चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको कोरोना संक्रमणबाट निधन
चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको कोरोना संक्रमणका कारण निधन भएको छ। चेन्नईको एक अस्पतालमा उपचारको क्रममा गायक बालासुब्रमण्यम निधन भएका हो।
७४ वर्षको उमेरमा निधन भएका गायक दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक हुन्। उनले ८० को दशकदेखि लिएर हालसम्मका सयौं दक्षिण भारतीय तथा हिन्दी चलचित्रका गीतहरू गाएका छन्। उनले १५ भाषामा ४० हजार गीत गाएका छन्।
हिन्दी चलचित्र ‘मैने प्यार किया’को दिल दिवाना दिल दिवाना बिन सजना के माने ना, ‘हम आप के है कौन’को दिदी तेरा देवर दिवाना, ‘साजन’को बहुत प्यार करते हो र जिए तो जिए कैसे जस्ता लोकप्रिय गीतहरूमा आवाज दिएका छन्।
धेरैपटक फिल्म फेयर अवार्ड प्राप्त गरेका उनले ६ पटक नेसनल अवार्ड जितेका छन्। उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत कलाकारहरूले ट्वीटरमार्फत् श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।