महामारीकै बीच महावीर पुनको आविष्कार केन्द्रले ५९ जिल्लामा पुर्यायो अत्यावश्यक स्वास्थ्य सामग्री
महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले कोभिड-१९ महामारी शुरू भएपछि यसको रोकथाम र उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरेर ५९ जिल्लामा पुर्याएको छ। यसका लागि केन्द्रले महामारीकै बीचमा रू. ३ करोड संकलन गरेको छ।
राष्ट्रिय आविष्कार केन्द्रले १० असोज सम्ममा कोरोना नियन्त्रण र रोकथामका लागि चाहिने १० प्रकारका सामग्री बनाएर विभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीलाई वितरण गरिसकेको छ। केन्द्रका अध्यक्ष पुनका अनुसार अझै थप तीन प्रकारका स्वास्थ्य सामग्री बनाइँदैछ।
केन्द्रमार्फत विभिन्न अनुसन्धानकर्ताहरूले स्वेच्छिक रूपमा ‘पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट’ (पीपीई), फेससिल्ड, स्वाब संकलन बुथ, एरोसोल बक्स, डिस्इन्फेक्सन बक्स, औषधि वितरणका लागि रोबोट, कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव राख्ने बाकस र मास्क निर्माण गरेका छन्। यस्तै, केन्द्रले कोरोना महामारीबीच बिग्रेका भेन्टिलेटर र डायलासिस मेसिन मर्मतको काम पनि गरिरहेको छ।
अनुसन्धानकर्ताहरूले कोरोना संक्रमित बिरामीको उपचार भइरहेको वार्डमा औषधि लगायतका सामग्री पुर्याउन बनाएको रोबोट अहिले मुलुकका विभिन्न अस्पतालहरूमा प्रयोग भइरहेको छ।
केन्द्रले पौडीबाजले लगाउने मास्कलाई कन्भर्ट गरेर कोरोना संक्रमण रोकथामका लागि लगाउन सकिने मास्क समेत बनाएको छ। केन्द्रले शुरूआतमा कोरोना संक्रमणको महामारीमा 'फ्रन्टलाइन'मा कार्यरत स्वास्थ्यकर्मी लगायतलाई चाहिने अत्यावश्यकीय सामग्री, पीपीई बनाउने काम गरेको थियो।
मुलुकमा पीपीईको चरम अभाव भइरहेका बेला महावीर पुनले काठमाडौंका गल्लीगल्ली चहारेर कालिगड खोजेका थिए। र, तिनीहरूलाई उपयोग गरेर गार्मेन्ट उद्योगको सहयोगमा पुनले पीपीई बनाउने अभियान शुरू गरेका थिए। केन्द्रले अहिलेसम्म १४–१४ हजार परिमाणमा फेससिल्ड र पीपीई बनाएर विभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीलाई वितरण गरिसकेको छ।
अहिले कोरोनाका सिकिस्त बिरामीको उपचारमा प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री मानिँदै आएको भेन्टिलेटर मर्मत गरेर केन्द्रले विभिन्न अस्पताललाई वितरण गरिसकेको छ। केन्द्रले १० असोजसम्ममा २४ वटा भेन्टिलेटर मर्मत गरेर अस्पताललाई वितरण गरिसकेको छ भने थप २५ वटा बिग्रेका भेन्टिलेटरलाई मर्मत गर्ने काम भइरहेको छ।
यस्तै, केन्द्रले स्वाब संकलन गर्ने ६० थान बुथ, ४० थान एरोसोल बक्स र दुई हजार थ्रिडी प्रिन्टेड स्वाब सामग्री विभिन्न जिल्लाका अस्पतालहरूमा वितरण गरिसकेको छ। केन्द्रले बनाउन लागेका थप नयाँ तीन थरीका सामग्रीमा भेन्टिलेटर मेसिन, पापर मास्क र बिरामी ओसार-पसार गर्न चाहिने आइसोलेसन बक्स पर्छन्।
केन्द्रका वैज्ञानिक महावीर पुनको नेतृत्वमा भइरहेको स्वाथ्य सामग्री बनाउने काममा ३२ जना अनुसन्धानकर्ताले स्वेच्छिक रूपमा काम गरिरहेका छन्। आविष्कार केन्द्रमार्फत अनुसन्धानको काम गर्नेहरूलाई कोरोनाका सामग्री बनाउने काममा संलग्न गराइएको पुन बताउँछन्। पुनका अनुसार स्वास्थ्य सामग्री बनाउने काम २४ घण्टासम्म भइरहने तर, ‘भोलेन्टियर’हरूले पालो गरेर काम गर्ने गरेका छन्। राति तीन बजेसम्म पनि अनुसन्धानकर्ता तथा इञ्जिनियरहरूले काम गर्ने गरेको उनी बताउँछन्।
“यिनीहरू जागिरे होइनन्” पुन भन्छन्, “विना तलब स्वेच्छाले काम गरिरहेका छन्।” तर, आविष्कार केन्द्रलाई सरकारको तर्फबाट अहिलेसम्म केही पनि सहयोग भएको छैन। सरकारी सहयोग विना केन्द्रले कोरोना महामारीको ६ महीनाको अवधिमा १० प्रकारका स्वास्थ्य सामग्रीलाई मुलुकका ५९ जिल्लामा पुर्याइसकेको छ।
केन्द्रले हेल्थपोष्ट, कोरोना विशेष अस्पताल, आइसोलेसन सेन्टर र अन्य अस्पतालहरूलाई स्वास्थ्य सामग्री बनाएर वितरण गर्दै आइरहेको छ। उपत्यकाका वीर, ट्रमा सेन्टर, नर्भिक, ह्याम्स लगायतका अस्पताललाई केन्द्रले निःशुल्क स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको छ। आविष्कार केन्द्रले बिग्रिएका पुराना सात वटा भेन्टिलेटर मर्मत गरिदिएपछि राष्ट्रिय ट्रमा सेन्टरलाई अहिले राहत मिलेको छ। सेन्टरले सातमध्ये दुई वटा भेन्टिलेटरलाई आकस्मिक कक्षमा राखेको छ।
सेन्टरमा रहेका वर्षौं पुराना महँगा भेन्टिलेटर मर्मतसम्भारको अभावमा थन्किएका थिए। सरकारी अस्पतालमा मर्मत सम्भार गर्ने बलियो निकाय नभएको अवस्थामा आविष्कार केन्द्रले बिग्रिएका उपकरण बनाइदिन थालेपछि अस्पतालहरूलाई राहत मिलेको छ।
“सामग्री बनाउन चाहिने खर्च विभिन्न ठाउँबाट जनताहरूले उठाएर पठाएका हुन्” राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन भन्छन्, “कोरोना महामारी जहिलेसम्म रहन्छ, त्यो बेलासम्म सामग्रीहरू बनाइ नै रहन्छौँ।”
सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सन्तोष पौडेल आविष्कार केन्द्रका इञ्जिनियरलाई सम्पर्क गरेर बिग्रिएका भेन्टिलेटरको उनीहरूमार्फत मर्मतसम्भारको काम भएको बताउँछन्। “केन्द्रका इञ्जिनियरहरूले उपकरण मर्मतका लागि प्राविधिक सहयोग गरिरहनुभएको छ” डा. पौडेल भन्छन्, “यसले मुलुकको स्वास्थ्यको प्राविधिक क्षेत्रमा पुनर्जागरण ल्याएको छ।”
उनी केन्द्रमार्फत भविष्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पाएको बताउँछन्। सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आविष्कार केन्द्रले बनाएका मास्क र पीपीई समेत प्रयोग गरिरहेका छन्। पुनले सम्बन्धित अस्पताल र चिकित्सकहरूबाट आउने माग अनुसार आफूहरूले स्वास्थ्य सामग्री बनाएर वितरण गर्दै आइरहेको बताए।
“जो लिन आउँछन्, उनीहरूलाई कुनै शुल्क नलिई दिएर पठाउँछौ” पुन भन्छन्, “कसैलाई दिने/नदिने भन्ने हुँदैन।” उनीहरूको काममा चिकित्सकहरूले पनि सहयोग गरिरहेका छन्। महावीर पुन र उनको टोलीलाई स्वास्थ्य सामग्री बनाउनका लागि विभिन्न चिकित्सकहरूले डिजाइन दिने गरेका छन्। त्यही डिजाइन अनुसार पुन र उनको टोलीले स्वास्थ्य सामग्री बनाउने काम गरिरहेका छन्।
केन्द्रका अध्यक्ष पुन डिजाइन अनुसार सामग्री बने वा नबनेको बारे चिकित्सकहरूलाई देखाएर मात्र अन्तिम रूप दिने गरेको बताउँछन्। केन्द्रले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक सामग्री बनाउन विभिन्न व्यक्तिहरूमार्फत करीब रू. ३ करोड संकलन गरेर खर्च गरिसकेको छ।
“सामग्री बनाउन चाहिने खर्च विभिन्न ठाउँबाट जनताले उठाएर पठाएका हुन्” पुन भन्छन्, “कोरोना महामारी जहिलेसम्म रहन्छ, त्यो बेलासम्म सामग्रीहरू बनाइ नै रहन्छौँ।”