त्रिवि उप-प्राध्यापक चलाउनेमाथि भएको आक्रमणको भर्त्सना
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक प्रेम चलाउनेमाथि विश्वविद्यालय परिसरभित्रै भएको सांघातिक आक्रमणको विद्यार्थीले भर्त्सना गरेका छन्। केन्द्रीय समाजशास्त्र विभागका विद्यार्थीले उपप्राध्यापक प्रेम चलाउनेमाथी मंगलबार बिहान विश्वविद्यालय परिसरभित्रै भएको आपराधिक समूहको सांघातिक आक्रमणप्रती घोर भर्त्सना गरेका हुन्।
केही दिनअघि केन्द्रीय समाजशास्त्र विभागका विद्यार्थीले विश्वविद्यालयमा हुर्किरहेको भय र त्रासको वातावरणप्रति सम्बन्धित निकायलाई सचेत गराएको र त्यसको केहि दिनभित्रै यस्तो क्रुर र आपराधिक घटना घट्न पुगेको बताएका छन्।
मेडिसिटी अस्पतालमा उपचाररत उप-प्राध्यापक प्रेम चलाउने।
"विश्वविद्यालय प्राज्ञिक बहस, छलफल र चिन्तन गर्ने गरिमामय संस्था हो। तर, दिनदहाडै शिक्षकमाथि भएको यस्तो हिंस्रक आक्रमणले शिक्षक र विद्यार्थीको सुरक्षालाई लिएर गम्भीर प्रश्न खडा गरेको छ। जो कोहि न्यायप्रेमीलाई स्तब्ध पार्ने यस घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी आवस्यक अनुसन्धान अघि बढाउन हामी सुरक्षा निकाय र विश्वविद्यालय प्रशासनलाई अनुरोध गर्न चाहन्छौं", समाजशास्त्र केन्द्री विभागका विद्यार्थीहरूले विज्ञप्तिमार्फत भनेका छन्।
उनीहरूले विश्वविद्यालयभित्र शिक्षक तथा विद्यार्थीको सुरक्षालाई लिएर गम्भीर, जिम्मेवार र जवाफदेही बन्न विश्वविद्यालय प्रशासनलाई समेत सचेत गराएका छन्।
यस्तै विभिन्न विद्यार्थी संगठनले पनि उक्त घटनाको विरोध गर्दै दोषीउपर कारवाहीको माग गरेका छन्। अनेरास्ववियू त्रिविले विज्ञप्ति निकाले सत्यतथ्य छानविनको माग गरेको छ।