चीनसँगको सिमानाबारे बोल्ने हुम्लाका सहायक सिडिओलाई २४ घण्टे स्पष्टीकरण
गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) दत्तराज हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। सिमाना जस्तो संवेदनशील विषयमा तालुकदार निकायलाई खबर नगरेर बोल्दै हिंडेको भन्दै गृह मन्त्रालयले सहायक सिडिओ हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
मन्त्रालयले पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, “नेपाल–चीन सीमा जस्तो संवेदनशील विषयमा तालुकदार निकायलाई जानकारी नदिई के कति कारणले सञ्चारमाध्यममा अभिव्यक्ति दिनुभएको हो ? सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्नुहोला।”
सहायक सिडिओ हमाल केही साता पहिले चीनले हुम्लालाई प्रदान गरेको वस्तुगत सहायता अन्तर्गतका स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नाम्खा गाउँपालिकाको लिमी उपत्यका हुँदै नेपाल र चीनको सीमा नाका हिल्सा पुगेका थिए। त्यहाँबाट फर्केर सिमकोट आएपछि उनले नेपाली भूभागमा चीनले भवन निर्माण गरेको जस्तो देखिएको भन्दै विभिन्न सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए।
त्यसपछि यो विषयले हलचल ल्याएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा जिल्लाका सुरक्षा अधिकृतहरूको टोली लिमी र हिल्सा क्षेत्रको स्थलगत भ्रमणमा गएको थियो। सो टोली अझै सिमकोट फर्केको छैन।
सहायक सिडिओ हमालले भने आफूले देशलाई अप्ठेरोमा पार्ने गरी सिमानाबारे कुनै विवादास्पद कुरा नबोलेको बताए। “मैले लिमी उपत्यकाको लाप्चामा गरेको भ्रमणका आधारमा जे जस्तो देखें, त्यही भनेको हुँ” हमालले भने, “विवादमा आउने कुरा केही बोलेको छैन।”