आक्रमणबाट त्रिविका उप–प्राध्यापक प्रेम चलाउने गम्भीर घाइते
त्रिभुवन विश्वविद्यालय समाज शास्त्र विभागकका उप–प्राध्यापक प्रेम चलाउने विद्यार्थीको सांघातिक आक्रमणमा परी घाइते भएका छन्।
उप–प्राध्यापक चलाउनेको मेडिसिटि अस्पतालमा उपचार भईरहेको छ। उनको टाउकोमा चोट लाग्नुको साथै दायाँ खुट्टा भाँचिएको छ।
आज बिहान ब्याङ्क गएर आउने क्रममा त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको उप–प्राध्यापक केशव सिलवालले बताए। उप–प्राध्यापक चलाउने विद्यार्थी संगठनहरुसँग वार्ता गर्न विभागले बनाएको टोलीका सदस्य थिए।
विद्यार्थी र विभागबीच सहमतिको प्रयास गरेकै आधारमा त्रिवि नेविसंघका सचिव योगेन्द्र रावलले यसअघि पनि हात भाँचिदिने धम्की दिएको सिलवाल बताउँछन्। गत भदौमा डा. युवराज लुईंटेल विभागीय प्रमुख नियुक्ति भएपछि नेविसंघले असन्तुष्टि जनाउँदै आएको थियो।
यता नेविसंघ अध्यक्ष हरि आचार्यले भने आफू कोरोनाभाइरस संक्रमित भइ तीन दिनदेखि होम आईसोलेसनमा भएकोले केही जानकारी नभएको बताए।
विभाग प्रमुख नियुक्तिको विषयलाई लिएर लामो समयदेखि किर्तिपुरमा आन्दोलन भइरहेको छ। गत साउनमा विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनहरुले नियुक्तिको विरोधमा त्रिविको केन्द्रिय कार्यलयमा तालाबन्दी गरेका थिए। उक्त ताला पाटन उच्च अदालतले खोल्न आदेश दिएको थियो।