने खर्चैखर्चको बोझ उठाउन नसक्ने उनको चिन्ता छ। सदरमुकाम धाउन दुई/तीन घण्टा लाग्छ। गाडीमा गए दैनिक आउजाउको भाडा र क्याम्पसको मासिक शुल्कले खर्च बढ्दा धान्नै गाह्रो पर्ने उनी बताउँछिन्। “गिटी कुटेर आउने पैसा पनि रोकिएको छ। क्याम्पस जान थालेपछि गिटी कुट्ने समय पनि नहोला, कसरी पढ्नु ?” उनी प्रश्न गर्छिन्।
उनलाई अब आफू र ठूलो बहिनीको उच्च शिक्षा रोकिने पिरलो छ। दुई जनाले सानोतिनो जागिर पाए सबैको पढाइले निरन्तरता पाउने र घरखर्च पनि चल्ने उनको आशा छ। “स्थानीय सरकारले कुनै जागिर दिए वा क्याम्पस पढ्न सहयोग गरे हुन्थ्यो”, उनी भन्छिन्।