भारतीय गायक एसपी बालासुब्रमण्यमलाई कोरोना संक्रमण
भारतीय पार्श्व गायक एसपी बालासुब्रमण्यमलाई कोरोनाभाइरसको संक्रमण भएको छ। उनले बुधबार मध्याह्न फेसबूकमा भिडिओ सन्देश मार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्।
भिडिओ मार्फत उनले दुई दिनदेखि आफ्नो स्वास्थ्यमा समस्या आएको र परीक्षण गराउँदा कोरोना पुष्टि भएको बताएका छन्। उनका अनुसार, रुघा र ज्वरोले असहज महसुस भएपछि उनी अस्पताल पुगेका थिए। उनलाई कोरोनाको हल्का लक्षण देखिएको छ।
चिकित्सहरुले सेल्फ-क्वारेन्टिनमा बस्न सुझाव दिए पनि उनले घरमा एक्लै बस्ने अवस्था नभएका कारण अस्पतालमै भर्ना भएको बताएका छन्। आफ्नो स्वास्थ्य अहिले राम्रो रहेको भन्दै उनले आफ्नो बारेमा चिन्ता नलिन प्रशंसकहरुलाई आग्रह समेत गरेका छन्।
गायक बालासुब्रमण्यमले भारतका १६ वटा भाषामा ४० हजारभन्दा बढी गीत रेकर्ड गराएका छन्। गायन बाहेक उनको परिचय अभिनय र फिल्म निर्माणमा पनि जोडिएको छ। उनले तमिल, तेलुगु, कन्नड भाषाका थुप्रै फिल्ममा अभिनय गरेका छन्।
फेसबूकमा बालासुब्रमण्यमको भिडिओ सन्देश: