रौतहट बमकाण्डमा मारिनेका शव इटाभट्टामा हाल्ने मिस्त्रीको बयान- 'बोरामा राखेर शव ल्याएका थिए'
रौतहटको राजपुर नगरपालिका फरदहवामा १३ वर्षअघि भएको बम विस्फोटमा मारिएका व्यक्तिहरुका शव व्यवस्थापनमा संलग्न रहेको आरोपमा पक्राउ परेका इटाभट्टाका मुख्य मिस्त्री बद्री साहनीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन।
शुक्रबार भारतबाट पक्राउ परेका इटाभट्टाका मिस्त्री सहानीले मोहम्मद आफताफ आलम र उनका भाइ मोहम्मद मोहताव आलमको निर्देशनमा उनीहरूले ल्याएका शवलाई इटाभट्टामा डढाएको प्रारम्भिक बयान दिएका हुन्।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक धिरेन्द्रप्रताप सिंहका अनुसार प्रारम्भिक बयानमा मोहम्मद आफताफ आलम र उनका भाइ मोहमद मोहताव आलमले शवहरू जलाउन भनेपछि आफूले शवलाई इटाभट्टामा हाल्ने काम गरेको बयान दिएका छन्। “उसले सबै कुरा भनेको छैन, म इँट्टा उद्योगमा कार्यरत थिएँ, दुई भाइले शवलाई भट्टामा हाल्न भनेपछि हालेको हुँ भनेको छ”, पक्राउ परेका साहनीको भनाई उद्धृत गर्दै सिंहले हिमालखबरसंग भने।
साहनीलाई १६ असोजमा प्रहरीले नेपाल भारत सीमाको बोधिमाई नगरपालिका वार्ड नम्वर ७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको थियो। उक्त घटनमा मुख्य नाइके नेपाली कांग्रेका नेता एवम् रौतहट क्षेत्र नम्वर २ का तत्कालीन सांसद मोहम्मद आफताफ आलम २६ असोज २०७६ मा पक्राउ परेका थिए। जिल्ला अदालत रौतहटको आदेशमा अहिले उनी थुनामा रहेका छन्।
२८ चैत २०६४ सालको संविधान सभाको अघिल्लो दिन चुनावमा वुथ कब्जाका लागि बम बनाउने क्रममा नेपाली कांग्रेसका नेता एवम रौतहटको निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका मोहम्मद आफ्ताफ आलमको घरमा बम विस्फोट हुँदा साविक सरुअठा गाविस २ का त्रिलोकप्रताप सिंह र वडा नम्वर ९ का ओसी अख्तर मियाँको मृत्यु भएको थियो।
उक्त घटनाका प्रत्यक्षदर्शीले बम विस्फोटमा १५-१६ जना घाइतेलाई जिउँदै इटाभट्टामा हालेको बताउँदै आएका छन्। अहिलेसम्म दुई जनालाई मात्र इटाभट्टामा जलाइएको पुष्टि भएको छ। उक्त घटनामा शव व्यवस्थापनको मुख्य भूमिका निर्वाह गरेका साहनीले पनि कति जनालाई भट्टामा जलाइएको हो भन्ने बारेमा अहिलेसम्म केही बताएका छैनन्। “बोरामा पोको पारेर ल्याएका शव इटाभट्टामा राख्ने काम गरेको हुँ भनेको छ, कति जना हो भन्ने खुलाएको छैन,” प्रहरी नायव महानिरिक्षक सिंहले भने।
सिंहका अनुसार उक्त घटनामा संलग्न भएको अभियोगमा १८ असार २०७७ मा राजपुर नगरपालिका वाडनम्वर ६ का शेष सराज र २५ जेठ २०७७ मा सिम्रनगढ नगरपालिका ६ बाराका मुक्ति साह पक्राउ परेका थिए। यी दुवैजना उक्त इटाभट्टा उद्योगमा मिस्त्रीको रुपमा कार्यरत थिए।