संक्रमण शून्य र न्यून जोखिम भएका पहाडी जिल्लामा पनि खुलेनन् विद्यालय, मन्त्रालयको निर्देशिकालाई प्रशासनको चुनौती
कोरोनाभाइरसको जोखिमले बन्द भएका पूर्वी पहाडी जिल्लाका विद्यालयहरू पछिल्लो समय संक्रमण शून्य तथा न्यून जोखिम भएका ठाउँमा पनि प्रशासनले रोक लगाउँदा संचालन हुनसकेका छैनन्।
शिक्षा मन्त्रालयले कोरोनाभाइरस संक्रमण महामारीको वेला पठनपाठन अगाडि बढाउन ‘शिक्षा सहजीकरण निर्देशिका’ जारी गरेर अनलाइन कक्षादेखि न्यून जोखिम क्षेत्रमा विद्यालय खोल्नेसम्मको विकल्प दिएको छ। त्यसै अनुसार इलाम नगरपालिकाले निर्देशिकाले दिएको पाँच विकल्पमध्येको एक प्रत्यक्ष सिकाइ सहजीकरण अपनाउने तयारी गरेको थियो।
इलाम जिल्लामा कोरोना संक्रमित शून्य रहेको र अधिकांश विद्यार्थी विद्युत् र प्रविधिको पहुँचको नरहेको भन्दै नगरपालिकाले ४ असोजबाट विद्यालय खोलेको थियो। तर, जिल्ला प्रशासन कार्यालयले जोखिम हुने भन्दै विद्यालय खोल्न रोक लगाएपछि पठनपाठन बन्द भएको छ।
मेयर महेश बस्नेत संविधानले विद्यालय तहको निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको र मन्त्रालयले पनि सोही अनुसार निर्देशिका पठाए पनि विद्यालय सञ्चालन गर्न हस्तक्षेप गरिनु अमिल्दो भएको बताउँछन्। इलाम जिल्लामा १० वटा स्थानीय तह छन्। यी स्थानीय तहका कतिपय ठाउँमा अनलाइन कक्षा चलाउन बिजुली र प्रविधिको सुविधा नभएको बताउँदै मेयर बस्नेत भन्छन्, “हाम्रो जस्तो पहाडी जिल्लाका विद्यार्थीका लागि प्रत्यक्ष सिकाइको विकल्प नै छैन। अहिले संक्रमितको संख्या शून्य भएकाले प्रत्यक्ष सिकाइ गर्न जोखिम पनि छैन। तर सिडिओले नै विद्यालय नखोल्न भनेपछि अटेर गर्न पनि भएन।”
बिजुली र प्रविधिमा स्थानीयको पहुँच नहुनु, अभिभावक साक्षर नहुनुलगायत समस्याका कारण अन्य विकल्प लागू गर्न नसकिरहेको मेयर बस्नेत बताउँछन्। विद्यालय बन्द भएपछि भर्ना अभियान पनि प्रभावित भएको छ। “भर्ना गर्न आग्रह गर्दा अभिभावकहरुले पढाइ नै नहुने भएपछि भर्ना गर्न के को हतार भनेर बेवास्ता गरिरहनुभएको छ”, उनी भन्छन्।
“हाम्रो जस्तो पहाडी जिल्लाका विद्यार्थीका लागि प्रत्यक्ष सिकाइको विकल्प नै छैन। अहिले संक्रमितको संख्या शून्य भएकाले प्रत्यक्ष सिकाइ गर्न जोखिम पनि छैन। तर सिडिओले नै विद्यालय नखोल्न भनेपछि अटेर गर्न पनि भएन।” - महेश बस्नेत, मेयर, इलाम नगरपालिका
तेह्रथुमको म्याङलुङ नगरपालिकाले पनि संक्रमणको जोखिम कम भएको भन्दै विद्यालय संचालन गर्ने निर्णय गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालयले रोक लगाएपछि स्थगित भएको मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताए। उनले भने, “हामीले नगर शिक्षा समिति र विद्यालय प्रमुख भएर निर्णय गरेका थियौं, सिडिओ आएर हप्काएपछि बन्द भयो।”
म्याङलुङ नगरपालिकामा पनि अहिले कोरोना संक्रमितको संख्या शून्य छ। संक्रमण जोखिम नरहेको भन्दै विद्यालय खुलाउन आग्रह गरे पनि प्रशासनले नमानेको मेयर तुम्बाहाङ्फेले बताए। उनका अनुसार, जिल्लाका अन्य स्थानीय तहमा पनि विद्यालय संचालन हुनसकेको छैन।
अहिले भर्ना प्रक्रियाले भने निरन्तरता पाइरहेको छ। तर, विद्यालय बन्द भएपछि भर्ना प्रक्रिया पनि प्रभावित भएको उनले बताए।
अर्को पहाडी जिल्ला भोजपुरमा पनि संक्रमणको जोखिम कम भए पनि विद्यालयहरू संचालन हुनसकेका छैनन्। भोजपुर नगरपालिकाले भने १५ असोजदेखि विद्यालय खोल्ने तयारी गरेको मेयर कैलाशकुमार आले बताउँछन्। विद्यालय प्रमुखहरुसँगको छलफलपछि विद्यार्थी विद्यालयमै प्रत्यक्ष रूपमा पढाउने तयारी भइरहेको उनले बताए। “केही विद्यालयले खोलेर भर्ना प्रक्रिया अगाडि बढाइसके। १५ असोजदेखि हाम्रो नगरका सबै विद्यालय खुल्छन्।”
भोजपुरकै टेम्के मैयूङ गाउँपालिकामा पनि सबै विद्यालय बन्द छन्। अहिले संक्रमित एक जना पनि नरहेको यो गाउँपालिकामा शिक्षकहरु आफ्नो गृहजिल्लामा गएकाले विद्यालय खोल्न नसकिएको गाउँपालिका अध्यक्ष ध्रुव राईले बताए। उनले भने, “हाम्रो गाउँपालिकाका २५ प्रतिशत शिक्षक तराईमा छन्। दशैं लगत्तै सम्बन्धित विद्यालयमा पुग्न खबर गरिएको छ। त्यसपछि विद्यालय नियमित सञ्चालनमा आउँछ।”
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विद्यालय संचालन गर्नेबारे छलफल भइरहेको मेयर इवन राईले बताए। मन्त्रिपरिषदको निर्णय र शिक्षा मन्त्रालयको निर्देशन बाझिएकाले निर्णय गर्न नसकेको उनको भनाइ छ। भन्छन् “मन्त्रिपरिषदले विद्यालयहरु खोल्न नदिने भनेको छ, मन्त्रालयले अनुकूल भए खोल्न भनेको छ। के गर्ने के नगर्ने अलि अन्योल भइरहेको छ।”
जहाँ संचालनमा आए विद्यालय
प्रशासनको हस्तक्षेपका बीच संखुवासभाको चैनपुर नगरपालिकाले विद्यालयहरू सञ्चालन गरेको छ। १० असोजदेखि नगरका सबै विद्यालयमा भौतिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्याएर विद्यालय खोलिएको मेयर भरतकुमार खत्रीले बताए। नगर शिक्षाको बैठकले विद्यालय संचालन गर्ने निर्णय गरेपछि विद्यालय प्रमुखहरुलाई विद्यालय खोल्न निर्देशन दिइएको उनकाे भनाइ छ।
यो नगरपालिकामा कोरोना संक्रमितको संख्या शून्य छ। विद्यालय खोल्ने निर्णयपछि प्रशासनले जोखिम हुने भएकाले बन्द गर्न भने पनि आफूले सम्पूर्ण जोखिमको जिम्मा लिने भन्दै रोक नलगाउन आग्रह गरेपछि पठनपाठन अगाडि बढेको मेयर खत्रीले बताए।
उनले भने, “सिडिओ साबले समस्या हुने भन्दै केही समय बन्द नै गर्नुपर्छ भन्नुभएको थियो। तर, मैले मेरो क्षेत्राधिकारभित्र भएको र सुरक्षित व्यवस्थापन गर्ने जिम्मेवारी लिएपछि विद्यालय संचालनमा आएको हो।”
जिल्लाको निर्वाचन क्षेत्र ख भित्र पर्ने चार स्थानीय तहमध्ये अहिले चैनपुर नगरपालिकाले मात्रै विद्यालय संचालनमा ल्याएको छ।
“सिडिओ साबले समस्या हुने भन्दै केही समय बन्द नै गर्नुपर्छ भन्नुभएको थियो। तर, मैले मेरो क्षेत्राधिकारभित्र भएको र सुरक्षित व्यवस्थापन गर्ने जिम्मेवारी लिएपछि विद्यालय संचालनमा आएको हो।” - भरतकुमार खत्री, मेयर, चैनपुर नगरपालिका, संखुवासभा
ताप्लेजुङको फुङलिङ नगरपालिकाले भने प्रशासन र विद्यालयहरुसँगको सहमतिमा विद्यालय खोल्ने तयारी थालेको छ। विद्यार्थी आलोपालो आउने प्रणालीबाट विद्यालय संचालन गर्ने र भर्ना प्रक्रियालाई पनि तीव्र बनाउने निर्णय भएको छ। भर्नाका लागि विद्यालयहरू खोलेको र तीमध्ये केहीमा प्रत्यक्ष सिकाइ शुरु भएको र नभएकाहरुमा पनि गर्ने तयारी भइरहेको मेयर छत्रपति प्याकुरेलले बताए।
उनले भने “हाम्रो नगर कम जोखिम क्षेत्रमा पर्ने भएकाले विद्यालय खोल्न सबैको सहमति मिलेको छ।स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरिनेछ।” जिल्लाका अन्य स्थानीय तहले पनि अब बिस्तारै विद्यालय खोल्ने तयारी गरिरहेको जानकारी पाएको उनले बताए।
पाँचथरको फिदिम नगरपालिकाले पनि विद्यालय संचालन गर्ने तयारी गरेको छ। मुख्य बजार आसपासका विद्यार्थीलाई जोखिमबारे थप सचेत गराउँदै विद्यालय संचालन गर्ने तयारी भइरहेको मेयर ओनाहाङ नेम्बाङले बताए। उनका अनुसार, केही विद्यालय भने संचालनमा आइसकेको छ।
यता, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको नगर शिक्षा समिति, विद्यालय प्रमुख र अभिभावकहरुको छलफलले विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुनसकेको छैन। अहिले पालिका बाहिर रहेका शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न र आसपासका विद्यार्थीलाई विभिन्न माध्यमबाट सिकाइमा जोड्न निर्देशन दिइएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन्।
उनले भनिन् “विद्यालय संचालन गर्ने निर्णय भए पनि दशैं अघि कार्यान्वयन हुँदैन होला। अहिले शिक्षकहरुलाई आफ्नो क्षेत्रमा पुग्न भने निर्देशन दिइसकेका छौं।”